कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपा बैठकका १३ रोचक प्रसंग

महिनाको एक मिनेट समय मागदेखि महासचिवलाई घण्टीको जिम्मासम्म 
बबिता शर्मा

काठमाडौँ — एक वर्षपछि बसेको सत्तारुढ नेकपाको स्थायी समिति बैठकमा थरीथरीका दृश्य देखिए । मंसिर २९ मा सुरु भई पुस ६ गते सकिएको नेकपा बैठकका यस्ता रहे १३ रोचक प्रसंग । 

नेकपा बैठकका १३ रोचक प्रसंग

मंसिर २९ देखि मंसिर २९ सम्म


२०७५ मंसिर २९ गतेपछि नेकपाको स्थायी समिति बैठक २०७६ मंसिर २९ मै बस्यो । अर्थात ठीक एक वर्षमा बैठक बस्यो । एक वर्षपछि स्थायी समितिका सदस्य एकै ठाउँ भए । बैठक बस्न ढिला भएकोमा राजनीतिक प्रतिवेदनमा गल्ती नै स्वीकार गरियो ।


त्यसैले राजनीतिक प्रतिवेदनको सुरुमै लेखियो, ‘स्थायी समिति बैठकका बीचको लामो दूरीले विचारको गति र सिर्जना एवं विधिको पालना र परिमार्जनका प्रश्नमा रहेको गम्भीर कमजोरी र विचलनको संकेतका रुपमा आत्मसात गरी भविष्यमा यसप्रकारका कमजोरी दोहोरिन नदिने प्रतिबद्धतासहित यो बैठकमा प्रवेश गर्न आवश्यक छ ।’ आइतबारबाट सुरु भएको बैठक आइतबार नै समापान भयो ।


ओली अनुपस्थित पहिलो बैठक

दुई अध्यक्ष रहेको नेकपामा पुष्पकमल दाहालले अध्यक्षता गरेको स्थायी समितिको यो पहिलो बैठक बन्यो । मंसिर ४ गते दुइ अध्यक्षको जिम्मेवारीसँगै दाहालले मंसिर १८ र २३ गतेको सचिवालयको बैठकको अध्यक्षता गरेका थिए । तर, स्थायी वा केन्द्रीय समितिको बैठकको अध्यक्षता गर्न पाएका थिएनन् । कार्यकारी भूमिका पाउनु अगाडि भदौ ९ गते दाहालले आफ्नो अध्यक्षतामा सचिवालय बैठक बसालेका थिए, त्यसबेला अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर थिए । दाहालले अध्यक्षता गरेको यो स्थायी समितिमा स्वास्थ्यका कारण प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएनन् ।


झलनाथ पाँच मिनेट ढिला

मंसिर २९ गते स्थायी समितिको बैठक सुरु भएपछि अध्यक्ष दाहालको दायाँतिरको कुर्सी खाली रहेको तस्बिर सार्वजनिक भयो । धेरैले अनुमान गरे, अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कुर्सी खाली रह्यो । तर, खासमा त्यो कुर्सी तेस्रो बरियताका नेता झलनाथ खनालको थियो । बैठक औपचारिक रुपमा सुरु हुनुभन्दा अगाडि सञ्चारमाध्यमलाई तस्बिर र भिडियो खिच्न दिइयो । त्यतिन्जेल खनाल बैठकस्थल पुगेका थिएनन् । र, कुर्सी खाली देखियो । बैठक सुरु भएको पाँच मिनेटपछि नेता खनाल पुगेका थिए ।


वामदेव पहिला बोले

पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन राखेको अर्को दिन वामदेव गौतम बोले । सचिवालयका अन्य सदस्यहरु बैठकको अन्तिम–अन्तिमतिर बोले पनि गौतमचाहिँ दोस्रो दिन नै बोले । उनले आफ्नो धारणा लिखित रुपमै राखेका थिए । पार्टी प्रतिवेदनमा ‘सम्मानीय’ शब्द प्रयोग भएकोमा गौतमले आपत्ति जनाएका थिए ।


दाहाल सहयोगीसँग रिसाए

बैठकको चौथो दिन दाहाल आफ्ना सहयोगीसँग रिसाए । सञ्चारमाध्यममलाई एकैपटक भिडियो र तस्बिरका लागि बैठक कक्षमा ल्याउनुको साटो पालैपालो भित्र पसाएको भन्दै उनी रिसाएका थिए ।


