कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रिहानको लडाइँ जारी छ ! [भिडियोसहित]

स्वरूप आचार्य

काठमाडौँ — यही शनिबार १२ गते रिहान न्यौपाने १८ महिना पुगेर १९ महिना टेक्दैछन् । समयको हिसाबले डेढ वर्ष धेरै लामो समय होइन । तर, उनले जन्मिएदेखि पाएको दुःखको लेखाजोखा गर्ने हो भने हरेक पल उनका लागि वर्ष बराबर छ र हरेक वर्ष युग ।

रिहानको लडाइँ जारी छ ! [भिडियोसहित]

०७५ साल असार १२ गते मंगलबार उच्च प्रविधियुक्त ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा जन्मिएका रिहान चिकित्सक तथा अस्पताल व्यवस्थापनले गरेको लापरबाहीको सिकार एक अबोध बालक हुन् । चिकित्सा क्षेत्रमा अस्पताल तथा उपचारमा संलग्न डाक्टरले गरेको त्रुटि सामान्य भए पनि त्यसबाट बढ्दै गएको समस्याले जुन अवस्थामा उनी पुगेका छन् त्यो कारुणिक र दर्दनाक छ ।


रिहानका बुबा सञ्जीव न्यौपानेले आफ्नो छोराको उपचारमा संलग्न चिकित्सक तथा ग्राण्डीविरुद्ध जेठ २ गते नेपाल मेडिकल काउन्सिल (एनएमसी)मा उजुरी दर्ता गराएका थिए । त्यसको ठीक ७ महिनापछि मंसिर २३ गते एनएमसीको पूर्ण बैठकले ६ बुँदे निर्णय गर्दै उपचारमा संलग्न चिकित्सकबाट केही गल्ती भएको औंल्याएको छ ।

सोही गल्तीका आधारमा अस्पताल व्यवस्थापन र न्यूरोसर्जन डा. अमित थापालाई सचेत गराउने निर्णय गरेको छ भने बालरोग विशेषज्ञ डा. दीपिका ढकाललाई ७ दिन प्रोबेसन (आफूभन्दा वरिष्ठ चिकित्सको प्रत्यक्ष निगरानीमा मात्रै कार्य गर्न पाउने) मा राखेको छ ।

काउन्सिलले गरेको निर्णय :

  • अस्पताल प्रशासन र उपचार गर्ने चिकित्सककाबीच बिरामी नवजात शिशुलाई आईसीयूमा भनर्न गर्ने विषयमा फरक मत देखिएको, बिरामीको उपचारको क्रममा चिकित्सकको रायविपरीत अस्पताल प्रशासनले आईसीयूमा राख्न लिखित निर्देशन नै दिएको देखिएको, उपचारकै क्रममा बिरामी शीशुलाई प्यारासिटामोल ओभरडोज दिएको र सो को स्वीकारोक्ति समेत गरिएको सन्दर्भमा अस्पतालका निर्देशकलाई सचेत गराउने ।
  • न्यूरोसर्जन डा. अमित थापालाई चिकित्सा विज्ञानको आधारभूत सिद्धान्तमध्येका इम्प्याथी र कम्प्यासन (सहानुभूति र करुणा) को कमी देखिएको तथा प्रोग्नोसिस (रोगको उपचारपछिको अवस्थाको पूर्वानुमान) बारे स्पष्ट सल्लाह दिएको नदेखिएको हुँदा अब उप्रान्त त्यस्तो विषयमा गम्भिर भई कार्य गर्ने गरी निज डा. अमित थापालाई सचेत गराउने ।
  • प्यारासिटामोल ओभरडोज प्रिस्क्राइब (लेख्ने) गर्ने डा. दीपिका ढकाललाई नेपाल मेडिकल काउन्सिलको कोड अफ इथिक्स एण्ड प्रोफेसनल कण्डक्ट्स २०१७ को दफा ९ बमोजिम यो निर्णयको पत्र प्राप्त मितिले सात दिनसम्म प्रोबेसन (आफूभन्दा वरिष्ठ चिकित्सको प्रत्यक्ष निगरानीमा मात्रै कार्य गर्न पाउने) मा राख्ने ।
  • परीक्षणको क्रममा सीटी/एमआरआई समयभित्रै गरिएको देखिएन । यस सम्बन्धमा बालरोग विभागको स्पष्टीकरणमा बच्चाको स्वास्थ्यस्थितिको रिस्क एण्ड बेनिफिट इभ्यालुएसन (फाइदा र हानीको मूल्यांकन) पश्चात केही समय ढिलाई गरिएको भनिएता पनि यस्तो प्रकारको जटील स्वास्थ्योपचारमा अस्पतालभित्रै उपलब्ध सेवा सुविधाहरु समयभित्रै उपयोग गर्न सुझाव दिने र इमेजिङ गर्नलाई ढिला गर्ने वा गराउनुपर्ने कुनै कारण भएका अभिलेख रहनेगरी नोट गरिराख्नुपर्ने विषयमा समेत सुझावसहित ग्राण्डस् अस्पतालका सम्बन्धित विभाग र व्यवस्थापनलाई सचेत गराउने ।
  • आफ्नो अस्पतालभित्र स्वास्थ्योपचारको क्रममा हुने यसप्रकारको त्रुटी, कमजोरीहरु न्यूनीकरण गर्न अस्पताल गम्भीर र जवाफदेही हुनुपर्ने तथा आफ्नो स्वास्थ्यकर्मीहरुलाई पूनर्ताजगी तामिलको व्यवस्था गर्न गराउन अस्पताललाई निर्देशन दिने ।
  • क्षतिपूर्तिका विषय नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारभित्र नपर्ने व्यहोरा निवेदकलाई जानकारी गराउने ।

