विमानस्थल बनाउन जहिल्यै उनको जग्गा

पटक–पटक गरी २२ रोपनी जमिन विमानस्थललाई बुझाइसकेका चेतबहादुर खत्रीको थप जग्गा अधिग्रहण भए यसपटक पनि उठीबास हुनेछ 
दीपक परियार

पोखरा — निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले थप जग्गा अधिग्रहण गर्ने सरकारको निर्णयले चेतबहादुर खत्रीको निद्रा हराएको छ । मंसिर ५ को मन्त्रिपरिषद् बैठकले विमानस्थलका लागि थप १ सय ४८ रोपनी जग्गा अधिग्रहण गर्ने बाटो खोल्यो ।

ZenTravel

पटक–पटक गरी २२ रोपनी जमिन विमानस्थलमा परिसकेका खत्रीको थप जग्गा अधिग्रहण भए यस पटक बास उठ्ने छ ।
०३२ मा अधिग्रहण भएको छिनेडाँडामा रनवे बनिसकेको छ । त्यहाँबाट सरेको खत्री परिवार ०३९ मा गरिएको अर्को अधिग्रहणमा पर्‍यो । तत्कालीन पोखरा नगरपालिकाको इजाजतमा उनको परिवार इन्द्रमार्गमा घर बनाएर बस्यो । विमानस्थलले ०७२ मा फेरि जग्गा अधिग्रहण गर्दा उनी त्यहाँबाट सरेर चाउँथे प्रतिभा टोल पुगे । अबको अधिग्रहणमा उनको दुई रोपनी जग्गा र घर पर्छ । सरकारी मुआब्जा पाउँदा गतिलो ठाउँमा घर बन्दैन । ‘अरू देशले भूमिहीनलाई भूमिपति बनाउँछन्,’ उनी भन्छन्, ‘हाम्रो सरकारले भूमिपतिलाई भूमिहीन बनायो ।’

बाजेबराजुका पालादेखि खेतीपातीबाट जीविका चलाएका इन्द्रबहादुर केसीको घर र हाराहारी ५ रोपनी जग्गा अधिग्रहणमा पर्‍यो । उनले बुझेको मुआब्जाले छरछिमेकका एउटा घडेरी किनेर घरमात्रै बनाउन पुग्यो । जग्गाको प्रतिइकाई स्वामित्व गुम्यो गुम्यो, उनले गरिआएको परम्परागत किसानी पेसा पनि सकियो । रातारात एक स्वावलम्बी किसान ज्यालादारी मजदुरमा परिणत भए ।

निर्माणाधीन विमानस्थलको ५४ प्रतिशत काम सकिँदासमेत जग्गा अधिग्रहण शृंखला अझै टुंगिएको छैन । पछिल्लोपल्ट १ सय ४८ रोपनी अधिग्रहण गर्न आयोजना प्रमुख विनेश मुनकर्मीलाई प्रारम्भिक अधिकारी तोकिएको छ । नागरिक उड्डयन प्राधिकरणले पोखराको १४ नम्बर वडालाई मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि पत्र पठाइसकेको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठन हुने मुआब्जा निर्धारण समितिले जग्गाप्राप्ति ऐनअनुसार काम गर्छ ।

हाल विमानस्थलको दक्षिणपूर्व, उत्तरी भूभाग, मूलगेट र फलेपाटनमा जग्गा अधिग्रहण गर्न लागिएको हो । सामान्यतः मन्त्रिपरिषद्ले निर्णय गरेको दुई हप्ताभित्र प्राधिकरणले अधिग्रहणको सूचना प्रकाशन गर्छ । अध्ययन भइरहेकाले सूचना प्रकाशनमा ढिलाइ भएको मुनकर्मी बताउँछन् । उनका अनुसार तत्कालै १०४.२८ रोपनी जग्गा अधिग्रहण हुनेछ । ग्लाइड पाथ, ह्यांगर, आयल डिपो, हेलिप्याड र लोकलाइजरलगायत अन्य आवश्यक पूर्वाधारका लागि थप जग्गा आवश्यक पर्ने व्यहोराको पत्र आयोजनाले गत वर्ष वडालाई पठाएको थियो । आयोजनाले सम्भाव्यता अध्ययन गरेर उक्त प्रयोजनका लागि ५ सय ८४ रोपनी जग्गा आवश्यक हुने ठानेको छ । त्यसैमध्ये हाल १ सय ४८ रोपनी अधिग्रहण गर्न लागिएको हो । थप अधिग्रहण गर्दा १६ घर भत्कने छन् । ती १६ मध्ये ११ घर यसअघि नै पटक–पटक अधिग्रहणमा परेर आएकाहरूका हुन् ।

