कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेसमा विवाद चर्कियो, पौडेल पक्षद्वारा बैठक बहिष्कार

कुलचन्द्र न्यौपाने

काठमाडौँ — कांग्रेसका केन्द्रीय पदाधिकारीसहित सदस्यहरूको कार्यकाल सकिन लाग्दा पनि सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनको कार्यतालिका तय गर्न नमानेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बिहीबार केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेको छ । देउवाले स्थानीय तहका संरचनालाई नयाँ राज्य संरचनाअनुसार समायोजन गरेपछि मात्रै महाधिवेशनको कार्यतालिका ल्याउने अडान लिँदा पौडेल पक्षले बैठक बहिष्कार गरेको हो ।

कांग्रेसमा विवाद चर्कियो, पौडेल पक्षद्वारा बैठक बहिष्कार

बहिष्कारबीच बसेको केन्द्रीय बैठकले आन्तरिक मुद्दामा निर्णय नगरी समसामयिक विषयमा पार्टीको दृष्टिकोण सार्वजनिक गरेको छ । स्थानीय तहका संरचना समायोजनका लागि राधेश्याम अधिकारीको संयोजकत्वमा गठित निर्वाचन समितिले काम नसकेको र क्रियाशील सदस्यताको अभिलेख अद्यावधिक नभएकाले देउवाले महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न नचाहेको उनीनिकट नेताहरूले बताएका छन् ।


गत साउनमा बसेको केन्द्रीय कार्यसमिति बैठकले अधिकारी संयोजकत्वको समितिलाई कात्तिक मसान्तभित्र काम सक्ने गरी जिम्मेवारी दिएको थियो । सोही बैठकले नरहरि आचार्य संयोजकत्वको क्रियाशील सदस्यता छानबिन समितिले गरेको निर्णयबमोजिम मंसिर मसान्तसम्म क्रियाशील सदस्यताको अभिलेख अद्यावधिक गरी १४ औं महाधिवेशनको कार्यतालिका घोषणा गर्ने निर्णय पनि गरेको थियो । निर्वाचन समितिले ५ जिल्लाबाहेक संघीय र प्रदेश निर्वाचन क्षेत्रीय कार्यसमितिको समायोजन मात्रै सम्पन्न गरेको छ । पालिका र वडा कार्यसमितिको समायोजनले गति लिएको छैन ।


समायोजन नसकिएको, क्रियाशील सदस्यता अद्यावधिक र वितरणको काम सुरु नै नभएकाले समायोजनपछि मात्रै कार्यतालिका ल्याउन सकिने धारणा देउवा र उनी पक्षीय नेताहरूको छ । पौडेलले कार्यतालिकाका विषयमा सभापतिले छलफल गर्नै नचाहेपछि आफूहरू बैठकमा अनुपस्थित रहेको प्रतिक्रिया दिए । ‘केन्द्रीय कार्यसमितिको कार्यकाल फागुन मसान्तमा सकिँदै छ, केन्द्रीय कार्यसमितिको बैठकले मंसिर मसान्तसम्म कार्यतालिका ल्याउने निर्णय गरेको हो, त्यहीअनुसार कार्यतालिकामा छलफल गरौं भन्दा बैठकमा एजेन्डासमेत राख्न सभापति तयार हुनुभएन,’ वरिष्ठ नेता पौडेलले कान्तिपुरसँग भने, ‘महाधिवेशन टार्ने र पार्टीलाई संकटमा पार्ने काम हुने देखेपछि हामी अनुपस्थित भएका हौं ।’


पौडेलसहित उनी पक्षीय नेताहरू पार्टी केन्द्रीय कार्यालय सानेपा पुगे पनि बैठकमा नबसी बाहिरिएका थिए । बिहीबारको बैठकमा महामन्त्री शशांक कोइराला पनि उपस्थित भएनन् । संस्थापनइतर खेमाका केन्द्रीय सदस्य महेश आचार्य, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलापक्षीय केन्द्रीय सदस्यहरू उमाकान्त चौधरी र शिव हुमागाईं मात्रै बैठकमा उपस्थित भएका थिए । सिटौला पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन बिहीबार अपराह्न झापा पुगेका थिए ।


बहुमतबाट पार्टीलाई अघि बढाउन खोज्ने र बैठक बहिष्कार गर्ने दुवै कार्य गलत भएको सिटौलाले प्रतिक्रिया दिए । ‘बहुमत, अल्पमत र बहिष्कार गलत हो, आजको परिस्थितिमा पार्टीभित्र बृहत् एकता र मेलमिलापको आवश्यकता छ,’ सिटौलाले भने, ‘अहिलेका चुनौतीलाई सामना गर्न मिलेरै अघि नबढेसम्म सम्भव छैन ।’ सिटौला पक्षकै केन्द्रीय सदस्य गगन थापा भने पार्टी कार्यालय पुगेर बाहिरिएका थिए ।


