कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पक्राउ परेका चिनियाँसँग बयान लिन विश्वभाषा क्याम्पसबाट अनुवादक बोलाइयो

मातृका दाहाल

काठमाडौँ — सोमबार काठमाडौंका विभिन्न स्थानमा नेपाल प्रहरीको टोलीले गरेको सर्च अपरेशनमा पक्राउ परेका १२२ जना चिनियाँ नागरिकमाथि अनुसन्धान गर्न प्रहरीले विश्वभाषा क्याम्पसबाट अनुवादक बोलाएको छ ।  

पक्राउ परेका चिनियाँसँग बयान लिन विश्वभाषा क्याम्पसबाट अनुवादक बोलाइयो

प्रहरीले अनुसन्धानमा आधिकारिक बयान लिनका लागि सरकारकी क्याम्पसबाट चिनियाँ भाषा अनुवादकसँग सहयोग मागेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार आधिकारिक अनुवादक आवश्यक परेपछि विश्वभाषामा कार्यरत विज्ञबाट सहयोग लिन लागिएको हो ।


यस्तै, ब्यूरोले भाषा सम्बन्धी अफ्ठ्यारोलाई हल गर्न नेपालस्थित चिनियाँ राजदूतावासबाट समेत सहयोग मागेको छ । ब्यूरोका डीआईजी निरज शाहीले आधिकारिक अनुवादकसहित विभिन्न माध्यमबाट चिनियाँ भाषा विज्ञबाट अनुसन्धानमा सहयोग लिइने बताए ।

...

फिलिपिन्स, कम्बोडिया, मलेसिया र श्रीलंकालगायत एसियाली मुलुकहरूमा साइबर अपराध गरेर भागेका १ सय २२ जना चिनियाँ नागरिक नेपालबाट पक्राउ परेका छन् । ती मुलुकमा धमाधम कारबाही हुन थालेपछि केही समयअघि भागेर यता आएको गिरोहलाई प्रहरीको विशेष अपरेसन टोलीले सोमबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले मनमैंजु, बाँसबारी र बूढानीलकण्ठका १० वटा घरमा छापा मार्दा गिरोहका सदस्यहरू पक्राउ परेका हुन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदीका अनुसार मनमैंजुमा आठतले एउटासहित १० वटा घरमा एकैपटक छापा मारिएको हो । त्यस्तै बूढानीलकण्ठमा दुई र बाँसबारीमा तीनवटा घरमा छापा मारिएको थियो ।

बाँसबारीमा उनीहरूले भाडामा लिएको एउटा घर वरिष्ठ चिकित्सक डा. भोला रिजालको भएको पाइएको एसएसपी सुवेदीले बताए । पक्राउ परेका अधिकांश ४५ वर्षमुनिका छन् । पक्राउ परेकाहरूलाई काठमाडौं परिसर तथा महाराजगन्ज र बूढानीलकण्ठ प्रहरी वृत्तको हिरासतमा राखिएको छ । अपराध धन्दा सञ्चालन गर्न उनीहरूले चलनचल्तीभन्दा तेब्बर तिरेर घरभाडामा लिएको पनि खुलेको छ । चिनियाँलाई सघाउने नेपाली गिरोहको पनि खोजी भइरहेको छ । चिनियाँ नागरिक पक्राउ गरिएको विषयमा नेपालस्थित चिनियाँ दूतावासलाई जानकारी गराइएको र मंगलबार यस विषयमा दूतावासका कर्मचारीसँग अनुसन्धानका लागि थप परामर्श गरिने प्रहरीले जनाएको छ ।

उच्च स्रोतका अनुसार केही महिनाअघि नै साइबर अपराधविरुद्धको अपरेसनका शंकास्पद व्यक्तिको पहिचान गर्न चीनबाट अनुसन्धानका लागि विशेष संयन्त्र काठमाडौं आएको थियो । उक्त संयन्त्रले गिरोहको सक्रियता पत्ता लगाएपछि नेपाल सरकारलाई जानकारी गराएको थियो ।

गिरोहले चीनको अर्थतन्त्रमा असर पुग्ने गरी बैंकिङ कसुर, गैरकानुनी अनलाइन व्यापार, हुन्डी र ग्याम्बलिङलगायत अपराधको धन्दा चलाइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आपराधिक गतिविधिमा संलग्नता अभियोगमा एकैपटक यति धेरै विदेशी पक्राउ परेको नेपालमा यो पहिलो घटना भएको ब्युरोका निर्देशक डीआईजी नीरज शाहीले बताए । तर उनले दूतावासबाट आएको सूचनाबारे भने बोल्न चाहेनन् । पक्राउ परेकाहरूबाट नियन्त्रणमा लिइएका करिब ५ सय थान ल्यापटप र डेढ सय वटाभन्दा बढी मोबाइलको अनुसन्धान भइरहेको उनले बताए । ‘अनुसन्धान भइरहेका कारण कुन कुन अपराधमा गिरोहको संलग्नता छ भन्नेबारे स्पष्ट भइसकेको छैन,’ उनले भने ।

उच्च स्रोतका अनुसार एसियाली मुलुकहरू फिलिपिन्स, कम्बोडिया, मलेसिया, इन्डोनेसिया, भियतनाम, श्रीलंका र लाओस लगायतबाट भागेर पर्यटक भिसामा नेपाल आएको गिरोहले साइबर अपराधको नेटवर्क सञ्चालन गरेको भेटिएको हो । केही साताअघि चिनियाँ दूतावासले कूटनीतिक पत्रमार्फत ‘चिनियाँ आपराधिक गिरोह नेपालमा बसेर चीनविरुद्ध साइबर अपराधको धन्दा चलाइरहेको’ भन्दै नेपाल सरकारको ध्यानाकर्षण गराएको थियो । दूतावासको पत्र परराष्ट्र मन्त्रालयले गृह हुँदै प्रहरी मुख्यालय र अध्यागमन विभागलाई पठाइदियो ।

