२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४९

यस्तो छ कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका

मधुसुधन भट्टराई

काठमाडौँ — नेपाली कांग्रेसले २०७७ फागुन ७ देखि १० गतेसम्म गर्ने गरी पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । 
शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले बहुमतले १४ औं महाधिवेशनको कार्यतालिकासहितको मिति तय गरेको हो । 

यस्तो छ कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका

महाधिवेशनको मिति र कार्यतालिका तय गर्ने बैठकमा नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षका पदाधिकारी तथा सदस्य सहभागी थिएनन् । प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठकले यही पुस मसान्तसम्म पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्ने निर्णय गरेको छ ।


२०७६ माघ देखि २०७७ वैशाख मसान्तसम्म प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण गरी केन्द्रमा पठाउनुपर्ने बैठकले निर्णय गरेको छ । आगामी जेठ १ गतेदेखि असार १५ गतेसम्म नयाँ र नविकरण गरेका क्रियाशील सदस्यताको सूची प्रकाशन गरेर केन्द्रीय कार्यालयमा पठाउने मिति तय गरिएको छ ।

क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिमा उजुरी र नविकरण उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी दिने अवधि आगामी असार १६ गतेदेखि असार मसान्त तोकिएको प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नयाँ र नविकरण गरेका क्रियाशील सदस्यमाथि प्रारम्भिक छानविन समितिले साउन १५ गतेभित्र निर्णय गरिसक्नु पर्नेछ । निर्णयमा चित्त नबुझेमा साउन मसान्तसम्म केन्द्रीय छानविन समितिमा उजुरी/पुनरावेदन दिने अवधि तोकिएको छ ।

उजुरी/पुनरावेदन उपर केन्द्रीय छानविन समितिले भदौ मसान्तभित्र निर्णय लिने कार्यतालिकामा उल्लेख छ । क्रियाशील सदस्यताको अन्तिम नामावली असोज मसान्तमा प्रकाशित हुनेछ ।

केन्द्रीय समितिले पार्टीको गाउँ/नगर वडा अधिवेशन मंसिर ९ गते गर्ने निर्णय गरेको छ । त्यस्तै गाउँ/नगरपालिका अधिवेशन मंसिर ११ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन १५ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन मंसिर १७ गते गर्ने निर्णय बैठकले गरेको छ । त्यस्तै जिल्ला अधिवेशन मंसिर २५ गते र प्रदेश अधिवेशन २०७७ पुस १५ गते गर्ने कार्यतालिकामा उल्लेख छ ।

बैठकले महाधिवेशनको कार्यतालिका कार्यान्वयन गर्न धारा ४, ३५ र ५० का केही व्यवस्था महाधिवेशन प्रयोजनका लागि मात्रै निलम्बन गर्ने निर्णय गरेको छ । पार्टी विधान २०१७ (संशोधन सहित) को धारा ७१ र ५० (५) बमोजिमको अधिकार प्रयोग गरेर निलम्बन गर्ने निर्णय गरिएको प्रवक्ता शर्माले बताए ।

केन्द्रीय कार्यसमितिको यो निर्णयलाई आगामी महासमिति वा महाधिवेशनबाट अनुमोदन गराइने शर्माले बताए ।

प्रकाशित : पुस ११, २०७६ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?