केशव भट्टराईको यात्रा : ‘कोसेली’देखि बोर्डसम्म- समाचार - कान्तिपुर समाचार

केशव भट्टराईको यात्रा : ‘कोसेली’देखि बोर्डसम्म

सुशील पौडेल

काठमाडौँ — पूर्वी पहाडबाट काठमाडौं झरेका केशव भट्टराईको भेट फिल्म निर्देशक तुलसी घिमिरेसित भयो । धमाधम फिल्म बनाइरहेका घिमिरेले भट्टराई आफ्नो फिल्म ‘कोसेली’मा सानो भूमिका दिए ।

२०४७ सालमा प्रदर्शनमा आएको यही फिल्मको सानो भूमिकाबाट शुरु भएको केशव भट्टराईको यात्राले ५१ वर्षको उमेरमा आइतबार विश्राम लिएको छ ।


८ महिनाअघि मात्रै सरकारले भट्टराईलाई चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गरेको थियो । असहज महसुस गरेपछि भट्टराईलाई राति साढे दश बजे चाबहिलस्थित ओम अस्पताल पुर्‍याइने क्रममा निधन भएको थियो । अस्पताल स्रोतले हृदयघातका कारण निधन भएको बताएको छ ।

बोर्ड अध्यक्षका रुपमा भट्टराईले यस अवधिमा बक्सअफिस प्रणालीलाई देशैभर विस्तार गर्न सफल भएका थिए भने चलचित्र नीतिलाई कानूनी स्वरुप दिन विभिन्न सरोकारवाला संघसंस्थासग सहकार्य गर्दै आईरहेका थिए ।




भट्टराईले कलाकारका रुपमा चिनो, दुई थोपा आशु, दक्षिणा, बलिदान, ठूल्दाई, लक्ष्मणरेखा, आफ्नोमान्छे, सुखदुःख, पाहुना, हामी तीनभाई, मेरो एउटा साथी छ, मसानलगायत फिल्ममा अभिनय गरेका छन् । ‘आफ्नो मान्छे’बाट फिल्म निर्माणमा समेत होमिएका उनले पछिल्लो पटक ‘यात्रा’ बनाएका थिए । निर्देशक शिव रेग्मीसँग उनको जोडी निकै जमेको थियो । शिव रेग्मीलाई निर्देशक लिएर उनले निर्माण गरेका आफ्नो मान्छे, सुखदुख, पाहुना र हामी तीनभाई चर्चित र सफल फिल्म हुन् । उनी चलिचत्र निर्माताको पनि भएका थिए ।


भट्टराईको पार्थीव शरिरलाई अन्तिम श्रद्धान्जलीका लागि साढे १२ बजेदेखि एक घन्टा चाबहिलस्थित चलचित्र विकास बोर्ड परिसरमा राखिने छ भने दुई बजे पशुपतिस्थित आर्यघाट लगिने बोर्डबाट जारी विज्ञप्तीमा जनाइएको छ । भट्टराईका एक श्रीमती र एक छोरा छन् ।

प्रकाशित : मंसिर ३०, २०७६ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्

रंगमञ्चमा मार्क्स

‘म मरे पनि जिउँदै छु, यतिबेला मेरो नाममा लगाइएको दाग मेटाउन आएको हुँ, तपार्इंहरुका लागि यो द्वन्द्ववाद हो ।’
सुशील पौडेल

काठमाडौँ — धर्म जनताका लागि अफिम हो । कार्ल मार्क्सको यो भनाइ चर्चित छ । एकपटक क्रिसमस पार्टीमा मार्क्स र एंगेल्स जिंगल बेल गाएर नाचिरहेका हुन्छन् । निर्देशकले मार्क्सलाई सोध्छन्, ‘यति बेला हाम्रा क्रान्तिकारी मित्रहरू के सोच्दै हुनुहुन्छ, तपाईंका बारेमा ?’

