कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लिम्पियाधुरा नेपालको नक्सामा राख्नेबारे मन्त्री अर्याल र भीम रावलबीच संसदीय समितिमै वादविवाद

जयसिंह महरा

काठमाडौँ — लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नक्सा जारी नगरेकोमा नेकपा नेता भीम रावलले सरकारलाई प्रश्न गरेका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले यसअघि नै लिम्पियाधुरायताको भूमि नेपालको नक्सामा राखेर प्रकाशित गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याललाई दिएको निर्देशन कार्यान्वयन नभएकोमा आपत्ति जनाउँदै रावलले कसको आदेश कुरेको भनेर प्रश्न गरेका हुन् ।

लिम्पियाधुरा नेपालको नक्सामा राख्नेबारे मन्त्री अर्याल र भीम रावलबीच संसदीय समितिमै वादविवाद

नेपाली भूमि भारतले आफ्नो नक्सामा राखेको र त्यसको विषयमा सरकारले गरिरहेका गतिविधिबारे संघीय संसदका दुवै सदनको संयुक्त समिति 'राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समिति' बैठकमा मन्त्री अर्याललाई सांसद रावलले प्रश्न गरेका हुन् ।

'कालापानी र लिपुलेक हालको नेपालको नक्सामा छ । सीमा विवाद कूटनीतिक ढंगबाट समाधान भएपछि लिम्पियाधुरासहितको नक्सा जारी गर्ने' भन्ने अर्यालको भनाइ थियो । नक्सामा भूमि राख्नु ठूलो कुरा नभएको भन्ने उनका सार्वजनिक अभिव्यक्तिको पनि रावलले आलोचना गरेका थिए ।

'नक्साको बारेमा भूमिसुधार मन्त्रीले स्पष्ट जवाफ(समिति बैठकमा) छैन । नक्सा प्रकाशन ठूलो होइन भन्नुभयो, त्यसो हो भने विवादीत भएका सबै ठाउँ नक्सामा नदेखाइदिए भैगयो नि', रावलले थपे, 'राज्यकोजिम्मेवार पदबाट यस्तो जवाफ आउनु उपयुक्त होइन । सन्धि सम्झौताबाट त्यो हाम्रो भूमि हो भने प्रमाणित भएपछि 'वार्ताबाट जे हुन्छ त्यो गरौं, नक्सामा भूमि राख्नु ठूलो होइन' भने त हामी कमजोर हुन्छौँ । लिम्पियाधुरापूर्व हाम्रो भूमि हो भन्ने सन्धि र प्रमाणले देखाएको छ ।' लिम्पियाधुरा पूर्वको भूमि नेपालले आफ्नो नक्सामा नराखे भारतसँगको वार्तामा जाँदा कमजोर भइने रावलको तर्क थियो ।

रावललाई मन्त्री अर्यालको जवाफ थियो, 'पहिले नै (अर्कै संसदीय समिति)भनिसकेको छु, माननिय त्यहाँ हुनुहुन्थ्यो । उपयुक्त समय पारेर नक्सा सार्वजनिक गर्छौँ ।' उनले थपिन्, 'नेपालको नक्सामा लिम्पियाधुरा किन पर्न सकेन भन्ने बहसको विषय बन्नु हुँदैन ।' लिम्पियाधुरा नेपालकै भएका हस्तलिखित र जीवित प्रमाण नेपालसँग भएको उनको दाबी थियो ।

मन्त्रीको उक्त जवाफले नेता रावलको चित्त बुझेन । राष्ट्र र राष्ट्रियताका विषय सार्वजनिक मञ्चदेखि संसदसम्म जोडदार रूपमा उठाउँदै आएका उनले आफ्नै पार्टीबाट मन्त्री रहेकी अर्याललाई प्रश्न गरे, 'उपयुक्त अवसर भनेको के हो ? जान्न चाहन्छु ।'

स्थानीय तहको सिमांकन हुने क्रममा रहेको र त्यतिबेला नै उपयुक्त समय पारेर लिम्पियाधुरा नेपालको नक्सामा राख्न लागिएको भन्ने मन्त्री अर्यालको संकेतप्रति पनि नेता रावलले 'डराएको हो कि !' भनेर कटाक्ष गरे ।

रावलसँगको नोकझोँक झेलेकी मन्त्री अर्याल समिति बैठकबाट बाहिरिन खोजेकी थिइन् । 'अर्को कार्यक्रममा जानुछ' भनेर उनले समिति सभापति निरादेवी जैरूसँग बिदा मागेकी थिइन् । तर, सभापति जैरू र सांसदहरूले एकछिन बस्नुस् भनेपछि उनी बैठकको अन्तिमसम्म बसिन् ।

समितिले भूमि मन्त्रालयलाई फेरि लिम्पियाधुरायताको भूमि समेटेर नेपालको नक्सा जारी गर्न निर्देशन दिएको छ । समितिका निर्देशन पनि रावलले नै तयार पारेर सार्वजनिक गरेका थिए ।

प्रकाशित : पुस १५, २०७६ २१:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?