नेपालमा चिनियाँ गिरोहको अपराध धन्दाविरुद्ध ब्युरो र महाशाखाले पनि सूक्ष्म अनुसन्धान गरिरहेका थिए । डलर, सुन र दुर्लभ वन्यजन्तु तस्करी र लागूऔषध ओसारपसारलगायत अपराधमा संलग्न चिनियाँ गिरोहमाथि निगरानी भइरहेकोमा दूतावासको ध्यानाकर्षणले अनुसन्धानलाई थप टेवा पुग्यो । त्यसपछि ब्युरो, महाशाखा र काठमाडौं प्रहरी उक्त गिरोहको खोजीमा सक्रिय भयो । ब्युरो र महाशाखाले सादा पोसाकको टोलीलाई फिल्डमा खटाए । काठमाडौं प्रहरी परिसर र मातहतका युनिटबाट करिब एक हजार सुरक्षाकर्मीलाई ‘फिल्ड अपरेसन’ का लागि तैनाथी हालतमा राखियो ।

शंकास्पद गतिविधि र संलग्न पत्ता लागेपछि आइतबार प्रहरीले छापा मारेर नियन्त्रणमा लिने योजना बनाएको हो । निगरानी गरिएका घर सोमबार घेरा हाल्दा एकैपटक १ सय २२ चिनियाँ पक्राउ परेका हुन् । पक्राउ परेकाहरू कुन भिसामा आएका हुन् भन्नेबारे मंगलबारसम्म अनुसन्धान पूरा हुने ब्युरोले जनाएको छ । यसका लागि अध्यागमन विभागसँग समन्वय भइरहेको अनुसन्धान अधिकृतले बताए ।

ओभरस्टे भएको पाइए उनीहरूलाई जरिवाना असुलेर देश निकाला गर्न सकिने अध्यागमन स्रोतले बताएको छ ।

चिनियाँ गिरोहले मनमैंजुमा लिएको आठतले घरको मासिक ३० लाख रुपैयाँ भाडा तिर्ने गरेको खुलेको छ । तर घरधनीले बाहिर १५ लाखमा भाडामा लगाएको भन्ने गरेको सूचना पनि प्रहरीले पाएको छ । यस्तै बूढानीलकण्ठमा तीनतले घरलाई मासिक ३ लाख रुपैयाँ भाडा तिर्ने गरेको खुलेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले बताए ।

विगतको कनेक्सन पनि खोजिँदै

पक्राउ गरिएकाहरूको यसअघि नेपालमा भएका अपराधमा कनेक्सनबारे पनि अनुसन्धान थालिएको छ । विगतमा सुन तस्करी, विदेशी मुद्राको अवैध ओसारपसार, दुर्लभ वन्यजन्तु तस्करी र हुन्डी कारोबारलगायत अपराधमा पक्राउ परेकाहरूसँगको सन्बन्ध खोज्न प्रहरी लागिपरेको हो । ‘ल्यापटप र मोबाइलमा भएका तथ्य र प्रमाणहरू संकलनकै क्रममा छौं,’ ब्युरोका डीआईजी शाहीले भने, ‘सबै विवरण उतारिसकेपछि गिरोहको संलग्नता र त्यसको नेटवर्कबारे सबै विषय बाहिर ल्याउँछौं ।’ प्रमुख सहरमा बसेर विभिन्न कसुरमा दुई हजार जनाभन्दा बढी चिनियाँ सक्रिय रहेको शंका प्रहरीको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी सुवेदीले पहिलो चरणमा छापा मारिएकाबाहेक अन्य स्थानमा पनि यस्तै किसिमको अपराध हुन सक्ने आशंकामा निगरानी बढाइएको बताए । ‘संदिग्धको कार्यालय एकातिर, बासस्थान अर्कैतिर गरेर सक्रिय हुने गरेको देखियो,’ उनले भने ।

विदेशमा पनि समातिए

सन् २०१८ देखि कम्बोडियाको पुलिस हेडक्वार्टरमा बसेर चिनियाँ प्रहरीको टोली शंकास्पदको निगरानीमा छ । त्यहाँ सन् २०१९ मा पक्राउ परेका १ सय ७२ महिलासहित ९ सय ६ जनालाई चीन सरकारको जिम्मा लगाइएको छ । पक्राउ परेकामध्ये केही चिनियाँ कम्बोडियामा बसेर आफ्नो मुलुकमा साइबर अपराध गर्ने कार्यमा संलग्न भएको कम्बोडियाका प्रहरी प्रवक्ताले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।


गत पुस २ मा चीनविरुद्ध संगठित र आर्थिक अपराधमा संलग्न ३ सय ४२ चिनियाँ फिलिपिन्सको सुवुरवन क्युजन सहरबाट पक्राउ परे । नोभेम्बरमा मात्रै फिलिपिन्सको अध्यागमन विभागले ३ सय १२ र सेप्टेम्बरमा २ सय ७७ चिनियाँलाई देश निकाला गरिदिएको थियो । ०७५ वैशाखमा पनि कम्बोडियाले १ सय १९ जनालाई चीन फिर्ता गरिदिएको थियो । वैशाखमा ७८ र असारमा ११ चिनियाँ नागरिक श्रीलंकाबाट पनि पक्राउ परेका थिए ।

प्रकाशित : पुस ८, २०७६ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?