‘थाहा छ, नास्तिक मार्क्स, क्रिसमस ट्रिका साथ’ मार्क्सको छोटो उत्तरपछि निर्देशक फेरि सोध्छ, ‘अनि ? आफैं धर्म जनताको अफिम हो भन्ने अनि आफैं जिंगल बेल जिंगल बेल नाच्न मिल्छ ?’ मार्क्स फेरि जवाफमा भन्छन्, ‘हो, मैले भनेको थिएँ । त्यसको पूरा परिच्छेद कसैले पढेको छ ? अफिम रोग निको पार्ने औषधि त हैन । तर यसले दु:ख र पीडाबाट केही समयका लागि भए पनि मुक्ति दिलाउँछ । त्यसैले धर्म जनताका लागि अफिम हो भनेको हुँ ।’

एक सय ३६ वर्षअघि नै जीवन त्यागिसकेका दार्शनिक मार्क्सलाई यतिबेला पुन: ब्युँताएर सवाल–जवाफ गर्ने जमर्को गरेको हो, आरोहण गुरुकुलले । गुरुकुलले ‘मार्क्स फर्किए...’ नाटकमार्फत मार्क्सलाई दर्शकमाझ पस्कन लागेको हो । कार्ल मार्क्स जन्म द्वि–शतवार्षिकी समारोह समिति नेपाल र नेपाल अध्ययन केन्द्रको आयोजनामा पुस १ देखि ३ गतेसम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा मञ्चन हुने उक्त नाटकको यतिबेला भने रिहर्सल चलिरहेको छ । मार्क्सको भूमिकामा रंगकर्मी सुनील पोखरेल छन् भने निर्देशकको भूमिकामा प्रवीण खतिवडा । नाटकको निर्देशन पनि यिनै दुईको हो ।

उक्त नाटकले मार्क्सको कष्टप्रद जीवन भोगाइ, पारिवारिक अप्ठ्यारो र यति हुँदाहुँदै पनि उनले वर्षौं लगाएर प्रतिपादन गरेका दर्शनबारे व्याख्या गर्ने बताउँदै खतिवडाले भने, ‘कसरी उनलाई गलत व्याख्या गरियो र गरिराखिएको छ भन्ने बुँदाहरू समात्छन् ।’ नाटकको सुरुवातमै निर्देशकले मार्क्सलाई अचानक आफ्नो रंगमञ्चमा देखेपछि आश्चर्य मान्दै सोध्छन्, ‘तपार्इं मार्क्स, मरिसक्नुभएको होइन र ?’ मार्क्स भन्छन्, ‘हो, तर म मरे पनि जिउँदै छु । यतिबेला मेरो नाममा लगाइएको दाग मेटाउन आएको हुँ । तपार्इंहरूका लागि यो द्वन्द्ववाद हो ।’

निर्देशक पोखरेलले नाटकमार्फत मार्क्सले आफ्ना कुरा राख्ने बताउँदै भने, ‘नाटक हेर्दा कतिपयलाई मार्क्स चिन्न र उनको सिद्धान्त बुझ्न मद्दत मिल्छ भने कतिपयलाई यो व्यंग्यात्मक पनि लाग्न सक्ला ।’ पोखरेलले मार्क्सलाई सही तवरले नबुझिएको वा उनका अनुयायीहरूले आफूअनुकूल गलत रूपमा व्याख्या गरिदिएको हुन सक्ने जिकिर गर्दै नाटकले त्यसलाई पनि चिर्ने बताए । ‘मार्क्स अति सरल मान्छे रहेछन् । दयनीय आर्थिक अवस्थाबाट गुज्रेर पनि विश्वलाई चकित बनाउने खालको दर्शन लेखे । तर उनका पनि मानवीय कमजोरीहरू त टन्नै रहेछन् । यी पाटोहरू नाटकमा पनि मज्जाले आउँछ,’ पोखरेलले नाटक रिहर्सलपछिको बसाइमा भने, ‘मैले पनि मार्क्सलाई सतही रूपमा मात्रै बुझेको रहेछु । खासमा मार्क्स कम्युनिस्टले मात्रै बोकेर वा आदर्श मानेर हिँड्नुपर्ने व्यक्ति होइन रहेछन् । उनी त सबैका रहेछन् । समग्र मानव जातिको कसरी विकास गर्ने ? कसरी उन्नति गर्न सकिन्छ भन्ने दृष्टिकोणबाट उनले धेरै कुराहरूको व्याख्या गर्छन् । मार्क्सले सर्वहाराको अधिनायकत्व भनेको उसको स्वतन्त्रता हो भनेका रहेछन् । तर यो अर्थमा हामीले बुझेनौं । महिला र पुरुषको समान विकास, समान अवसर हुनुपर्छ भनेका रहेछन् ।’

विश्व पुँजीवादको अहिलेको उत्कर्षमा मार्क्सवाद अझै पनि गाइड लाइन मानिन्छ । अहिलेको समयमा मार्क्स साँच्चै फर्किन्थे भने के हुँदो हो ?

