मेलमिलाप दिवसकै दिन कांग्रेसमा देखिएन मेल !

कान्तिपुर संवाददाता

काठमाडौँ — आज पुस १६ । नेपाली कांग्रेसका तत्कालीन नेता बीपी कोइराला राष्ट्रीय मेलमिलापको नीति लिएर भारत प्रवासबाट नेपाल फर्किएको दिन ।

२०१७ साल पुस १ गते 'कू' मार्फत् राजा महेन्द्रले लागू गरेको पञ्चायती व्यवस्थाको विरोध गरिररहेका कांग्रेस नेता कोइराला राजासँग मेलमिलाप गरी देशभित्रै बस्ने घोषणा गरी २०३३ साल पुस १६ गते स्वदेश फर्किएका थिए । यसको सम्झनामा कांग्रेसले मेलमिलाप दिवस मनाउने पनि गरेको छ ।


तर, आज मेलमिलाप दिवसकै दिन कांग्रेसको पदाधिकारी बैठकमा भने पार्टी नेताहरुबीचको बेमेल देखियो । पार्टी सभापति शेरबहादुर देउवाले बोलाएको बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल उपस्थित भएनन् । महाधिवेशनको मिति तोक्ने र विभागको संख्या बढाउनेमा एकलौटी गरेको भन्दै पौडेल, महामन्त्री सशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव तथा नेताहरु कृष्ण सिटौला, प्रकाशमान सिंह लगायतले केन्द्रीय समिति बैठक बहिष्कार गर्दै आएका छन् ।


गुट उपगुटमा विभाजित कांग्रेसको यो किचलो मेलमिलाप दिवसका दिन पनि देखिएको हो । आसन्न राष्ट्रीयसभा चुनावका लागि पार्टीका उम्मेदवार चयन गर्ने एजेन्डा आजको पदाधिकारी बैठकको थियो । यस बैठकबारे देउवाको सन्देश लिएर आफ्नो निवास आएका उपसभापति विमलेन्द्र निधीलाई रुष्ट पौडेलले 'बैठकमा हामी किन चाहियो र ?' भन्दै आफू बैठकमा उपस्थित नहुने बताएका थिए ।


पौडेल-सिटौलाले सहमतिका लागि देउवासँग नै वार्ता गर्ने बताएपछि देउवाले आज नै आफू सहमितका लागि तयार रहेको बताएका थिए । मंगलबारमात्रै सिटौलाले देउवालाई पत्र पठाइ केन्द्रीय समितिबाट पारित गरेको १४ औं महाधिवेशनको मिति र विभाग थप गरिएको निर्णय सच्च्याउन देउवालाई सुझाव दिएका थिए ।


पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा उम्मेदवार बारे छलफल भएको र बिहीबार केन्द्रीय कार्यसमिति बैठक बस्ने बताए ।

प्रकाशित : पुस १६, २०७६ २०:५०
प्रतिक्रिया
पठाउनुहोस्

दशकको हिट हिरो अक्षयकुमार !

(एजेन्सी)

२०१९ को समाप्तिसँगै २१ औं शताब्दिको दोस्रो दशक पनि समाप्त भएको छ । यससँगै यस दशकमा कुन फिल्म र कुन कलाकार सबभन्दा हिट भए भन्ने बहस सुरु भएको छ ।

बलिउडको एक व्यापार विश्लेषण गर्ने साइट कोइमोइले यसअघि नै आमिर खानको फिल्म 'दगंल' लाई दशककै हिट घोषणा गरेको थियो । यो साइटले अहिले अक्षय कुमार दशककै सबभन्दा सफल हिरो भएको देखाएको छ ।

गएको दशकभरी प्रदर्शनमा आएका फिल्मको कमाइको हिसाब गर्दा अक्षय कुमारले अभिनय गरेका फिल्मको कमाइ सबभन्दा बढी भएको हो । यो दस वर्षमा आएका अक्षयका ३२ वटा फिल्मले कूल ३ हजार १ सय १८ करोडको व्यापार गरे । दस वर्षमा ३ हजार करोडभन्दा बढीको व्यापार गर्ने हिरो पनि अक्षय कुमार मात्रै हुन् । उनको एउटा फिल्मले औषतमा ९७ करोड ४५ लाख कमाइ गरेका छन् ।

कूल कमाइमा धेरै भए पनि प्रति फिल्म कमाइमा भने आमिर खान सबभन्दा अगाडि छन् । दस वर्षमा जम्मा ६ वटा फिल्ममा अभिनय गरेका आमिरका फिल्मले कूल १२ सय ५८ करोड कमाइ गरेका छन् । औषतमा उनको एउटा फिल्मले नै २ सय करोडभन्दा बढी कमाइ गरेका छन् ।

थोरै फिल्म भएर पनि अक्षयभन्दा बढी व्यापार गर्नेमा सलमान खान अगाडि छन् । दस वर्षमा आएका सलमानका १५ फिल्मले नै झन्डै अक्षयको जति २ हजार ९ सय १८ करोडको व्यापार गरेका छन् । उनको फिल्मको व्यापार प्रतिफिल्म १ सय ९४ करोड ५६ लाख छ । सय करोड कमाउने फिल्म पनि सलमानकै सबभन्दा बढी छन् ।

यो दशकमा शाहरुख खानका ११ र आमिर खानका ६ फिल्मको कमाई झन्डै बराबर छन् । शाहरुखका फिल्मले कूल १३ सय ७८ करोड व्यापार गरेका छन् । उनको प्रतिफिल्म औषत १ सय २५ करोड छ ।

सय करोड क्लबमा पुगेका फिल्मको कमाइको हिसाबले बनाइएको पावरलिस्टमा अहिले सलमान खान एक नम्बरमा छन् । भने उनीपछि अक्षय कुमार, आमिर खान, अजय देवगन र शाहरुख खान छन् ।

प्रकाशित : पुस १६, २०७६ २०:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×