पछिल्लोपल्ट ०७१ मा विमानस्थलले ५ सय ९० रोपनी अधिग्रहण गर्दा सात परिवारले १५ रोपनी जग्गाको मुआब्जा बुझेनन् । अव्यावहारिक रूपमा भेग हेरेर मुआब्जा रकम तोकिएको भन्दै उनीहरूले बुझ्न नमानेका हुन् । तत्कालीन सर्वदलीय समितिका संयोजक तथा सांसद रवीन्द्र अधिकारीको अध्यक्षतामा भएको बैठकले सात परिवारलाई जग्गाको सट्टा जग्गा दिने निर्णय गर्‍यो ।

आयोजनाले स्थानीयलाई फारम भरायो । तर उक्त निर्णय कार्यान्वयन नै भएन । उक्त निर्णय भएको बैठकको माइन्युटै अहिले अभिलेखमा कतै भेटिँदैन । सरसाँधको उस्तै प्रकृतिका जग्गामा कुनैलाई २० लाख र कुनैलाई २९ लाख रुपैयाँ मुआब्जा तोकिएपछि असन्तुष्टले मुआब्जा लिन मानेका थिएनन् । एउटै व्यक्तिका नाममा रहेको तर दुई वा बढी कित्ता भएको जग्गालाई पनि बाटोले छोएको र नछोएको भनेर फरक मूल्यांकन गरिएपछि स्थानीय रुष्ट छन् । हाल मुआब्जा बुझ्न जाँदा आयोजनाले प्रतिरोपनी २० लाख रुपैयाँकै दरले लैजान स्थानीयलाई भनेको छ । हाल उक्त जग्गाको मूल्य प्रतिरोपनी ३ करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने स्थानीयको दाबी छ । सम्झौताअनुसार जग्गाको सट्टा जग्गा दिनुपर्ने वा पुनर्मूल्यांकन गरेर क्षतिपूर्तिसहित मुआब्जा दिनुपर्ने स्थानीयको माग छ ।
विमानस्थल प्रभावित स्थानीयले जनसरोकार समिति गठन गरेर माग अघि सारेका छन् । निर्माणाधीन विमानस्थलको निरीक्षण गर्न गत साउनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नियुक्त भएलगत्तै पोखरा आएका योगेश भट्टराईसँग सरोकार समितिले आफ्नो माग राखिसकेको छ । बनिरहेको विमानस्थलमा हेर्न आएका भट्टराईले भनेका थिए, ‘कुनै पनि जनसमुदाय, स्थानीय जनतालाई एकदमै नांगेझार बनाएर, नाङ्गो खुट्टा, नाङ्गो आङ लखेटेर आयोजनाहरू बन्दैनन् ।’

त्यसो त, स्व. रवीन्द्र अधिकारीले थप जग्गा नचाहिने भनेर घोषणा गरिसकेका थिए । थप जग्गा अधिग्रहणको निर्णय खारेजीको माग गर्दै यतिबेला स्थानीय आन्दोलित छन् । उचित मुआब्जा दिने भनेर प्रचलित भाउको आधा पनि नदिने भएपछि जग्गा सरक्क दिने पक्षमा छैनन् । दुईपल्ट विस्थापनमा परेका राजुकुमार थापा थातथलो छोड्दाको पीडाको भर्पाइ पैसाले नहुने बताउँछन् । ‘मृत्यु या संघर्ष रोज्नुपर्छ,’ उनी भन्छन्, ‘पीडा देखाउने ठाउँ नभएपछि मृत्यु रोज्नुपर्ने अवस्था छ ।’ एउटै परियोजनाबाट एउटै परिवार पाँच पटकसम्म उठीबास लाग्ने गरी हुने भनिएको पटके अधिग्रहणको शृंखला अन्त्य हुनुपर्ने जनसरोकार समितिका अध्यक्ष गनेस पौडेल बताउँछन् ।

