३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

गोदाममै कुहियो ४८ हजार किलो चामल

मकर श्रेष्ठ

काठमाडौँ — खाद्य व्यवस्था तथा व्यापार कम्पनीको अञ्चल कार्यालय काठमाडौंले पाँच वर्षअघि धनुषाका किसानबाट किनेको ४८ हजार सात सय किलो बासमती चामल थापाथली गोदाममै कुहिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गोदाममा रहेको चामलमा चिलेसा परेको, किरा स्पष्ट देखिएको, किराले चामल धूलो बनाएको र रङ परिवर्तन भएर खैरो भएको जनाउँदै खान अयोग्य भनेको छ ।

गोदाममै कुहियो ४८ हजार किलो चामल

जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि सम्मिलित विभागको टोलीले पुस १ मा अनुगमन गर्दा गोदाम नं २४ मा १० केजी र २५ किलोका सिलबन्दी बोरामा ‘नेपाल खाद्य संस्थान ०७१/७२’ उल्लेख भएको तीन सय २३ क्विन्टल र गोदाम नं ३० मा १० र २० किलोका बोरामा एक सय ६४ क्विन्टल बासमती चामल पाइएको थियो । ‘यो चामल पाँच वर्षअघि जनकपुरको हाम्रै मिलबाट कुटेर काठमाडौंका उपभोक्तालाई लक्ष्य गरेर ल्याइएको थियो,’ अञ्चल कार्यालय थापाथलीका प्रबन्धक रणबहादुर बुढाथोकीले भने, ‘ऊ बेला बिकेन । अहिले मूल्यअनुसारको चामल भएन । बिक्री नभएपछि गोदाममै कुहियो ।’


खाद्यले बासमती चामल अहिले प्रतिकिलो ७९ रुपैयाँमा बिक्री गरिरहेको छ । बजार मूल्यअनुसार ३८ लाख ४७ हजार ३ सय रुपैयाँको चामल गोदाममा कुहिएको हो ।


खाद्यले आफूखुसी चामल नष्ट गर्न नसक्ने भएपछि विभागलाई गुणस्तर परीक्षणका लागि पत्राचार गरेको थियो । जिल्ला प्रशासनका प्रतिनिधिलाई समेत राखेर विभागका खाद्य निरीक्षकको टोलीले निरीक्षणपछि चामल नष्ट गर्न सुझाव दिएको थियो । ‘दुईवटा गोदामको चामल कुहाएर कसरी राख्न सकेको होला ?’ निरीक्षणमा गएका एक खाद्य निरीक्षकले भने, ‘यो त लापरबाहीको पराकाष्ठा हो ।’


विभागले चामल नष्ट गर्न प्रतिनिधि पठाइदिन भन्दै प्रशासनलाई आग्रह गरेको थियो । लापरबाही गरेर चामल कुहाएको भन्दै प्रशासनले प्रतिनिधि पठाउन इन्कार गरेको स्रोतले जनाएको छ । ‘त्यो चामल अन्यत्र लैजान वा नष्ट गर्न विभागले निर्णय गर्नुपर्ने गरी हामीले अनुगमनका क्रममा खाद्यका थापाथली प्रमुखलाई सही गराएका थियौं,’ गुण नियन्त्रण विभाग स्रोतले भन्यो । प्रक्रिया पूरा नगरी नष्ट गर्दा अख्तियारको फन्दामा पर्ने भएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको अञ्चल कार्यालय र गुण नियन्त्रण विभागले अख्तियार दुरुपयोग अनुसन्धान आयोग गुहारेका छन् । यो चामल कसरी व्यवस्थापन गर्ने भन्दै विभागले बुधबार अख्तियारलाई पत्र लेखेर निर्देशन मागेको हो ।

प्रकाशित : पुस १०, २०७६ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?