बैठक अपराह्न १ बजे बोलाइएको थियो । बैठक सुरु हुनुअघि केन्द्रीय कार्यालयमा करिब दुई घण्टासम्म देउवा र पौडेलको कार्यकक्षमा आ–आफ्नो समूहको अनौपचारिक छलफल चलेको थियो । देउवाको कार्यकक्षमा भएको छलफलले बुधबारको पदाधिकारी बैठकले तय गरेअनुसार ९ वटा एजेन्डा छलफलका लागि लैजाने निर्णय गरेको थियो । त्यही निर्णय बोकेर उपसपभाति विमलेन्द्र निधि पौडेलको कार्यकक्षमा पुगेका थिए । त्यहाँ पौडेलपक्षीय नेताहरू कस्तो रणनीतिका साथ अघि बढ्ने भन्नेबारे छलफल गर्दै थिए ।


त्यही बीचमा निधिले बैठकमा प्रस्तुत हुने ९ वटा एजेन्डाबारे जानकारी गराए, जसमा पार्टी संरचनाको समायोजनसम्बन्धी छलफल, उपनिर्वाचनको समीक्षा, केन्द्रीय विभागको संरचनागत र संख्यात्मक परिमार्जन, सीमा अतिक्रमणलगायतका प्रस्ताव समावेश थिए । केन्द्रीय महाधिवेशन कहिले गर्ने भन्ने कार्यतालिकाबारे एजेन्डा नपरेपछि पौडेल झोक्किँदै पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य मीनेन्द्र रिजाललाई लिएर देउवाको कार्यकक्षमा पुगेका थिए । उनले देउवालाई महाधिवेशन कार्यतालिकाको एजेन्डा राख्न आग्रह गरे । देउवाले आफ्नो समूहमा छलफल गरेर खबर गर्ने जानकारी गराएपछि पौडेल आफ्नै कार्यकक्षमा फर्किए ।


देउवा र उनी पक्षीय सदस्यहरू पौडेलको मागअनुसार कार्यतालिका बिहीबारकै बैठकमा ल्याउन तयार भएनन् । कार्यतालिकाको एजेन्डा नपरेपछि पौडेल र उनी पक्षीय सदस्यहरूले बैठकमा सहभागी नहुने निर्णय गरे भने देउवापक्षीय सदस्यहरू बैठक चलाउने निर्णयमा पुगे ।


अपराह्न ४ बजे बैठक सुरु भएपछि पौडेलले आफ्नै कार्यकक्षमा पत्रकारलाई बोलाएर आफ्नो समूहले बहिष्कार गर्नुपर्नाको कारणबारे जानकारी दिए । ‘बहुमतबाट पार्टी चलाउँदै जाने हो भने हामी पनि आफ्नो एजेन्डा लिएर कार्यकर्तामाझ जान्छौं,’ उनले भने, ‘महाधिवेशन हाम्रो मुख्य एजेन्डा हो ।’


बैठकले दक्षिण एसियाली खेलकुदमा पदक प्राप्त गर्ने खेलाडीलाई बधाई दिनुका साथै संवैधानिक परिषद्को कार्यविधि परिवर्तन गर्न मन्त्रिपरिषद्ले ल्याउन खोजेको अध्यादेशको विरोध गरेको छ । पार्टीका आन्तरिक विषयमा सहमति खोज्नका लागि भने कुनै निर्णय गरिएको छैन । अर्को बैठक आइतबार बोलाइएको छ ।


सहमहामन्त्री प्रकाशशरण महतले सहमतिका लागि शुक्रबार र शनिबार प्रयास हुने जानकारी दिए । ‘भोलि र पर्सि सहमतिका लागि सरसल्लाह हुन्छ, भएन भने आइतबारको बैठकले ९ वटै एजेन्डामा निर्णय लिन्छ, सहमतिकै लागि अहिलेसम्म पर्खियौं, अब अनिर्णयको बन्दी भएर पार्टी बस्दैन,’ उनले भने ।


पार्टीका वडा तहका संरचना नबनेसम्म क्रियाशील सदस्यता वितरण र नवीकरण हुन नसक्ने उनले बताए । ‘क्रियाशील सदस्यताको प्रक्रिया अघि नबढेसम्म कसरी महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने ? पौडेल दाइ आफैंले प्रस्तुत गरेको ९ बुँदे प्रस्तावमा पनि महाधिवेशन कार्यतालिका ल्याउनुपर्ने माग छैन,’ उनले भने, ‘पौडेल दाइ आदरणीय हुनुहुन्छ, उहाँजस्तो मान्छेले बैठक बहिष्कार गरेर होइन, सहभागी भई छिटो काम सक्ने विषयमा छलफल गर्नुपर्थ्यो ।’


पौडेलले भने सहमति नै गर्न नखोजिएको बताए । कार्यतालिकाको एजेन्डा बैठकमा ल्याउनै नखोजिएपछि आफूहरूलाई आशंका बढेको बताए । पौडेल पक्षको मुख्य आशंका सभापति देउवाले कार्यकालको

अन्तिम समयमा महाधिवेशनलाई प्रभावित पार्ने गरी केन्द्रीय विभाग गठन गर्न खोजेको प्रति छ । त्यस्तै नेविसंघ र तरुण दल गठनसमेत एकपक्षीय रूपमा गर्न खोजेको आरोप पौडेल पक्षको छ ।


प्रकाशित : मंसिर २७, २०७६ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?