कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कालापानी नेकपा स्थायी कमिटी बैठकको औपचारिक एजेन्डा 

बबिता शर्मा

काठमाडौँ — सत्तारुढ नेकपाले भारतले गरेको सीमा अतिक्रमणलाई पार्टी बैठकको औपचारिक एजेन्डा बनाएको छ । पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा जारी स्थायी कमिटी बैठकमा उक्त एजेन्डामाथि छलफल हुँदैछ ।

कालापानी नेकपा स्थायी कमिटी बैठकको औपचारिक एजेन्डा 

स्थायी कमिटी बैठकमा सीमा अतिक्रमणको विषयलाई औपचारिक एजेन्डा बनाउने आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले निर्णय गरेको थियो ।

भारत सरकारले पछिल्लोपटक सार्वजनिक गरेको नक्सामा लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतको नेपाली भू–भागलाई पारेको भन्दै नागरिकस्तरबाट विरोध भएको छ ।

अतिक्रमण विवाद समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विषेश दूत बनेर भारत जान पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रस्ताव पनि गरेका थिए । त्यसै अनुरुप नेता नेपालले तयारी गरेका थिए । तर, भारतीय पक्षले भेटघाटको समय तालिका नमिलाउँदा प्रधानमन्त्रीको यो योजना सफल हुन सकेन ।

त्यसअघि भारतीय नक्सा सार्वजनिक भएलगत्तै सरकारले कात्तिक २० गते विज्ञप्ति निकालेर कालापानी क्षेत्र नेपालको भूभाग भएको स्पष्ट गरेको थियो ।

कात्तिक २३ गते प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा तथ्य र प्रमाणका आधारमा नेपाल– भारत सीमा समस्या समाधानका लागि कूटनीतिक पहल गर्न पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीले सरकारलाई सुझाव दिएका थिए ।

सर्वदलीय बैठक र जनस्तरबाट भएको विरोधलगत्तै सरकारले कालापानी, लिपुलेक र लिम्पियाधूराका विषयमा उठेका प्रश्नबारे तत्काल भारतसँग कूटनीतिक पहल थालेको थियो ।

त्यसैका आधारमा प्रधानमन्त्रीले विशेष दूत पठाएर समस्याको समाधान खोज्न चाहेका थिए । तर, यसमा भारतीयपक्षले अनुदार नीति लिएपछि सत्तारुढ नेकपाले यसलाई आइतबारको स्थायी कमिटी बैठकमा औपचारिक एजेन्डा बनाएर छलफल गर्दैछ ।

प्रकाशित : मंसिर २९, २०७६ १३:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?