महाकाली पुल निर्माणमा अन्योल

पुल निर्माण भए भारतको पिथौरागढ जिल्लाको धारचुला तहसिलअन्तर्गत तल्लो छारछुम र नेपालको महाकाली नगरपालिकामा क्षेत्र जोडिने
मनोज बडू

(दार्चुला) — दार्चुलामा नेपाल–भारत जोड्न महाकाली नदीमा निर्माण हुने मोटरेवल पुल निर्माणका लागि ठाउँ छनोटमा फेरि अन्योल भएको छ । प्रस्तावित महाकाली नगरपालिका–८ को सुरकाँडालाई भारतीय लोक निर्माण विभागले ठाउँ उपयुक्त नभएको बताएपछि निर्माण योजना अघि बढाउन अन्योल भएको हो ।

सुरकाँडा र तल्लो छारछुम क्षेत्रमा १५ मिटरसम्म खन्दा चट्टानी भाग नभेटिएकाले कमजोर भूभाग भन्ने भारतीय प्राविधिकको प्रतिवेदन छ । भारतीय लोक निर्माण विभाग अस्कोटले दार्चुला जिल्ला प्रशासनलाई पत्राचार गर्दै अन्य उपयुक्त ठाउँ खोज्न अनुरोध गरेको छ । पुरानो प्रस्तावित ठाउँमा पुल निर्माणका लागि भारतीय पक्षले गत वर्ष ठेक्का प्रक्रियाअघि बढाएको भए पनि निर्माणको काम थालिएको थिएन ।


‘पुल बनाउने ठाउँमा मुनि चट्टान भेटिए त्यो भूभाग बलियो हुने भन्ने तर्क उहाँहरूको हो,’ सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले भने, ‘नेपाल र भारतको प्राविधिक टोलीले दुई/तीन ठाउँ हेरेको छ । हेरेका नयाँ ठाउँको प्रतिवेदन हामीलाई उपलब्ध भइसकेको छैन ।’ भारतीय पक्षले नेपालको साकार तथा भारततिरको बलुवाकोट जोड्ने पुलमा जोड दिएको सुन्नमा आएको उनले बताए ।


नेपाल–भारतका प्राविधिकको टोलीसँगै ठाउँ अवलोकन गर्न गएका महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टका अनुसार भारतले आफ्नोतिर अनुकूल हुने ठाउँ हेर्दै छ । साकारमा हाम्रोतर्फ ठाउँ अभाव भएकाले दुवैतिर पायक पर्ने ठाउँ खोज्न सुझाएको उनले बताए । ‘भारतलाई पायक पर्ने साकारमा नेपालतर्फ चट्टान छ । सडक बनाउने पनि ठाउँ छैन,’ उनले भने, ‘दुवै देशलाई पायक पर्ने असिकाडाको रामझिला बगडनजिक निर्माण भए राम्रो हुनेछ । यस क्षेत्रको वारिपारि पर्याप्त ठाउँ छ ।’ पुलसँगै अन्य संरचना निर्माण गर्नका लागि फराकिलो ठाउँ चाहिने भएकाले नेपालले उक्त ठाउँलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।


यसअघि गत कात्तिक १७ मा तत्कालीन उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र भारतीय राजदूतले उक्त क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए । भारतले एकतर्फी रूपमा उक्त ठाउँको नक्सा र फाइल तयार गरेको बुझिएको प्रशासन स्रोतले जनाएको छ । सुरुमा नेपाल–भारत संयुक्त टोलीले दार्चुला सदरमुकाममाथि लास्कु तथा भारतको खोतिला, सदरमुकाम नजिककै वीरेन्द्र क्षेत्र, नमस्कार नजिक पनि हेरेको थियो । ती क्षेत्रमा भारततर्फ ठाउँ अभाव भन्दै अन्य स्थान हेरिएको खलंगाका स्थानीय नरेश जोशीले बताए । ‘एकपटक ठेक्का प्रक्रियामा गइसकेको सुरकाडामा पनि पुल नबन्ने भएपछि अन्योल छ,’ उनले भने । पछिल्लोपटक भारतले एकतर्फी रूपमा वारि साकार र पारि बलुवाकोट क्षेत्रलाई प्रस्ताव गरेकाले निर्माण योजनामा ढिलाइ हुने सम्भावना रहेको उनले बताए ।


भारतीय लगानी र प्राविधिक सहयोगमा निर्माण हुने भनिएको नेपाल–भारत जोड्ने महाकाली नदीमाथिको पुलको योजना लोक निर्माण विभागले अघि बढाउने जिम्मेवारी छ । ‘भारतले सुरुदेखि आफूलाई पायक पर्ने ठाउँ खोजिरहेको छ,’ जोशी भन्छन्, ‘दुवै देशको पायक पर्ने ठाउँ छनोट हुनुपर्छ ।’