अधिग्रहण होइन, विस्थापन
वैदेशिक रोजगारीमा रहेका श्रीमान्‌को कमाइबाट पर्वत धाइरिङकी गंगाकुमारी शर्माले ०६४ मा विमानस्थल नजिकैको हवेलीमार्गमा साढे ३ आना घडेरी किनिन् । त्यतिबेला १६ लाख रुपैयाँमा किनेको घडेरी अधिग्रहणमा पर्‍यो । ६ वर्षमा उनको जग्गामध्ये ३ आना काटेर विमानस्थलले अधिग्रहण गर्‍यो । जसको मुआब्जा १० लाख ४६ हजार रुपैयाँ ०७३ सालमा पाइन् । तारबारको सिधारेखा बाहिर पर्ने हुनाले उनलाई आधी आनाको मुआब्जा दिइएन । ‘अब बाँकी आधी आना जग्गा कोरिएको लालपुर्जा बोकेर मैले के गर्ने ? न घर बनाउन मिल्छ, न त्यसलाई उखेलेर अन्त लैजान,’ उनले दुःखेसो पोखिन्, ‘न आधी आना जग्गा कुरेर पोखरा बस्नु ? सरकारले गरिब जनतालाई यसरी बिल्लीबाँठ बनाउन पाउँछ ?’

पटक–पटक अधिग्रहण गरिनु, अधिग्रहण नभई विस्थापन भएकाले विस्थापितसरह व्यवहारगर्नुपर्ने स्थानीयको माग छ । पहिलोपल्ट ०३९/३० मा सर्भे भई ०३२ मा ३१ सय ५० रोपनी जग्गाको अधिग्रहण सूचना जारी गरियो । ०३४ बाट मुआब्जा वितरण सुरु भयो । ०३४, ०३५ र ०३६ सालमा प्रतिरोपनी ४ हजार रुपैयाँको दरले मुआब्जा दिइयो । स्थानीयको आन्दोलनपछि ०३७ बाट १० हजार रुपैयाँका दरले मुआब्जा दिइएको थियो । घरको हकमा प्रतिघर २० हजारदेखि २५ हजार रुपैयाँसम्म दिइएको थियो । त्यतिबेला दिइएको मुआब्जाले साँध सिमानामा त्यसको दोब्बर क्षेत्रफलको जग्गा किन्न सकिने स्थानीय जंगबहादुर कुँवर सुनाउँछन् । तत्कालीन समयमा १ सय ५३ घर परिवार विस्थापित भएका थिए । सबैजसो गाउँलेले थातथलोकै आसपासमा नयाँ घर बनाएर बसोबास गरेका थिए । उद्योगी सूर्यबहादुर केसी त्यहींबाट विस्थापित भई मुस्ताङचोक पुगेका हुन् ।

०७१ मा पुनः ५ सय ९० रोपनी जग्गा थप अधिग्रहण हुँदा ३५ घर परिवार विस्थापित भए । जसमध्ये आधिजसो घर विमानस्थलकै कारण यसअघि नै विस्थापित भएर आएका देखिन्छन् । जग्गाको अवस्था हेरी रोपनीको २० लाख, २९ लाख, ४८ र ६४ लाख रुपैयाँ तोकिएको थियो । अधिग्रहण गर्दा र बस्ती उठाउँदा विस्थापन र अधिग्रहणका अन्तर्राष्ट्रिय अभ्यासको पालना नगरिएका आरोप स्थानीयको छ । ‘विगतको भन्दा उन्नत जीवनको प्रत्याभूति गरेर मात्रै अधिग्रहण गर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता भए पनि हामीलाई चलनचल्तीको भन्दा निकै कम मुआब्जा दिइयो,’ जनसरोकार समितिका अध्यक्ष गनेस पौडेलले भने । घरको मुआब्जा दिँदा नागरिकको आवास अधिकारको उल्लंघन हुने गरी अमानवीय अभ्यास गरिएको उनको आरोप छ । राज्यले विस्थापन गर्दा उस्तै र उत्रै घर बनाउन पुग्ने क्षतिपूर्ति दिने विश्व व्यापार संगठन (डब्लूटीओ) को प्रावधान र अन्तर्राष्ट्रिय अभ्यास भए पनि मूल्य ह्रासकट्टी गरी दिइएको उनले बताए ।

