कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हुम्ला र मनाङमा हिमपात

हुम्ला — हुम्लामा यो वर्ष बिहीबार दोस्रोपटक हिमपात भएको छ । हिमपातका कारण सुर्खेत र नेपालगन्जबाट सिमकोटमा कुनै पनि उडान भएनन् ।

हुम्ला र मनाङमा हिमपात

सिमकोटको तापक्रम माइनस ६ डिग्रीमा झरेको छ । चिसोका कारण शुक्रबारदेखि सुरु हुने सिमकोट गाउँपालिकास्तरीय कक्षा ८ र ५ को परीक्षा प्रभावित हुने भएको छ । सिमकोट गाउँपालिकामा २२ विद्यालय छन् । यी विद्यालयमा अध्ययनरत कक्षा ८ र ५ का ३ सय ४८ विद्यार्थी परीक्षाबाट प्रभावित हुन सक्ने गाउँपालिकाका शिक्षा शाखा प्रमुख उजिर रोकायाले बताए ।


हिमाली जिल्ला मनाङको माथिल्लो क्षेत्रमा हिमपात भएको बस्ती तथा सडक क्षेत्रमा गस्ती गर्दै प्रहरी । तस्बिरः कान्तिपुर


उत्तरी नाम्खा गाउँपालिकामा सिमकोटभन्दा बढी चिसो रहेको जिल्ला प्रहरी कार्यालयका निमित प्रमुख राजेन्द्र सिंहले बताए । हिमपातले दक्षिणी क्षेत्रका किसानलाई भने फाइदा पुगेको छ । हिउँदे बाली गहुँ, जौ लगाउन खनजोत गर्ने समयमा हिमपात हुँदा सजिलो भएको चंखेली गाउँपालिका नेप्कागाउँका तिलक तामाङले बताए ।


मनाङमा पनि माइनस

मनाङमा हिउँ पर्न थालेसँगै तापक्रम माइनस ८ डिग्री सेन्टिग्रेटसम्म झरेको छ । माथिल्लो मनाङस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय मनाङका अनुसार माथिल्लो क्षेत्रमा साँझबिहान माइनस ८ र दिउँसो माइनस ५ डिग्रीसम्म तापक्रम झर्ने गरेको छ ।


मौसम मापनयन्त्र (थर्मोमिटर) र मौसम पूर्वानुमानसम्बन्धी विभिन्न वेबसाइटमार्फत मनाङमा तापक्रम मापन गरिँदै आएको छ । सातायता बढेको चिसोका कारण जनजीवन प्रभावित बनेको छ । स्थानीय सबेरै घरबाहिर निस्कन नसकेको मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेले बताए । प्रमुख जिल्ला अधिकारी पुष्पराज बरालका अनुसार पानी पनि जम्न थालेको छ ।

प्रकाशित : मंसिर २६, २०७६ २०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?