पहाडी क्षेत्रमा महाकाली नदीमाथि नेपाल–भारत जोड्ने पहिलो पुल बनाउने उक्त योजना हो । अंग्रेजको शासनकालमा तराईको वनबासामा महाकालीमा पुल बनाइएको थियो । दशकअघि टनकपुर र ब्रह्मदेव जोड्ने अर्को पुल पनि निर्माण गरिएको थियो । पहाडी क्षेत्रमा नदीमाथि पुल नहुँदा वारिपारि आउजाउ सहज छैन । पुल निर्माणले भारतको पिथौरागढ जिल्लाको धारचुला तहसिलअन्तर्गत तल्लो छारछुम र नेपालको महाकाली नगरपालिकामा क्षेत्रलाई जोड्नेछ ।

प्रकाशित : पुस ६, २०७६ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्

१३ औं काठमाडौं म्याराथन : नरेन्द्र र कान्छीमायाको शैली

ध्रुव तुलाधर

काठमाडौँ — नरेन्द्रसिंह रावलले पहिलो सहभागितामै १३ औं काठमाडौं म्याराथनको उपाधि जित्दा कान्छीमाया कोजुले उपाधिमाथि ह्याट्रिक गरेकी छन् ।

दशरथ रंगशालामा शनिबार आर्मीका धावक नरेन्द्रले २ घण्टा ३३ मिनेट १० सेकेन्डबाट दूरी पार गर्दै काठमाडौं म्याराथनमा स्वर्ण जिते । बैतडीका यी २३ वर्षे धावकले अनुभव लिनका लागि पहिलोपल्ट म्याराथन दौडेका थिए । उनले जितपछि भने, ‘हाफ म्याराथन पहिला पनि दौडेको थिएँ । म्याराथन दौडन्छु भनेर ट्रेनिङ गरेको चाहिँ ४–५ महिनामात्र भयो । अनुभव बटुल्नलाई यो प्रतियोगिता दौडेको हुँ । जितें, एकदमै खुसी लाग्यो ।’

म्याराथनमा आर्मीकै वर्चस्व हुँदा वेदबहादुर सुनुवारले २ घण्टा ३४ मिनेट २० सेकेन्ड र ज्ञानप्रसाद भट्टराईले २ घण्टा ३४ मिनेट ४५ सेकेन्डमा दौड पूरा गर्दै रजत र कांस्य पदक जिते ।

महिलातर्फ भेट्रान धाविका कान्छीमायाले लगातार तेस्रोपल्ट उपाधि जितेकी छन् । एपीएफकी उनले २ घण्टा ५७ मिनेट २७ सेकेन्डमा दौड पूरा गरिन् । समग्र काठमाडौं म्याराथनमा उनको यो पाँचौं उपाधि हो । झन्डै एक वर्षको अन्तरालपछि उनी प्रतियोगितामा फर्केकी हुन् । बुवाको निधन भएका कारण कान्छीमायाले आठौं राष्ट्रिय खेलकुद पनि छाडेकी थिइन् । निरन्तर मिहिनेत गरियो भने बढ्दो उमेरमा पनि सफलता पाउन सकिन्छ भन्ने कुरा उनले प्रमाणित गरेकी छन् । भनिन्, ‘लामो विश्रामपछि पनि सफलता पाएको छु । एकदमै खुसी लाग्यो । त्यसमाथि जितमा ह्याट्रिक पनि भयो । थप खुसी मिल्यो,’ ३७ वर्षीया धाविकाले भनिन्, ‘म आजको टाइमिङप्रति पनि सन्तुष्ट छु ।’

उनको धेरै पछाडि रहेका सरिता वासी र निर्जला ताम्राकार दोस्रो र तेस्रा भए । आर्मीकी सरिताले ३ घण्टा १९ मिनेट ०७ सेकेन्ड र निर्जलाले ३ घण्टा ४७ मिनेट ४५ सेकेन्डमा दौड सिध्याएका थिए । निर्जला साइक्लिङकी पूर्व राष्ट्रिय च्याम्पियन नै हुन् ।

दुवै म्याराथन विजेताले ५० हजार, दोस्रोले २० हजार र तेस्रोले १५ हजार पुरस्कार पाए । विभिन्न देशमा हुने सिटी म्याराथनको अवधारणामा आयोजित यस म्याराथन १३ विधामा भएको थियो । ५ हजार जनाले भाग लिने दाबी गरिए धेरै कमको सहभागिता थियो ।