पौडेलका अनुसार हाल विमानस्थल वरपर मूलबाटोले छोएको जग्गा हातको ६ लाख रुपैयाँका दरले बिक्री भइरहेको छ । भित्री बाटोमा भने हातको साढे ३ देखि ४ रुपैयाँ पर्छ । एक रोपनीमा झन्डै ६० बाई ४० हात हुन्छ । उक्त जग्गाको चलनचल्तीको मूल्य ३ करोड ६० लाख रुपैयाँ हुन आउँछ । जग्गा प्राप्ति ऐन, ०४३ अनुसार जग्गाको मुआब्जा निर्धारण गर्दा चलनचल्तीको मूल्य, सरकारी मूल्य र बैंकको मूल्यांकनको मूल्यबाट औसत निकालिन्छ । यसरी निकाल्दा चलनचल्तीको मूल्यभन्दा झन्डै ६० प्रतिशत घटेर जग्गाधनीले मुआब्जा पाउँछन् । चलनचल्तीको भन्दा सरकारी दररेट थोरै हुँदा स्थानीयले कम मुआब्जा पाउँछन् । भैरहवाको गौतम बुद्ध विमानस्थलमा भने चलनचल्तीभन्दा सरकारी रेट धेरै भएकाले मुआब्जाको किचलो भएको थिएन ।

विमानस्थलले दक्षिणपट्टि बाहिरी परिधि सडकका लागि आवश्यक थप ५९.४८ रोपनी जग्गा तथा ३४ घर टहराको अधिग्रहण गरिसकेको छ । हालसम्म मुआब्जा वितरणसम्बन्धी करिब ९५ प्रतिशत काम सकेको दाबी विमानस्थल निर्माण आयोजनाको छ । आयोजनाले आवश्यक क्षेत्रफलको स्पष्ट खाका सार्वजनिक नगरेकाले ५ वर्षयता निर्माणाधीन विमानस्थल आसपासका क्षेत्रमा जग्गाको किनबेच बन्द छ । उक्त ठाउँका बासिन्दा पोखरा–१४ का वडाध्यक्ष प्रेमबहादुर कार्कीकै पनि २५ रोपनी जग्गा रोक्का छ । ‘आफ्नै सम्पत्ति पनि उपयोग गर्न नपाइने यो विडम्बनापूर्ण अवस्थाको सिर्जना किन गरिन्छ ? जग्गाको भाउ घटाउन ? दिनुसम्म दःुख दिने र अन्त्यमा आजित बनाएर कौडीको भाउमा जग्गा सुम्पेर भाग्ने मानसिक अवस्थामा जनतालाई पु‍र्‍याउने योजना हो,’ सरोकार समिति अध्यक्ष पौडेल भन्छन्, ‘यदि यस्तो योजना होइन भने मुआब्जा निर्धारण गर्दा एयरपोर्टदेखि उत्तरको र दक्षिणको जग्गा भनेर हिजो पञ्चायतले समेत नगरेको विभेद आज किन भयो ? बाटो र कुलोले छोएको र नछोएको भनेर किन फरकफरक दररेट राखियो ? एयरपोर्टलाई चाहिएको क्षेत्रफल हो कि घडेरी वा खेतबारी हो ?’