ईश्वर बोल्दाबोल्दै अरु उठे

पुस ३ गते सचिवालयका सदस्यहरु बोल्नेक्रममा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल पनि बोले । नेपाल ट्रस्टको अध्यक्षसमेत रहेका पोखरेलले गोकर्ण रिसोर्टको जग्गा कानुन अनुसार यती समूहलाई दिइएको दाबी गरे । तत्कालै माधवकुमार नेपाल, भीम रावल, रघुजी पन्त, पम्फा भुसाललगायतले आपत्ति जनाए । पोखरेल बोल्दाबोल्दै अरु नेता उठेर प्रश्न गरे, ‘पुरानो सम्झौता सकिन ६ वर्ष बाँकी छँदै किन नवीकरणको हतार भयो ?’ पोखरेलले फेरि पनि कानुन अनुसार नै भएको छ भनेर जवाफ दिए । पोखरेलले बोल्दा–बोल्दै नेपाललगायतका नेता उठेर आपत्ति जनाएपछि उनी अलमलमा परेका थिए ।


दुई बुँदेको तरंग

नियमित कार्यसूची र छलफलमा केन्द्रित स्थायी समितिको बैठक नेकपा–राजपा दुई बुँदे सम्झौताले पनि तात्यो । पुस २ गते साँझ नेकपा र राजपाबीच राष्ट्रियसभाको चुनावमा तालमेल गर्ने र राष्ट्रिय महत्वका विषयमा सहकार्य गर्दै जाने सहमति भएको थियो । अर्को दिन स्थायी समितिको बैठकको सुरुमै महत्वपूर्ण बैठक चलेका बेला पार्टीभित्र छलफल नगरी राजपासँग किन रातारात सहमति भयो भनेर नेताहरुले दाहाललाई प्रश्न गरे । यस्तो प्रश्न गर्नेमा भीम रावल, रघुजी पन्त, अष्टलक्ष्मी शाक्यलगाएत थिए । रावलले त प्रश्नसँगै कविता नै वाचन गरे ।


महिनाको एक मिनेट समय पाउँ

सकेसम्म दुई दिनमै बैठक सकाउने नेकपाको तयारी थियो । यसका लागि बैठकमा पेस भएका पाँच एजेन्डामा दस–दस मिनेट बोल्न दिने नेतृत्वको योजना थियो । तर, सदस्यहरुले एक बर्षपछि बसेको बैठकमा दस मिनेटमा धारणा राख्न अपुग हुने बताए ।


महिनाको एक मिनेट दिए पनि १२ मिनेट त यसै हुन्छ, सदस्यहरुको भनाइ थियो । खुलेर कुरा राख्न पाउँ भन्ने माग भएपछि राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, केन्द्रीय समिति बैठक, नेपाल–भारत सीमा विवाद र विविध गरी पाँच एजेन्डामा सदस्यहरुलाई बोल्न बीस मिनेट समय दिने निर्णय भयो ।


महासचिवलाई घण्टीको जिम्मा

हरेक सदस्यले बीस मिनेटको सयम पाएपछि त्यसको हिसाबकिताबको जिम्मा महासचिव विष्णु पौडललाई आयो । महासचिव पौडेलले हरेक २० मिनेटमा घण्टी बजाएर समय सकिएको सूचना दिन्थे । घण्टी बजेपछि सदस्यहले आफ्नो धारणा टुंगाउनु पर्दथ्यो ।


धेरै नेता ढिला आएपछि दाहाल कड्कीए

पाँचौ दिनको बैठक ढिला गरी सुरु भयो । किनकी स्थायी समिति रोकेरबीचमै सचिवालय बैठक बसेको थियो । ढिला गरी सुरु भएको बैठकमा दश नेता गायब थिए । यद्यपि ती नेताहरु कहाँ छन् र कोसँग छलफल गरिरहेका छन् भन्ने सूचना अध्यक्ष दाहाल र महासचिव पौडेलसँग पुगिसकेको थियो । दस नेतामध्ये एकजनाले दाहाललाई सूचना दिएका थिए । ४५ सदस्यीय स्थायी समिति मध्ये एकै पटक दस जना नेता बैठक हलमा प्रवेश गरे । बैठकमा सहभागी अरु नेताले अचानक एक हूल नेता हलमा पसेको देखेर अचम्म माने । तर, अध्यक्ष दाहाल भने कड्किए । र ती नेताहरुलाई सिधै प्रश्न सोधे, ‘तपाईंहरु बैठकमा किन ढिला आउनुभयो ? कहाँ जानुभएको थियो ? मलाई जानकारी भएअनुसार राष्ट्रपति कहाँ जानुभएको थियो । यसबारे अध्यक्षलाई जानकारी दिनु पर्दथ्यो कि पर्दैनथ्यो ? बैठक चलिरहेको छ, एकैपटक यति नेता जाँदा औपचारिक रुपमा नभनी हिँड्ने ? यो के हो? यो विधिको कुरा हो कि हैन?’