हाफ म्याराथनमा पुरुषतर्फ आर्मीका राजन रोकायले १ घण्टा १० मिनेट २६ सेकेन्डबाट स्वर्ण जिते । १३ औं एसियाडमा ५ हजार मिटर दौडमा कांस्य जितेका हरि रिमालले पनि १ घण्टा ११ मिनेट १३ सेकेन्डबाट दोस्रो स्थान भेटे । १ घण्टा ११ मिनेट ०२ सेकेन्डमा दूरी पार गरेका रामजी बस्नेत तेस्रो भए । हरि र रामजी पनि आर्मीकै हुन् ।

महिलातर्फ पूर्णलक्ष्मी न्यौपानेले १ घण्टा २८ मिनेट ०३ सेकेन्डबाट स्वर्ण जितेकी छन् । आर्मीबाट खेल्ने जुम्लाकी यी धाविका मंसिरमा नेपालगन्ज म्याराथनमा पनि विजेता बनेकी थिइन् । आर्मीकी सानुमाया कार्कीले १ घण्टा ३० मिनेट ०१ सेकेन्डबाट दोस्रो र नेपाल पुलिसकी रेखा विष्टले १ घण्टा ३१ मिनेट ४० सेकेन्डबाट तेस्रो स्थान भेटेका थिए । यस विधाका शीर्ष तीन स्थानका विजेताले २०, १३ र ७ हजार रुपैयाँ पुरस्कार पाए ।

खुला ५ किलोमिटर दौडमा एपीएफका अजितकुमार यादव र आर्मीकी सरस्वती भट्टराई विजेता छन् । अजितले १७ मिनेट १९ दशमलब ९१ सेकेन्डबाट दौड जिते । एसियाली जुयिनर च्याम्पियनसिपका पदकधारी अजितले स्वस्थ्य अवस्थाका कारण १३ औं साग भने गुमाएका थिए । उनले अन्तिम समयमा क्याम्पबाट छाडेका थिए । आर्मीका गजेन्द्र राई (१७ मिनेट ३०.६३ सेकेन्ड) दोस्रो र शिवबहादुर रायमाझी (१७ मिनेट ५३.२२ सेकेन्ड) तेस्रो भए ।

सरस्वतीले उपाधि जित्दा २२ मिनेट ०३.४१ सेकेन्ड लगाइन् । पुलिसका विर्सना कुमालले २२ मिनेट ०९.३० सेकेन्डबाट दोस्रो र काजल विष्टले २३ मिनेट ३१.१६ सेकेन्डबाट तेस्रो स्थान हासिल गरे ।

५ किलोमिटर मास्टरमा धर्म महर्जन विजेता भए । भीम गुरुङ दोस्रो तथा कपिल भट्टराई तेस्रो भए । महिलामा अनु चित्रकार विजेता भइन् ।

ह्विलचियर (३ किमि) पुरुषमा कृष्णराज चौधरी (१५ मिनेट १९.८४ सेकेन्ड) विजेता भए । सन्देश चौधरी दोस्रो र नरबहादुर दाहाल तेस्रो भए । सोही विधामा महिलातर्फ यामी झाँक्रीमगरले २१ मिनेट ०८.७६ सेकेन्डबाट उपाधि जितिन् । शर्मिला थोकर दोस्रो र ज्योति अर्याल तेस्रो भए ।

५ किमि छात्रातर्फ विजेश्वरी ज्ञानमन्दिर सैनिक माविका विद्यार्थी हाबी भए । स्वेच्छा बलामी, रचना रानामगर र सुनिता श्रेष्ठ पहिलो तीन स्थानमा विजयी भए । छात्रतर्फ गोल्डेन फ्युचरका समिर रसाइलीले स्वर्ण, नेपालय एजुकेसन अमृत बोटेले रजत र एभरेस्ट बोर्डिङका नारायणकुमार कसवाले कांस्य जिते । प्रतियोगितामा पहिलोपल्ट समावेश इभेन्ट फेमिली रन (३ किमि) मा अवस्ती कार्की, भगवान कार्की र अप्सरा महतको टिम विजयी भयो । दोस्रो स्थान प्राप्ति आचार्य र चाँदनी कार्की तथा तेस्रो स्थान लेगिना घिमिरे र सुशीला तिमल्सिनाले हात पारे ।

रुटप्रति गुनासो
काठमाडौं म्याराथनको रुट उपत्यकाका तीन जिल्लालाई जोड्ने उद्देश्यले तयार पारिएको थियो । त्यसले गर्दा रुट सहज थिएन । रुटमा खटाइएका स्वयंसेवकको असावधानीका कारण आफूहरू अल्मलिनुपरेको केही खेलाडीले गुनासो पोखेका छन् । अनुभवी म्याराथन धावक भूमिराज राई नै अल्मलिए । गौशालाबाट सिधै रातोपुल हुँदै फर्कनुपर्नेमा चाबहिलतर्फ देखाइँदा झन्डै ४ किमि बढी दौडनुपरेको उनको गुनासो थियो । उनले छैटौं स्थानमा रहेर दौड सकेका थिए । अन्य खेलाडीहरूले पनि रुट र ट्राफिक व्यवस्थापनप्रति असन्तुष्टि जनाएका थिए ।