जिल्ला प्रशासन कार्यालयले स्थानीयलाई जग्गा प्राप्ति ऐनअनुसार जानुपर्ने भएकाले प्रचलित दरमा सरकारले मुआब्जा दिन नसक्ने जवाफ दिने गरेको छ । ‘कुनै ऐनले नागरिकलाई मौलिक हक उपभोग गर्नबाट वञ्चित गर्छ भने त्यो ऐन नभएर अंकुश हो,’ पौडेल भन्छन्, ‘त्यो न्यायको खातिर नभएर निरंकुशताको खातिर जोडिएका अक्षरको पुञ्ज मात्रै हो । अबका दिनमा कि त यस्तो ऐन सुधार गरेर होस् कि विकल्पको खोजी गरेरै भए पनि हामीलाई न्याय दिइयोस् ।’

अन्तर्राष्ट्रिय व्यापार र लगानीको विश्वव्यापी प्रावधानमा टेकेर चिनियाँ ऋण लगानीमा बनिरहेको विमानस्थलले त्यो अन्तर्राष्ट्रिय अभ्यास पूरा नगरेको स्थानीयको ठहर छ । विस्थापितको न्यूनतम अधिकार पनि हनन गरिएको प्रमाणसहित ठेकेदार कम्पनीलाई समेत मुछेर संयुक्त राष्ट्रसंघमा मुद्दा दिन सकिने बाटोसमेत खुला भएको उनीहरू बताउँछन् । मुलुकका लागि निर्माणाधीन विमानस्थलन राष्ट्रिय गौरवको आयोजना भए पनि वरपरका बासिन्दाको अनुभवमा भने सामुदायिक अपमान र अमानवीयताको उदाहरण भएको पौडेलको ठहर छ । ‘यहाँको प्राकृतिक र पर्यावरणीय प्रभावको मूल्यांकन र त्यसको क्षतिपूर्ति हुने कुराको भर्सेला परोस्, यहाँ त जनजीविका र बसोबासकै बिल्लीबाँठ भएको छ,’ उनी भन्छन्, ‘विस्थापितको अधिकारबारे अन्तर्राष्ट्रिय मान्यताको धज्जी उडाइएको छ ।’

नहर पुरिए, विकल्प छैन
विमानस्थल बनिरहेको स्थान पोखरा उपत्यकाको मुख्य भागमा पर्छ । विमानस्थल निर्माणको थालनी हुनुपूर्व तीनवटा नहरले दक्षिणी भूभागको झन्डै ६ हजार रोपनी उर्बर जमिनलाई सिँचेका थिए । सेती सिँचाइ आयोजनाका ती नहर अहिले रनवेमा पुरिए । खेतमा पानी नपुगेको गुनासो लिएर पुगेका किसानलाई सिँचाइ कार्यालय एयरपोर्टलाई कारक देखाएर तर्किने गरेको छ ।
उक्त क्षेत्रमा चार दर्जनभन्दा बढी दर्तावाल ठूला कृषि फार्म छन् । ‘अघिल्लो बर्खेबाली त भलबाढीको भरमा जेनतेन रोपियो,’ कृषक शिवराज कँडेल भन्छन्, ‘तर अहिले हिउँदमा लगाइने तरकारी बाली सिँचाइको अभावमा कसरी सम्भव होला ?’ जनताको जीविकोपार्जनसँग जोडिएको सार्वजनिक सरोकारका पूर्वाधार भत्काउनुअघि त्यसको उचित विकल्पको व्यवस्था हुनु पर्ने उनी बताउँछन् ।

चित्त बुझाउने कोसिस गर्छौं : आयोजना प्रमुख
विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले थप जग्गा अधिग्रहण बाध्यता भएको दाबी गरे । उनका अनुसार जहाज अवतरणका लागि अत्यावश्यक उपकरण हो, ग्लाइड पाथ । ग्लाइड पाथ अहिलेकै जग्गामा बन्छ । हालको सिमानाबाट ५० मिटर बाहिर थप अधिग्रहण हुनेछ । त्यसमध्ये २० मिटर विमानस्थलभित्र तारबार हुन्छ । ३० मिटर बाहिरै रहन्छ । उक्त ३० मिटरको सिमानाबाट थप २५ मिटरको मापदण्ड लाग्दैन । ३० मिटरभित्र कुनै पनि संरचना बनाउन नमिल्ने भएकाले अधिग्रहण गर्न लागिएको उनी बताउँछन् । ‘हामीले अध्ययन गरिरहेका छौं । प्रारम्भिक प्रतिवेदन आएपछि मुआब्जा निर्धारण समितिमा छलफल गर्छौं,’ उनले भने, ‘उचित मुआब्जा पाउनुपर्ने स्थानीयको माग जायज छ । सहमति गरेरै अगाडि बढ्ने हो ।उहाँहरूको चित्त बुझाउन कोसिस गर्नेछौं ।’

