कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उछिनपाछिनले सिन्धुपाल्चोकमा बस दुर्घटना, मृतकको संख्या १४ पुग्यो [अपडेट]

अनिश तिवारी

सिन्धुपाल्चोक — सुनकोसी गाउँपालिका-६ मा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । १६ जना घाइतेमध्ये २ को अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।  

उछिनपाछिनले सिन्धुपाल्चोकमा बस दुर्घटना, मृतकको संख्या १४ पुग्यो [अपडेट]

दोलखा कालिञ्चोकबाट भक्तपुर जाँदै गरेको बा ४ ख ४४६८ नम्बरको यात्रुबस आइतबार बिहान लामोसाँघु-जिरी सडकखण्डअर्न्तगतको ६ किलोबाट ५ किलोमा सडकमै खस्दा १४ जनाको मृत्यु भएको हो । १२ जनाको घटनास्थलमै ज्यान गएको हो भने एक बालकसहित अर्का व्यक्तिको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकमा ३ बालकबालिका, ८ महिला र ३ पुरुष रहेको प्रहरीले जानकारी दिएको छ । मृतकहरूको सनाखत गराउने काम भइरहेको जिल्ला ट्राफिक कार्यालय खाडीचौरले जनाएको छ । ‘१६ घाइतेलाई धुलिखेल अस्पताल र खाडीचौरस्थित सिन्धुसदाबहार अस्पतालमा लगिएको छ, दुई जना सख्त घाइते छन्,’ जिल्ला ट्राफिक प्रमुख राजेशकुमार दाहालले बताए ।


प्रहरीकाअनुसार करिब सय मिटर तल खसेको थियो । बसमा दोलखाको कालिञ्चोक घुमेर फर्किएका भक्तपुर च्यामासिंह, काभ्रे र सिन्धुपाल्चोक जलविरेका यात्रु हुनसक्ने घटनास्थल पुगेर फर्केका इलाका प्रहरी कार्यालय बाह्रबीसेका प्रहरी निरिक्षक नवराज न्यौपानेले बताए । उनले ओभरटेक गर्नलाग्दा बस खसेको देखिने पनि बताए ।


निर्माणाधीन लामोसाँघु-जिरी सडकमा ओभरटेक गर्ने क्रममा यात्रुबस मोडमा खसेको प्रहरीको भनाइ छ । ‘यात्रुबस रिजर्भ गरिएको रहेछ । ३२ जना सीट क्षमताको यात्रुबसमा एक दुई जना मात्रै उभिएका थिए । चालक फरार छन्', ट्राफिक प्रहरीले जानकारी दियो ।


प्रकाशित : मंसिर २९, २०७६ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?