त्रिपुरेश्वर चोकबाट सुरु म्याराथन दौड थापाथली, पाटनढोका, चाकुपाट, यूएन पार्कको नयाँ खोलाको पुल, शंखमुल, नयाँ बानेश्वर, तीनकुने, जडीबुटी, गठ्ठाघर, सूर्यविनायक चोकबाट राममन्दिर, टौमढी, सा:कोठा, जिप्रका भक्तपुर, औद्योगिक क्षेत्र, पुरानो थिमि, भीमसेन मन्दिरको दाहिनेबाट थिमि बोडे सडक हुँदै परीक्षा नियन्त्रण कार्यालय, पेप्सीकोला, जडीबुटी, तीनकुने, एयरपोर्ट, गौशाला, पशुपति मार्ग हुँदै रातो पुल, हिमाल हस्पिटल, नक्साल प्रहरी प्रधान कार्यालय, भाटभटेनी, बालुवाटार, नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट देब्रे हुँदै लैनचोर, नारायणहिटी दरबारबाट बायाँ दरबारमार्ग, घण्टाघर, भद्रकाली, सहिद गेट, दशरथ रंगशालाको ट्र्याकमा एक फन्को लगाएपछि टुंगिएको थियो ।

कद सानो, लक्ष्य ठूलो
पहिलोपल्ट काठमाडौं म्याराथन दौडन आएका दमक झापाका तेजेन्द्र प्रधान दूरी पार गर्न पाएकोमा औधी खुसी देखिए । म्याराथन आयोजक निलेन्द्रराज श्रेष्ठको निम्तामा आएका उनले दौड पूरा गर्नेबित्तिकै वैकुण्ठ मानन्धरको स्याबासी पाए । कीर्तिमानी धावक मानन्धरको स्यावासीले तेजेन्द्रको मनोवल बढेको छ । उनी सानो कदका छन् । उमेर हेर्दा सानै देखिन्छ । त्यसैले ‘यति सानो फुच्चेले पनि म्याराथन पूरा गरेको’ भन्नेहरू पनि रहे । तर उनको उमेर त २३ भइसकेछ ।

२०७२ सालमा धरान–दमकको ७२ किलोमिटर दौडमा विजेता बनेपछि उनलाई यतैतर्फ लाग्ने हुटहुटी चल्यो । त्यसपछि उनी लामो दूरीको दौडतर्फ आकर्षित हुन थाले । अन्नपूर्ण हन्ड्रेड, अन्नपूर्ण म्याराथन, सिन्धुपाल्चोक अल्ट्रा रेसलगायत थुप्रै प्रतियोगितामा सहभागिता जनाइसकेका छन् । गत महिना म्याराथन दौडन नेपालगन्ज पनि पुगे । त्यहाँ आठौं स्थान रहे । यसपालि यहाँ सातौं भए । उनले ३ घण्टा ०७ मिनेट ४० सेकेन्डमा दूरी पार गरेका थिए । ‘दूरी पार गरें, एक महिनामा एक स्थान सुधार गरें । एकदमै गर्व लागेको छ,’ उनले भने, ‘यसमै लाग्ने सोच छ । दौडबाट नाम कमाउने लक्ष्य हो । तर घरको आर्थिक अवस्थाले गाह्रो छ । कुनै जागिर छैन तैपनि दौड छोड्दिनँ । ’

दौड्दा लगाएको जुत्ता देखाउँदै भने, ‘यो जुत्ताले यसपालि धेरै राम्रो भयो । सजिलो भयो दौडनलाई । एकजना डाक्टर सा’बले किन्दिनुभएको हो, उहाँलाई धन्यवाद । केल्मेको रहेछ १० हजार पर्ने । मैले किन्नुपरेको भए कहाँ सक्थें र ? सामान्य डाइट खान त गाह्रो छ ।’ उनले आफूले लगाएका सबै कपडाहरू पनि विभिन्न व्यक्तिले किनिदिएको सुनाए ।

खेलाडी बन्न विभागतिर जाने सोच छैन त ? सोचाइ त छ तर बोलाउादैनन् होला । उनलाई उचाइले थोरै धोका दिएको छ । ५ फिट १ इन्चका छन् । त्यही कारणले होला अहिलेसम्म कुनै विभागको नजरमा पर्न सकेका छैनन् उनी ।

प्रकाशित : पुस ६, २०७६ ०७:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×