प्रकाशित : पुस ७, २०७६ ०९:५७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

जुँगे भट्टराई भन्छन्- दामले होइन नामले मात्रै सन्तुष्टि दियो

रीना मोक्तान

काठमाडौँ — जुँगाकै कारण फिल्म क्षेत्रमा कोही चर्चित छ भने, ती हुन् उद्धवराज भट्टराई । 'जुँगे भट्टराई'को उपनामले चिनिने उनी कला निर्देशकका रुपमा फिल्म क्षेत्रमा सक्रिय छन् । उनले यो पेशा अंगालेको ४२ वर्ष भयो । उनी फिल्मका लागि आवश्यक सजावट सामाग्री 'प्रप्स' लगायत पहिरनसमेत डिजाइन गर्छन् । 

६४ वर्षका भट्टराई, यो उमेरमा पनि प्रप्स बनाउने झन्झटिलो काम गरेर थाक्दैनन्। प्रप्समा उनी मौलिकता भर्छन्। यही विशेषताले हो निर्माता निर्देशक उनी कहाँ धाइरहन्छन्।

हालै छायांकनमा रहेको फिल्म ‘प्रेमगीत ३’का लागि उनले ९३ वटा नक्कली बन्चरो बनाइदिएका थिए। ऐतिहासिक विषयवस्तुमा फिल्म बनाउने टुंगो लागेपछि आवश्यक प्रप्सका लागि निर्माता सेन उनकै दौलोमा पुगेका थिए। उनले पनि पूरानो जमानाको बन्चरो अल्छी नमानी बनाइदिए।
हिजोआज फिल्डमा कमै जान्छन् भट्टराई। आफू बस्ने डेरामै उनी निर्माता- निर्देशकको डिमाण्ड पूरा गर्न खट्छन्।

‘सेतोबाघ’ फिल्ममा प्रयोग भएको श्रीपेच र शेष नाग उनैले बनाएका हुन्। ‘लालजोडी’मा देखाइएको शालिक उनकै कला हो। ‘माया पिरती’, ‘प्रेमपिण्ड’, ‘युगदेखि युगसम्म’, 'राजमति', 'लर्ड बुद्ध', 'प्रेम-पिण्ड', 'मुनामदन', ‘जय बाबु पशुपतिनाथ’, ‘श्रिस्वस्तानी’ ‘भाग्यरेखा’, ‘सन्तान’लगायतका दर्जन बढी फिल्ममा उनले कला निर्देशकका रुपमा काम गरिसकेका छन्।

उनी कला निर्देशन मात्रै होइन भेषभुषा डिजाइनसमेत गर्छन्। एउटै फिल्ममा ‍कला निर्देशन अनि भेषभुषा डिजाइन गरिदिन्थे भट्टराई। २०३५ तिर त कला निर्देशकलाई नाम दिन कन्जुसाईं गर्थे निर्माण टिम। तर जुँगे भट्टराईले भने कहिल्यै आफ्नो कला देखाउने कुरामा कन्जुस्याईं गरेनन्।

‘मुनामदन’ फिल्मका निर्माण टिमले त उनको नाम फोटोसहित अगाडि दिने आवश्वसन दिएका थिए। पछि त्यो पुरा भएन। फिल्म प्रदर्शनपछि अन्ततिमतिर उनको नाम अटाइएको थियो। अधिकांश फिल्ममा त्यस्तै नै हुन्छ उनीसँग। उनी त्यसैमा चित्त बुझाउँछन्।

