कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१३ दिनपछि आफन्तको काख

अनिश तिवारी

सिन्धुपाल्चोक — बलेफी गाउँपालिकाको खाडीचौर बजारस्थित सिन्धुसदाबहार अस्पतालमा जम्मा भएको भीड बिहीबार बिहानैदेखि भावकु थियो । सिन्धुसदाबहार अस्पतालमा १३ दिन बिताएकी यात्रुबस दुर्घटनाकी अलपत्र ७ महिने शिशुलाई अभिभावक पक्षलाई जिम्मा लगाएपछि रोदन चर्किएको थियो ।

१३ दिनपछि आफन्तको काख

अस्पतालका दुई डाक्टर र नर्सले ती शिशुलाई मामालाई सुम्पिरहँदा सम्हाल्न सकिरहेका थिएनन् ।


शिशुको हेरचाह गर्ने विमला तामाङ अरुबाट लुकेर रोइरहेकी थिइन् । दूध चुसाउने सुनकोसी–७ की सुनिता माझी शिशु बिदा गर्ने खबरले रुँदै घरतिर भागेपछि वातावरण झनै भावुक बन्यो । सिन्धुसदाबहार अस्पतालमा सबैले राखिएको शिशुको ‘सिन्धु’ नामबाटै टिका, दोसल्ला लगाएर सबैमाझ मामा मइलो लो, सानिआमा सुकुमाया लोले काख दिएर दूध पिलाए ।


बुबा आमा खोजिरहेका अबोध आँखाले १३ दिनपछि मात्रै आफन्तको काख पाए लगत्तै सबैमा उमंग छायो । ‘भगवानले बहिनी सुनितालाई लगे, तर सिन्धुलाई हामी हुर्काउनेछौँ, यस्तो दुर्घटनाबाट बाँचेकी यिनीपछि केही बन्नेछिन्,’ सर्लाही नारायण खोलाका सिन्धुका मामा मइलो लोले हर्षित मुद्रामा भने ।


१३ दिनसम्म कानुनी प्रक्रिया नमिल्दा शिशुलाई आमाझै हेरचाह गरेर ममता पुर्‍याएको भन्दै उनले सबैलाई धन्यवाद दिए । उनीसहित शिशुकी सानिआमा सुकुमाया लो, ठूलीआमा सुकुमाया लो, काका सुकराम शिशु लिनको लागि आएका थिए ।


‘१३ दिनपछि सिन्धुले बल्ल आफन्तको काख पाएकी छन्, यो खुशीको कुरा हो, तर अब सदाबहार अस्पताल सुनसान बन्दैछ यसले दुःखित बनाएको छ,’ नर्स लक्ष्मी विकले भक्कानिँदै भनिन् । लिसंखुपाखर गाउँपालिकाका र सिन्धुसदाबहार अस्पतालका अध्यक्ष कमल नेपाल, सुनकोसी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी पौडेलले सिन्धुको अभिभावकत्व लिन सधैँ तत्पर रहेको बताए ।


सुनकोसी–६ को मोडबाट सय मिटर तल खसेपछि क्षतिग्रस्त बसमा सुरक्षित भेटिएकी सात महिने शिशुको दुर्घटनालगत्तै सेना, प्रहरी र स्थानीयले उद्धार गरेका थिए । १५ घाइतेसहित शिशुको उपचारका लागि ६ किलोमिटर तल बलेफी गाउँपालिकाको खाडीचौरस्थित सिन्धु सदाबहार अस्पतालमा ल्याइएका थिए ।


अन्य घाइतेसँगै ल्याइएकी शिशुको अवस्था सामान्य भएपछि उनलाई बाल स्याहार कक्षमा राखियो । कोलाहल वातावरणबीच दूध खान खोजेपछि स्वास्थ्यकर्मीले बोतलबाट पिलाउन खोजे । आमाकै दूध खोजेपछि भर्खरै गर्भवती भएकी सुनकोसी–७ माझीगाउँकी सुनिता माझीले आमाझै स्नेह गरेर दूध पिलाइन् ।


गत साता कालिञ्चोकबाट भक्तपुर जाँदै गरेको बा ४ ख ४४६८ नम्बरको यात्रुबस अनियन्त्रित भई सडकबाट खस्दा १६ जनाको मृत्यु भएको थियो । जसमा बितेकी सर्लाहीकी सुनिता शिशु सिन्धुकी आमा थिइन् । शिशुकी बुबा चालक इन्द्रावती गाउँपालिका भोटसिपाका सुमन तामाङ प्रहरीको सम्पर्कमा आएपछि कानुनी प्रक्रिया सकेर अभिभावकलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

प्रकाशित : पुस १०, २०७६ १५:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?