दाहालले एकपछि अर्को प्रश्न तेर्साएपछि राष्ट्रपतिलाई भेट्न गएकामध्ये प्रदीप ज्ञवालीले ढिला भएकोमा र अध्यक्षलाई जानकारी नदिएकोमा माफी मागे । ज्ञवालीले माफी मागेपछि दाहालले नियमित कार्यसूचिमै बैठक अगाडि बढाउन खोजे । तर, अरु नेताले भने मानेनन् । ज्ञवाली बोलेलगत्तै भीम रावल, अष्टलक्ष्मी शाक्य, रघुजी पन्तलगाएतका नेताहरु बैठकमा कड्किए । ‘जे मन लाग्यो त्यही गर्न पाईन्छ राष्ट्रपतिले ?’ रावलले प्रश्न तेर्साए । त्यतिबेला बैठकमा निकै हल्लाख्ल्ला भयो । र, पछि अध्यक्ष दाहालल नै हस्तक्षेप गरे र नियमित एजेण्डा तर्फ ध्यान केन्द्रित गराएका थिए ।

बैठकको अन्तिम दिन रावलको ‘नोट अफ डिसेन्ट’

बैठकको अन्तिम दिन अर्थात आइतबार बैठक सुरु भएको केहीबेरमै रावलले मेरो ‘नोट अफ डिसेन्ट’ छ भनेर बोल्ने समय मागे । उनले ‘नोट अफ डिसेन्ट’ छ भन्दा अरु सदस्यले अचम्म मानेका थिए ।

रावलले समय मागेपछि उनलाई बोल्न दिइयो । र उनले १० बुँदे ‘नोट अफ डिसेन्ट’ पढेर सुनाए । त्यसपछि दाहाल बोले । ‘नोट अफ डिसेन्टमा सबै सहमत भएको र मतभेद नै नभएको कुरा पनि लेख्नु भएछ । त्यसलाई ‘नोट अफ डिसेन्ट’ भन्न मिलेन । दोस्रो, तपाईंहरुले उठाएका केही विषयमा छलफल गर्दैछौं । सचिवालयमा पनि कुरा गर्छौं । केन्द्रिय समिति बैठकसम्म पुग्दा तपाईंले उठाएका विषयमा कुनै पहलकदमी भएन भने छुट्टै कुरा । तर, अहिले चाहीँ किन नोट अफ डिसेन्ट भनेर राख्नु पर्‍यो ?’ दाहालले रावललाई भने ।

त्यसपछि रावलले आफ्नो ‘नोट अफ डिसेन्ट’ लाई दस बुँदे सुझावको रुपमा अध्यक्ष दाहाललाई बुझाएका थिए । उनले राष्ट्रियता र १९५० को सन्धिलगाएतका विषय नोट अफ डिसेन्टमा लेखेका थिए ।

घनश्यामको त्यो प्रश्न

बैठकको अन्तिम दिन बैठक चलिरहेको बेला मन्त्री घनश्याम भुसाल जुरुक्क उठे । र एउटा प्रश्न गरे । ‘केही पहिला नै सचिवालयवालयले गरेको निर्णय भइहाल्यो । बाँकी विषय केन्द्रीय कमिटीमा लैजाने भइहाल्यौं । स्थायी समितिको बैठकले एउटामात्रै निर्णय गर्‍यो, पार्टीको आइडी कार्ड छाप्ने र पार्टी सदस्यताको पत्र छाप्ने । यत्ति हैन त ?’

भुसालले यो प्रश्न गर्दा बैठकमा अन्य नेताले अचम्म मानेका थिए ।

भुसाललाई दाहालले जावाफ दिए, ‘यसरी बैठकलाई ‘मिनिमाइज’ गर्ने काम नगरौं न । हामी सबैले चाहेको कुरा अहिले नै पूरा हुँदैन । यो प्रस्थान विन्दु हो ।’ दाहालले भुसाल र रावललाई जावाफ दिएपछि प्रतिवेदन पारित भएको थियो ।

कुर्सी साना भए

एक हप्ता चलेको बैठक हलमा रहेका कुर्सीमा पनि केही नेताहरुले आपत्ति जनाएका थिए । साना कुर्सी रहेको र दिउँसभरी बस्दा असहज भएको भन्दै कार्यालयका कर्मचारीलाई केही नेताहरुले गुनासो गरेका थिए । विद्यार्थी बस्ने जस्ता कुर्सीमा बस्न असहज भएको र स्वास्थयमा समस्या आएको भन्दै नेताहरुले ठुला कुर्सीको माग गरेका थिए । आगामि बैठकमा ठूला कुर्सी हुने आश्वासन ती नेताहरुले पाएका छन् ।

प्रकाशित : पुस ६, २०७६ २१:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?