'काम गर्नुअघि मात्रै फुर्क्याउने हुन्। काम गर्नुअघि मात्रै मख्ख पार्छन्,' उनले तीतो अनुभव सुनाए।
धार्मिक फिल्ममा ड्रेस डिजाइन पनि गर्छन् भट्टराई। 'पृथ्वीनारायण शाह', 'किर्तिपुर' फिल्ममा उनले भेषभुषा निर्देशनको काम गरे। कलाकारको चरित्र हेरेर भेषभुषा बनाउने काममा माहिर थिए भट्टराई। भन्छन्- 'क्यारेक्टर हेरेर मौलिक ड्रेस डिजाइन गर्थें।'

आफ्नो काममा सधैं नेपालीपन खोज्छन् उनी।

फिल्म यात्रा…
उनी बैतडीका हुन्। अरुको लहलहैमा लागेर सानैमा भारत छिरें। त्यो बेला कमाउनका लागि सबै भारत नै ताक्ने गर्थे। अरुको पछि लागेर आफू पनि भारत पुगेको भट्टराई बताउँछन्।

'गाउँका दाजुभाइ भारत जान्थे। एकदिन भारत जाने दाइहरुको पिछा गरें। उनीहरुले नदेखुन् भनेर लुकलुकी पछ्याएँ। आधाबाटो हिँडेपछि अन्तत: बीच बाटोमा उनीहरु मलाई देखे। त्यत्रो टाढाको बाटो फर्काउने अवस्था पनि थिएन। उनीहरुले मलाई सँगै भारत लगे,' गाउँ छोड्दाका समय सम्झँदै उनले भने। दु:ख सुख गरेरै भारत बसें।

वृन्दावन स्टूडियोमा आर्ट सिके। त्यसपछि आफ्नो कला देखाउने सोचले १८ वर्षको उमेरमा काठमाडौं फर्किए। २०३२ साल तिर रेडियो नेपालमा देउडा गीत पनि गाउँथे उनी। उनले देउडा गीतको एल्बम 'चैतवा काफल' पनि निकालेका छन्। 'हितको कली' एल्बममा उनका ६ वटा गीत समावेश छन्।

'सन्तान' उनले गरेको पहिलो नेपाली फिल्म थियो। विस्तारै फिल्महरुमा उनले आफ्नो कला देखाउँदै गए। आफूले पढेरभन्दा पनि परेर सिकेको बताउँछन् भट्टराई। 'कोहि भन्छन् नि पढेर कि त परेर सिकिन्छ। मैले यी सबै परेर नै सिकें। त्यो बेला नेपाली फिल्ममा मौलिकता देखाउँ भनेर आएको हो म,' उनी सम्झिन्छन्।

कामप्रतिको लगनशिलता अनि मिहिनेतले उनी एकपछि अर्को फिल्ममा कला निर्देशकको रुपमा काम गर्दै गए। ‘झोला’ फिल्ममा पनि उनले नै भेषभुषा डिजाइन गरेका हुन्।

फिल्म क्षेत्रमा अहिले त थुप्रै डिजाइनर भित्रिएका छन्। भट्टराईको पालामा डिजाइनरले धेरै दु:ख पाउँथे। 'माथि सारंगकोट जानुपर्‍यो भने एउटा ठाडो बक्सा नाम्लो लगाएर बोक्नुपर्थ्यो। १ क्वीन्टल नै बोकेरै लानुपर्थ्यो,' उनले पूराना दिन सम्झे, 'कलाकारले ड्रेस जहाँ पायो त्यहिँ फ्याकिँदिन्थे। अनि हामीले नै त्यसको जिम्मेवारी लिनुपर्थ्यो। हामीले त यो क्षेत्रका लागि धेरै गर्‍या हो नि। त्यस्तो दु:ख गरेर आएका हौं हामी।'

'जुँगे' उपनाम
स्वर्गीय पत्रकार पुष्करलाल श्रेष्ठले फिल्म 'माया पीरती'को बेलामा उनको अन्तर्वार्ता लिएर 'जुँगे भट्टराई' शीर्षकमा त्यो छापिदिएका थिए। त्यसयता उनलाई निर्माता, निर्देशकदेखि सबैले यही उपनामले बोलाउन थाले। उनी पनि आफ्नो नयाँ उपनामले परिचित हुँदा दंगै पर्थे। किनकि उनलाई पनि आफ्नो शान जुँगा मै बसेको भान थियो।