एनएमसीले प्राप्त कागजात, मौजुदा ऐन–नियम तथा पुराना नजिरहरुको आधारमा माथि उल्लखेत निर्णय गरेको दाबी गरेको छ । काउन्सिलका निमित्त रजिस्ट्रार डा. अंकुर साहका अुनसार एनएमसीले गर्न मिल्ने हदसम्मको सजाय अस्पताल र चिकित्सकलाई दिएको छ ।

‘हामी रिहानको अवस्थाप्रति निकै गम्भीर छौं । त्यो अवस्थाबाट उनलाई पूर्ववत अवस्थामा फर्काउन मिल्दैन । त्यसैले पनि यो केस झनै गम्भीर बनेको हो,’ डा. साहले भने, ‘तर, हामीले भावनामा बगेर निर्णय गर्ने कुरा आएन । विज्ञ समितिको राय, अस्पताल र चिकित्सकहरुको स्पष्टोक्ति, बिरामीका अभिभावको गुनासो सबैलाई विश्लेषण गरेरै यो निर्णयसम्म पुगेका हौं ।’

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला रिहानका अभिभावक तथा परिवारलाई सजायमा चित्त नबुझ्नु स्वभाविक भएको बताउँछन् । ‘भावनात्मक रुपमा सोच्ने हो भने जतिसुकै कठोर सजाय पनि कम लाग्न सक्छ । तर हामीले एउटा केसलाई मात्र हेरेर निर्णय गर्ने कुरा आउँदैन,’ उनले भने, ‘त्यसैले विज्ञ समितिको राय तथा काउन्सिलको व्यावासायिक आचरण तथा स्वास्थ्य समितिको सिफारिसमा भएको निर्णय ठीक छ भन्ने लाग्छ ।’

क्षतिपूर्ति दिलाउने क्षेत्राधिकार काउन्सिलमा नरहेका कारण पीडित परिवारले क्षतिपूर्ति पाउन सम्बन्धित निकाय नै जानुपर्ने बाध्यता रहेको उनले बताए ।

‘हामीले चिकित्सकलाई मात्रै कारबाही गर्न सक्छौं । खासमा भन्ने हो भने अस्पताल व्यवस्थापनलाई पनि धेरै केही गर्न मिल्दैन,’ उनले भने, ‘तर यो अवस्थामा अस्पताल प्रमुख पनि चिकित्सक नै रहेका कारण व्यवस्थापनलाई पनि सचेत गराएका छौं ।’

एनएमसीले नाबालक शिशुको उपचारमा संलग्न चिकित्सक तथा अस्पताल प्रशासनले दुषित मनासय नभए पनि केही हदसम्म त्रुटी गरेको देखिएपछि कारबाही गरेको हो । काउन्सिलको कारबाहीले भविष्यमा ती चिकित्सक तथा अस्पतालले यस प्रकारको गल्ती फेरि नगर्लान् भन्ने आशा त गर्न सकिन्छ । तर, १८ महिनादेखि इन्तुनचिन्तु भएर लडिरहेका रिहान र उनको रेखदेखमा संलग्न अभिभावकलाई भने राहत मिलेको छैन ।


कथा लापरबाहीको


रिहानसँग अब मृत्यु कुर्नुको विकल्प छैन । उनका बुवा सन्जिव न्यौपाने र आमा एकता घिमिरे पनि मन बाँधेर त्यो अन्तिम क्षणको प्रतिक्षामा छन् । न्यौपाने दम्पत्तिको पीडा कुनै शब्दमा बयान गर्न सकिँदैन । ‘रिहान अब रहँदैन भन्नेमा कन्भिन्स भइसक्यौं,’ आमा एकताले भनिन्, ‘उसले भोगिरहेको पीडा देख्दा अब त आँखा रसाउन पनि छोडिसक्यो । तैपनि आमाको मन कसरी मान्छ र ? सकेको केही गरुँ भन्ने लाग्छ । तर, के गर्ने ?’

