कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यस्ता छन् कांग्रेस केन्द्रीय समिति बैठकका एजेन्डा 

काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय कार्यासमिति बैठकमा छलफलका लागि ६ एजेन्डा तय गरिएको छ । पदाधिकारी बैठकले मंसिर १४ गते सम्पन्न उपनिर्वाचन समीक्षा, भारतले आफ्नो राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक समाहित गरेको लगायत विषय छलफलका लागि विषय तय गरेको हो ।

यस्ता छन् कांग्रेस केन्द्रीय समिति बैठकका एजेन्डा 

भारतले गरेको सीमा अतिक्रमण विषयमा बैठकमा छलफल गरेर पार्टीको आधिकारिक धारणा तय गर्ने एजेन्डा रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।


पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार दिउँसो १ बजे बस्ने बैठकमा पार्टीका विभागहरु गठन, भ्रातृ संस्थाहरु नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेपाल तरुण दलमा देखिएको विवाद समाधानका सन्दर्भमा छलफल गर्ने एजेन्डा तय भएको प्रवक्ता शर्माले जानकारी दिए ।


नेविसंघ गत माघ २८ देखि नेतृत्वविहीन छ । तरुण दलका अध्यक्ष जीतजंग बस्नेत र महामन्त्री भूपेन्द्रजंग शाहीले एकले अर्कालाई संगठनको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेका छन् ।


२०७४ को निर्वाचनको पूर्वसन्ध्यामा एकीकरणमा आएको नेपाल लोकतान्त्रिक फोरमका समायोजन गर्न बाँकी पार्टीका समिति र क्रियाशील सदस्यलाई कसरी समायोजन गर्ने भन्ने विषयको प्रतिवेदन बैठकमा पेस हुनेछ । अन्य पार्टीबाट प्रवेश गरेका र नेपाल लोकतान्त्रिक फोरमका पार्टी समिति र क्रियाशील सदस्यता समायोजनका लागि उपसभापति विमलेन्द्र नीधिको संयोजकत्वमा समिति बनेको थियो ।


त्यस्तै बैठकमा केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा गठित ‘भ्रातृ एवं शुभेच्छुक संस्थाको सैद्धान्तिक मापदण्ड तथा विधान सुझाव समिति’ ले तयार पारेको ६ भ्रातृ संस्थाको विधान पेस गर्ने एजेन्डा तय भएको छ ।


समितिले दलित संघ, प्रजातन्त्र सेनानी संघ, नेपाल किसान महासंघ, नेपाल थारु संघ, नेपाल सांस्कृतिक महासंघ र नेपाल महिला संघको विधान केन्द्रीय समितिमा पेस गर्ने तयारीमा संयोजक साउदले बताए ।

प्रकाशित : मंसिर २६, २०७६ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?