त्यो बेला प्राविधिकका रुपमा खासै कमाई हुन्थेन। जति पाउँथे, त्यसमा चित्त बुझाउनु पर्थ्यो। भट्टराई आफ्नो कमाइमा खुशी थिए। 'खुब खट्थें, धेरै देलान् भन्ने आशैआशले। तर त्यो आशा निराशामा परिणत हुन्थ्यो,' उनले भने।

एक त कम पारिश्रमिक त्यस माथि पनि समयमा नआइदिँदा धेरै समस्या पर्थ्यो भट्टराई र उनी जस्ता अन्य प्राविधिकलाई। तर उनले आफ्नो कला प्रस्तुत गरेर काठमाडौंमा डेरा भाडा तिरेर तीन छोरा एक छोरी हुर्काए। अहिले उनका छोराहरु पनि फिल्मका विभिन्न प्रप्स निर्माणमा उनलाई सघाउँछन्।

काम गरेका केही फिल्मबाट अझै उनले पारिश्रमिक पाएका छैनन् रे। लगभग १ लाख ८७ हजार रुपैयाँ त उठाउनै बाँकी रहेछ।

'कोसँग माग्ने। एउटै भए त सजिलो हुन्थ्यो नि। त्यसलाई त बाँधेर लग्न पनि सजिलै हुन्थ्यो। जहिल्यै पछि आइज भनेर फर्काइदिने हो सबैले। अहिले त माग्न पनि छोडें। मलाई धेरै घाटा लाग्यो। त्यो सबै पैसा पनि माया मारें। अब बुढेसकालमा तिनीहरुलाई गाली गर्न पनि छोडें,' उनी केही निराश र आक्रोसित सुनिए।

पैसा मात्रै होइन कला निर्देशकलाई त्यो बेला मेकअप आर्टिस्टलाई दिए जतिको महत्व पनि नदिने गरेको उनको अनुभव छ। 'अहिले त बल्ल नाम भए पनि दिन थालेका छन्,' उनले भने।

कच्चा पदार्थ
जुँगे भट्टराई सामाग्री बनाउँदा नेपालमै पाइने कच्चा पदार्थलाई प्राथमिकता दिन्थे। यस्ता कच्चा पदार्थमा कहिले त उल्टै उनको गोजीबाट रकम खर्च हुन्थ्यो। कहिले त त्यो सामाग्री बनाएर कमाउने रकमभन्दा पनि बढी। सामाग्रीको अन्तिम मौलिक दृश्यले भने उनको खर्च बिर्साइदिन्थ्यो।

कतै पनि सम्भव नभएको सामाग्री अन्तत: उनी कहाँ नै बन्छ। 'पूरै काठमाडौं घुमेर आउँछन्। अरुले यो चिज बन्दैन भनेपछि सबै आउने म कहाँ नै हो,' उनले भने।

पछिल्लो समय प्रदर्शनमा आएको फिल्म 'अमेरिकन बोइज'मा प्रयोग भएको जरायो अनि बाघको छालामा उनको निकै मिहिनेत लागेको थियो। हात्तीको दारा र गैंडाको खागमा पनि उत्तिकै मिहिनेत पर्‍यो। फिल्मको सुटिंग सकेर जरायो र बाघको छालालाई त विदेशीले लगेको उनी बताउँछन्। टेलिश्रृङ्खला 'जिरे खुर्सानी'मा अभिनयसमेत गरेका उनले गुरुकुल नाटकघरका लागि श्रीपेच अनि गुड्ने परेवा बनाइदिएका थिए। एकसमय उनी टेलिभिजनको सबै लोगो पनि बनाउँथे।
कला निर्देशककै रुपमा स्थापित भए पनि उनमा अभिनय गर्ने हुटहुटी बाँकी छ।

प्रकाशित : पुस ७, २०७६ ०९:५२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×