‘साँच्चिकै डरलाग्दो स्थिति हुने रहेछ । त्यो बेला पनि दरिद्र अवस्था, संकटबाट गुज्रेका रहेछन् । अहिलेको पुँजीवाद त त्यो बेलाभन्दा चर्को भएको छ । त्यसैले पनि एकदम डरलाग्दो स्थिति हुन्थ्यो होला मार्क्सकै लागि पनि,’ खतिवडाले यसो भनिरहँदा पोखरेलले भने मार्क्सले पुँजीवादप्रति अझै आलोचनात्मक दर्शन दिन सक्ने सम्भावनाको जिकिर गर्दै भने, ‘ऊबेलै अहिलेको समाज बुझेर कला, साहित्य सबैसबै बेचिने चिज हुनेछ पछि, स्वयं सुन्दरता पनि किन्ने र बेच्ने हुनेछ भनेका रहेछन् । कलाकार, कवि, डाक्टर, वकिलले पनि आफूले आफूलाई बेचिरहेका हुनेछन् । बाँच्नका लागि आफूलाई बेच्ने त श्रमजीवी हुन् नि भन्छन् उनी ।’ ‘मार्क्स फर्किए...’ दर्शकका लागि नाटक नै लाग्ला वा मार्क्सको क्लास जस्तो ? खतिवडा बोले, ‘नाटक हेर्नेले मार्क्स पढाए भन्नभन्दा पनि मार्क्सका बारेमा रोचक कुराहरू देखाए भन्छन् कि जस्तो लाग्छ ।’ पोखरेले थपे, ‘क्लासजस्तो नहोस् भन्नेमा हामी सतर्क भइरहेका छौं । तर कसैकसैलाई कतैकतै क्लासजस्तो पनि लाग्न सक्छ । हामीले भने नाटक नै बनाउन खोजिरहेका छौं । तर व्यक्तिगत रूपमा हाम्रो लागि भने मार्क्स बुझ्न दह्रो क्लास नै भयो ।’

मार्क्सको चरित्र निर्वाह गरिरहेका पोखरेल स्वयं भने मार्क्सवादी हैनन् । तर नाटक तयारी क्रममा मार्क्सप्रति उनको झुकाव बढ्दै गएको प्रस्टिन्छ । भन्छन्, ‘नाटकको सुरु नै मार्क्सले म मार्क्सवादी हैन भन्ने संवादबाट हुन्छ । खाने पैसा छैन, जुत्ता बन्धकी राखेर लन्डनको हिउँमा खाली खुट्टा हिँड्छन् तर १५ वर्ष लगाएर दास क्यापिटल लेख्छन् । मार्क्सका यी सबै जीवन भोगाइ देख्दा मार्क्सवादी हुन मन लाग्छ । जो मान्छेले समानतामा विश्वास गर्छ, सबैले खान, लाउन पाउनुपर्छ भन्नेमा विश्वास गर्छ । सम्पत्ति केही मान्छेको हातमा मात्रै थुप्रिनु हुँदैन भन्नेमा विश्वास गर्छ, ती सबै त मार्क्सवादी हुन् । प्रगतिमा विश्वास गर्नेहरू मार्क्सवादी हुन् ।’

पोखरेलका अनुसार, मार्क्सले सर्वहाराको अधिनायकत्वको कुरा गरे पनि अहिले पार्टीको, केन्द्रीय कमिटीको वा व्यक्तिको अधिनायकत्वको कुराले प्रश्रय पाइरहेकोमा चिन्ता व्यक्त गरे ।विचारपरक नाटक ‘मार्क्स फर्किए...’ मा पोखरेल र खतिवडासहित निशा शर्मा, कमलमणि नेपाल, सरस्वती चौधरी, रामभजन कामतलगायतको अभिनय रहेको छ ।

प्रकाशित : मंसिर २६, २०७६ ०९:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×