१८ महिनादेखि लगभग ‘नजरबन्द’ जीवन बिताइरहेकी एकताको मनमा ग्राण्डी अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेविरुद्ध ठूलै रोष छ । उनलाई छोराको अवस्थाले जति पोलेको छ त्योभन्दा बढी डा. पाण्डेको शब्दले घोचेको छ ।

‘उहाँकै अस्पतालमा उपचार गराइरहँदा मेरो छोराको अवस्था यस्तो भएको हो । तैपनि कुनै दयामाया देखाउनुभएन,’ उनले भनिन्, ‘उहाँले नै हामीलाई काउन्सिल वा अदालत जान सुझाव दिनुभएको थियो । हामी काउन्सिल गयौं । काउन्सिलले पनि केही हदसम्म त्रुटी भएकै हो भनेर भन्यो । अब क्षतिपूर्तिको लागि अदालत जानुपर्ने अवस्था छ । त्यो पनि जाउँला । तर, उहाँले हाम्रो घाउमा जुन प्रकारले नुनचुक दल्ने काम गर्नुभयो त्यो कहिल्यै भुल्ने छैन ।’

रिहानका बाबु सन्जिवको भने काउन्सिलको निर्णयपछि अस्पतालले आफैं क्षतिपूर्ति दिए सबैलाई सहज हुने धारणा छ ।

‘हामीले अस्पतालबाट धेरै आशा गरेका छैनौं,’ उनले भने, ‘त्यहीँ जन्मिएर, उहाँहरुले भने जति सबै गर्दा पनि बच्चाको हालत यस्तो छ । ऊ जति दिन बाँच्छ त्यति समयलाई सहज हुने गरी अस्पतालले व्यवस्थापन गरिदिए त हुने हो । तर, हामीले क्षतिपूर्तिका लागि फेरि अदालत नै जानुपर्ने देखिन्छ ।’

सन्जिवलाई काउन्सिलको निर्णयमा धेरै गुनासो छैन । यद्यपि उनको मनमा केही प्रश्न भने छन् । ‘हामीले संयम हुँदै कानुनी बाटो अवलम्बन गर्‍यौं । जसका लागि निकै धेरै धैर्य आवश्यक पर्छ,’ उनले भने, ‘अब फेरि अदालत जानुपर्छ । त्यहाँ पनि कति समय लाग्छ टुंगो छैन । के बिरामीका सबै परिवारले यति नै धैर्य सधैं प्रदर्शन गर्नैपर्ने हो । लाग्छ कानुनमा केही त कमी छ ।’

सन्जिवले केही दिनअघि सामाजिक सञ्जालमा छोराको सबै खेलौनाहरु क्रिस्मसको उपलक्ष्यमा गिफ्ट दिने बताउँदै रिहानको पछिल्लो तस्बिरसमेत सार्वजनिक गरेका थिए । उनको त्यो पोस्टले धेरैको ध्यान खिचेको थियो । त्यसपछि रिहानका बारे पुनः चर्चा र चासो देखिन थालेको छ ।

तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेपछि केही समयमै त्यसमा धेरैले प्रतिक्रिया पनि दिए । केहीले सहानुभूति देखाए केहीले भने उनले ‘इमोसनल ब्ल्याकमेलिङ’ गर्न खोजेको आरोप पनि लगाए ।

सामाजिक सञ्जालमा आएको सबैखाले प्रतिक्रिया सन्जिवले पढेका छन् । सकारात्मक प्रतिक्रियाले केही ढाडस दिएको छ भने नकारात्मक प्रतिक्रियाले मन घोचेको पनि छ ।

‘म आफैं आईटी प्रोफेसनल हुँ । मैले जानेरै त्यो तस्बिर पोस्ट गरेको थिएँ,’ उनले तस्बिर पोस्ट गर्नु पछाडिको कारण खुलाउँदै भने, ‘जसका कारण मेरो छोराको यो अवस्था भयो उनीहरुले त्यो देखुन् भनेरै पोस्ट गरेको हुँ । इमोसनल ब्यालमेलिङ गरेको होइन ।’

सन्जिवका अनुसार केही समय अघि एकाबिहानै बान्ता गरेर शिथिल बनेका रिहानले रगत नै निकालेपछि उनले केही निजी अस्पतालमा उपचारका लागि भर्ना गर्ने प्रयास गरे । तर, सबैले केही न केही बहाना बनाएर भर्ना गर्न मानेनन् । यहाँसम्म कि सरकारी अस्पतालले पनि उपचारमा खासै चासो देखाएनन् । त्यसपछि उनले घरमै राखेर दिशा, पिसाब र रगत संकलन गरेर जाँच गराउने र चिनेका चिकित्सकहरुलाई रिपोर्ट पठाएर औषधि खुवाउने काम गरिरहेका छन् ।

‘मैले यो सबै पीडालाई आत्मसात गरेर बस्नुपरेको छ,’ उनले भने, ‘मैले सधैं राति सुत्नु अघि हेर्ने र बिहान उठ्ने बित्तिकै देख्न अनुहार अरुलाई पनि देखाउन के नै गलत हुन्छ र ?’

यो पनि पढ्नुहोस्ः

कथा लापरबाहीको

प्रकाशित : पुस ९, २०७६ २१:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?