कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विवाद समाधान खोज्न कांग्रेस नेताहरु छलफलमा  

काठमाडौँ — नेपाली कांग्रेसमा देखिएको विवाद समाधान खोज्न वार्ता समितिको बैठक बस्दैछ । अहिलेसम्मका छलफलमा भएका प्रगतिलाई ठोस रुप दिन पार्टी कार्यालय सानेपामा बुधबार दिउँसो १ बजे बैठक बस्न लागेको हो ।समितिमा उपसभापति विमलेन्द्र निधि, प्रकाशमान सिंह, दिलेन्द्रप्रसाद बडू र हृदयराम थानी छन् ।

विवाद समाधान खोज्न कांग्रेस नेताहरु छलफलमा  

भ्रातृसंस्था तरुण दलमा पोखरामा भएको सहमतिअनुसार भागबण्डा गरेर अघि बढ्ने समझदारी छ । पोखरामा संस्थापनले तत्कालीन कृष्ण सिटौला र खुमबहादुर खड्का पक्षलाई मिलाउने गरी ९५ सदस्यीय केन्द्रीय समितिमा ६५ प्रतिशत लिने र पौडेल पक्षलाई ३५ प्रतिशत दिने सहमति बनेको थियो । त्यही सहमतिका आधारमा अघि बढ्न आफूहरु तयार रहेको थानीले बताए ।

०७३ कात्तिक अन्तिम साता पोखरामा भएको तरुण दलको अधिवेशनमा देउवा पक्षबाट अध्यक्ष, पौडेललाई महामन्त्री दिइएको थियो । त्यस्तै सिटौला पक्षबाट उपाध्यक्ष र खड्का पक्षलाई कोषाध्यक्ष बनाएर बाँकी समिति काठमाडौं आएर बनाउने भनिए पनि कार्यकाल सकिँदासम्म बन्न सकेको छैन । तरुण दलको कार्यसमितिको म्याद ६ महिना थपेर महाधिवेशन गर्ने म्याण्डेट दिने तयारी छ ।


नेविसंघमा विवाद मिलिसकेको छैन । तर, विवाद साघुँरिएको नेताहरुले दाबी गरेका छन् । संस्थापनले अध्यक्ष आफूले लिने तीन महामन्त्री बनाएर पौडेल, सिटौला र विजय गच्छदार पक्षलाई एक/एक दिने प्रस्ताव गरेको छ । तर, पौडेल पक्षले भने नेविसंघमा महामन्त्री, उपाध्यक्ष र कोषाध्यक्ष पदाधिकारी राख्ने र महामन्त्री आफूले पाउनु पर्ने प्रस्ताव गरेको छ ।

एक सय एक सदस्यीय कार्यसमिति बनाउने विषयमा भने दुबै पक्ष सहमत छन् । २८ माघमा ११ औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महरले अध्यक्षबाट राजीनामा दिएपछि नेविसंघ नेतृत्वविहीन छ । उपसभापति निधिले पौडेल पक्षको प्रस्तावमा सहमति गर्न सकिने बताएको स्रोत बताउँछ ।

पार्टी संस्थापनले १४ औं महाधिवेशनको कार्यतालिका नल्याएको, छलफलबिना विभागको संख्या बढाएको, नेविसंघ र तरुण दलको विवाद मिलाउन यथेष्ट प्रयास नगरेको भन्दै नेता पौडेल र सिटौला पक्षले बिहीबारबाट सुरु केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेपछि विवाद बढेको थियो ।

महाधिवेशन संस्थापनले ०७७ फागुनमा गर्ने गरी ल्याउने प्रस्ताव गरेको छ भने पौडेल पक्षले ०७७ मंसिरमा गर्ने गरी ल्याउनु पर्ने भनिरहेका छन् । आफ्नो प्रस्तावमा दुवै पक्ष ‘कम्प्रोमाइज’ गर्न तयार भएकाले समस्या नहुने नेताहरु बताउँछन् । ‘विवाद साँघुरिँदै गएको छ, सम्भवत आज बस्ने केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुने वातावरण बन्ला,’ केन्द्रीय सदस्य थानीले इकान्तिपुरसित भने ।

सभापति देउवाले सहमतिबिना पार्टी विभागको संख्या २८ बाट ४१ पुर्‍याएपछि चिढिएको पौडेल पक्ष अन्य विषयमा सहमति जुटेमा केही राम्रा विभाग आफूले लिएर बढाउन दिने पक्षमा देखिएको छ । संस्थापनले संगठन, जनसम्पर्क, प्रचार र परराष्ट्र आफूले पाउनु पर्ने बताइरहेको छ । पौडेल पक्षले यी चारमध्ये दुई वटा आफूहरुलाई दिएमा बढाउन दिने संकेत गरेको छ । संस्थापन यो विषयमा सल्लाह गरिरहेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आन्तरिक विवादहरु सहमतिपूर्वक टुंगिने वातावरण निर्माण भएको बताए ।


प्रकाशित : पुस २, २०७६ १२:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?