कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जडिबुटी टिप्न जाँदा बेपत्ता भएका सम्पर्कमा

घर पुगेको खबर प्राप्त भएपनि उनीहरुको अवस्था अझै बुझ्न सकिएको छैन । 
एलपी देवकोटा

जुम्ला — कार्तिकमा संकलन गरिएको सेतक चिनी लिनका लागि पाटन जाँदा बेपत्ता भएका जुम्लाको तिला गाउँपालिका–९ शेरा फुलबारीका १३ जना सकुशल घर फर्किएका छन् ।

जडिबुटी टिप्न जाँदा बेपत्ता भएका सम्पर्कमा

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार १३ जना आइतबार राति १० बजेतिर गाउँ फर्किएका हुन् । बिहीबार जडिबुटी संकलनका लागि पाटन गएका उनीहरु हिउँमा परेर सम्पर्क विहीन भएका थिए । सेतक चिनी लिनका लागि १४ जना पाटन गएका थिए । जसमध्ये वीनबहादुर बोहोराको हिमपातमा परी मृत्यु भएको थियो । बाँकी १३ जना मध्ये १ को नाम नखुलेपछि प्रशासनले १२ जना बेपत्ता भएको बताउँदै आएको थियो ।


सम्पर्क विहीन मध्येका छविराज बोहोराले कैलालीमा कार्यरत आर्मीका जवान विप्लव बोहरालाई सम्पर्क गरी आफूहरु सकुशल रहेको जानकारी गराएपछि उनीहरुको अवस्था पत्ता लागेको बताइएको छ । बेपत्ता भएकाहरुसँग कसैसँग सम्पर्क हुन नसकेपछि खोजी कार्यका लागि स्थानीय प्रशासन मार्फत गृह मन्त्रालयलाई हेलिकप्टर व्यवस्थापन गर्न पत्र पठाएको थियो । जस अनुसार गृह मन्त्रालयले हेलिकप्टर मार्फत बेपत्ताको उद्धार गर्न निर्देशन दिएको थियो ।


सुर्खेतमा नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिए पनि मौसममा देखिएको खराबीका कारण उड्न सकेको थिएन । तिला गाउँपालिका–९ का वडाध्यक्ष शेरबहादुर बोहोराले लिखित रुपमा जानकारी दिएपछि हेलिकप्टर नपठाउन खबर गरेको सहायक प्रजिअ देवेन्द्र श्रेष्ठले जानकारी दिए ।


उनीहरु हिमपातमा परी मृत्यु भएका बीनबहादुर बोहोराको शव लिएर गाउँ फर्किएको जानकारी प्रशासनले गराएपनि ढिपु गाउँमा मोबाइल टावर बिग्रिएकाले सम्पर्क हुन सकिरहेको छैन ।


प्रहरी चौकी रहेको रारालिहीबाट ढिपु गाउँ पुग्न एक दिन लाग्ने भएकाले हिउँ नबिलाएको भन्दै प्रहरी पनि गाउँ जान सकिरहेको छैन । उनीहरु के कस्तो अवस्थामा घर फर्किएका छन् भन्ने पनि कुनै खबर आएको छैन । उद्धारको लागि टोली तयारी अवस्थामा रहेपनि वडाअध्यक्षले घर फर्किए अब जानुपर्दैन भनेपछि प्रहरी त्यसतर्फ नगएको डीएसपी लालबहादुर धामीले बताए । ‘हिउँ धेरै भएकाले प्रहरी गाउँ जान सकिरहेको छैन’ उनले भने, ‘त्यहाँ फोन सम्पर्क पनि हुन सकेको छैन । ’


स्थानीय प्रशासनले सुर्खेतबाट उड्न लागेको हेलिकप्टर नपाउन भनेपछि हेलिकप्टर उडेन । प्रहरी हिँडेर गाउँ पुग्न नसक्ने भएकाले पनि हेलिकप्टरबाट पाँच दिनदेखि पाटनको चिसोमा रहेकाहरुको स्वास्थ्य उपचार र मृतकको पोष्टमार्टमको लागि पनि खलंगा ल्याइनुपर्नेमा उड्न लागेको हेलिकप्टर नउडाएको भन्दै स्थानीयले गुनासो गरेका छन् ।

प्रकाशित : मंसिर ३०, २०७६ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?