कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाहालको प्रतिवेदनमा के आउँदैछन् नयाँ विषय ?

बबिता शर्मा

काठमाडौँ — शनिबार बस्ने सचिवालय र आइतबार बस्ने स्थायी कमिटी बैठकमा पेस गर्ने गरी नेकपा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक एवं संगठनात्मक प्रतिवेदन तयार पारेका छन् । प्रतिवेदनको प्रारम्भिक मस्यौदा बनिसकेको र यसमा आवश्यक परामर्श गरेर शुक्रबार अन्तिम रुप दिने दाहालको तयारी छ । पार्टीमा कार्यकारी अध्यक्षको भूमिका पाएपछि दाहालले पहिलो पटक लिखित प्रतिवेदन पेस गर्न थालेका हुन् ।

दाहालको प्रतिवेदनमा के आउँदैछन् नयाँ विषय ?

प्रधानमन्त्री केपी शर्मा ओली, पार्टी सचिवालयका सदस्यहरु र केही मन्त्रीहरुसाँग परामर्श गरेर दाहालले राजनीतिक एवं संगठनात्मक प्रस्ताव बनाएको बिहीबार उनीसँग भेट गरेका एक नेताले बताए । दाहालले तयार गरेको प्रतिवेदनमा पार्टी र सरकारका काम र उप–चुनावको समीक्षासागै आगामी कार्ययोजना पनि छ ।


ती नेताका अनुसार यसबाहेक दाहालले तयार गरेको प्रतिवेदनमा पोलिटव्यूरो गठनको प्रस्ताव, पार्टी–संगठनको परिचालन र देशव्यापी संगठन सुदृढीकरणको अभियान चलाउने प्रस्ताव छ ।


‘लामोसमय कार्ययोजनाविहीन बनेको पार्टीलाई अब एउटा गतिमा दौडाउने गरी प्रतिवेदन आउँछ ।’ दाहालसँग भेट गरेका ती नेताले भने, ‘प्रतिवेदन पहिला सचिवालयमा पेस हुन्छ र आवश्यक सुझावपछि स्थायी कमिटीमा जान्छ । मूलत यो प्रतिवेदन एक वर्षपछि बस्न थालेको स्थायी कमिटीको बैठकमा पेस गर्ने गरी बनाइएको छ ।’


नेकपाको मंसिर २३ गते बसेको सचिवालय बैठकले पार्टी स्थायी कमिटीको दोस्रो बैठक मंसिर २९ र ३० गते पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बोलाउने निर्णय गरेको थियो । स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा शनिबार सचिवालयको बैठक बस्दैछ ।


२३ गतेको सचिवालय बैठकले संगठन विभागबाट २०७६ भदौ ९ गते प्रस्तुत प्रस्तावलाई परिमार्जन गरी आगामी बैठकमा प्रस्तुत गर्ने जिम्मेवारी अध्यक्ष दाहाल र नेता वामदेव गौतमलाई दिएको थियो । त्यसैका आधारमा संगठनात्मक प्रस्ताव आउनेछ ।


यसबाहेक स्थायी कमिटी बैठकबाट नेकपाले संगठन विभागको अधिकार र कर्तव्यसम्बन्धी पार्टी नियमावलीमा उल्लिखित व्यवस्थामा परिमार्जन एवं संशोधन गर्ने तयारी पनि गरेको छ ।


नेकपाले यसअघि नै विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । अध्यक्ष दाहालको हस्ताक्षरमा भदौ १३ गते जारी भएको अन्तरपार्टी निर्देशिका–२ मा विशेष अभियान सञ्चालन गर्ने निर्णय भएको उल्लेख थियो ।


‘हामीले छिट्टै एकता–एकीकरणका बाँकी कामहरू सम्पन्न गर्नेछौं । यथासक्य चाँडो पार्टी स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक आयोजना गर्नेछौं,’ अन्तरपार्टी निर्देशिकामा भनिएको छ,’ अब पार्टीले समस्त नेता, कार्यकर्ता एवं सदस्यहरूलाई जनतासँग जोड्ने र आम जनसमुदायलाई सरकारद्वारा सञ्चालित विकास, समृद्धि र सामाजिक न्यायसहितको महाअभियानसँग जोड्ने गरी विशेष राष्ट्रिय अभियान सञ्चालन गर्छौं ।’


विशेष अभियान सञ्चालन गर्ने कुरा गत वर्ष बसेको स्थायी कमिटी बैठकमा अध्यक्षद्वयले पेस गरेको राजनीतिक प्रतिवेदनमा पनि छ । यिनै निर्णयका आधारमा अध्यक्ष दाहाले अर्का अध्यक्ष ओलीसँग परामर्श गरेर ६ महिने जनपरिचालन अभियानको कार्ययोजना पनि तयार गरेका छन् ।


यस्तै स्थायी कमिटीको गत वर्षको बैठकबाट सचिवालय सदस्य रामबहादुर थापाको संयोजकत्वमा गठित कार्यदलको सिफारिस समेतका आधारमा पार्टी विधानमा संशोधन सम्बन्धी प्रस्ताव तयार गरेको छ ।


उक्त प्रस्ताव स्थायी कमिटीको आगामी बैठकमा प्रस्तुत हुँदैछ । स्थायी कमिटीमा पेस भई केन्द्रीय कमिटीबाट संसोधित विधान पारित भए यसले पार्टीको दीर्धकालीन लक्ष्य किटान र वामदेव गौतमलाई उपाध्यक्ष बनाउने बाटो खोल्नेछ ।


गत वर्ष बसेको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्षद्धय ओली र दाहालले संयुक्त रुपमा राजनीतिक प्रतिवेदन पेस गरेका थिए । आगामी बैठकमा पनि स्वास्थ्य अवस्थाका कारण ओली उपस्थित हुने सम्भावना कम छ । तर, स्थायी कमिटीमा पेस हुने प्रतिवेदन दाहालको एकल वा दुवै अध्यक्षको तर्फबाट पेस हुने भन्नेबारे दाहालसँग भेट गरेका नेताहरुले केही बताएका छैनन् ।

प्रकाशित : मंसिर २६, २०७६ २१:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?