कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खोलो घरतिर सरेपछि ५८ परिवारले थातथलो छाडे

भूकम्पपछि पुनर्निर्माण गरिएको खानीगाउँ बस्तीमा दोङस्याङ खोलाले उठिबास लगाउँदै छ । खोलो घरतिर नजिकिँदै आएपछि ५८ परिवारले थातथलो छाडिसकेका छन् ।
हरिराम उप्रेती

(खानीगाउँ, गोरखा) — धार्चे गाउपालिका–७ लापुस्थित खानीगाउँका कान्छा कामीको घर साढे चार वर्षअघिको भूकम्पले भत्कायो । सात जनाको परिवारले २ हिउँद टेन्टमै बितायो । घरको जग नहाली पुनर्निर्माण प्राधिकरणले अनुदान नदिने भएपछि उनले छिमेकीलाई गुहारे । सरकारी अनुदान ३ लाखसमेतले एकतले घर बनाए । घर बनाएपछि अर्को समस्या आइलाग्यो ।

खोलो घरतिर सरेपछि ५८ परिवारले थातथलो छाडे

नजिकैको दोङस्याङ खोलो कान्छाकै आँगनतिर सर्न थाल्यो । ‘दुई वर्षअघिसम्म खोला छेउबाट सबैभन्दा टाढा मेरो घर थियो,’ उनले भने, ‘अहिले मेरोभन्दा अगाडिका एउटै घर छैनन्, मेरो घर खोलाछेउ पुग्यो ।’


खोलो नजिकिएपछि कान्छाको घरको आँगन चिरिएको छ । उनलाई कतिखेर घर भासिएला भन्ने डर छ । ‘सानो पानी परे पनि के–कसो हुने हो भन्ने चिन्ता हुन्छ । रात खोलातिर हेरेरै बित्छ,’ उनले भने ।


कान्छाकै जस्तो समस्या गाउँका १ सय १३ भूकम्पपीडित परिवारलाई छ । भूकम्पपछि पुनर्निर्माण भएको घरतिर खोलो सर्दै आएपछि ५८ परिवारले थातथलो छाडिसकेका छन् । भूकम्पपछि बनेका २२ घर भग्नावशेषजस्ता भइसके । पुनर्निर्माणका बेला सुरक्षित जग्गा चयन नहुँदा र प्राधिकरणले घर निर्माण भइरहेको स्थान सुरक्षित छ/छैन भनेर स्थानीयलाई नबताउँदा समस्या देखिएको हो । स्थानीय पुनराम गुरुङले भूकम्पपछि ५ वटा घर बनाएकामा ३ वटा भत्किसकेको बताए । भएका २ घर पनि सुरक्षित जग्गामा छैनन् । ‘प्राधिकरणका प्राविधिकले भनेजस्तै गरेर भूकम्पप्रतिरोधी घर बनाएका थिएँ । तर जमिन राम्रो नहुँदा घर बस्न लायक भएनन्,’ पुनरामले भने । भूकम्पपछि सालिन्दा नयाँ घर बनाउँदा ऋणले च्यापिएको पुनरामले सुनाए । ‘सरकारले दिएको ३ लाखले भूकम्पप्रतिरोधी दुईकोठे घर बनाएको थिएँ, त्यो भत्किएर फेरि दुइटा बनाइसकेँ,’ उनले भने, ‘जमिनै कमजोर भएपछि घर के टिक्थ्यो ।’ दोङस्याङ खोलाका कारण जमिनमा धाँजा फाटेको पुनरामले सुनाए ।


थातथलोको माया

गुरुङ जातिको बाहुल्य र केही दलित रहेको खानीगाउँवासीले निरन्तरको प्राकृतिक विपत्तिका बाबजुद पनि थातथलो छाड्न सकेका छैनन् । भूकम्पअघि १ सय १३ घरधुरीको झुरुप्प बस्ती भने अहिले फेरिएको छ । परम्परागत घर, आँगनमै खानेपानीको धारा, शान्त जीवन छैन । भूकम्पले गाउँको लय बदलिदिएको छ । भूकम्पमा परेर गाउँका सातले ज्यान गुमाएका थिए । भूकम्पपछिको एक वर्ष भग्नावेशष हटाउँदैमा बित्यो । पुनर्निर्माण प्राधिकरणको टोलीले १ सय १३ मध्ये ९८ घरलाई लाभग्राही सूचीमा राखेपछि पुनर्निर्माण सुरु भयो । सरकारी अनुदान ३ लाखले घर नबन्ने स्थानीयले निष्कर्ष निकाले । आलोपालो गरेर घर बनाउन उनीहरू कस्सिए । केही रकम ऋण काढे । एक वर्षमै बस्ती ठडाए । टेन्ट र टहरोमा बसेर आजित स्थानीय पुनर्निर्माण सकेको नयाँ घरमा सर्न हतारिए । जनजीवन सामान्य बन्दै गएका बेला २०७४ साउन ९ मा दोङस्योङ खोलाले बस्तीतर्फ कटान थालेपछि विपत्ति थपियो ।

स्थानीयका अनुसार करिब ५० रोपनी खेतीयोग्य जमिन जोखिममा छ । गुरुङ समुदायको अर्घ्युस्थल, प्रवेशद्वारको माने, घाँटु नाच्ने ठाउँ रहेको स्थल बगरमा परिणत भएको छ । पुनरामले भने, ‘अर्घ्यु गर्ने चौर खोलाको सेन्टर परेको छ, हिँड्ने मूलबाटो सबै बगायो ।’ गुम्दाको यमगाउँ–खानीगाउँ–लापु भीरकुना हुँदै सोती जाने पदमार्गअन्तर्गत खानीगाउँ क्षेत्रको पदमार्ग बगाएदेखि स्थानीयले सास्ती पाएका छन् । करिब ४५ मिनेटको दूरीमा रहेको लापुगाउँस्थित कालरात्रि माविमा खानीगाउँबाट जाने ३० भन्दा बढी विद्यार्थी र खर्कको गोठ जाने गाउँलेलाई समस्या छ । स्थानीयले झोलुंगे पुलको माग राखेका छन् ।


सुरक्षित जग्गा नभएका करिब ८ घरधुरी अझै ठाउँठाउँमा चिरिएको नवनिर्मित घरमा बसिरहेका छन् । अन्यत्र जग्गा नहुँदा उनीहरू असुरक्षित रूपमा बस्न बाध्य छन् । तीसमाया गुरुङको नवनिर्मित घरको मझेरी बीचभागबाट चिरिएको छ । ‘अर्को घर बनाउन सक्दनौं,’ उनले भनिन्, ‘बर्खाको समयमा घरमा खाना खाएर सुत्न छिमेकीकहाँ जान्छौं ।’ अन्यत्र सर्न सुरक्षित जग्गा नपाएको उनको गुनासो छ ।


जिल्ला विपद् व्यवस्थापन समितिले खानीगाउँको भौगर्भिक अध्ययनका लागि प्राधिकरणमा पत्राचार गरेपछि भूगर्भविद्को टोलीले गत माघमा सर्वेक्षण गरेको थियो । त्यस क्रममा बस्ती पहिरोको जोखिममा परेको निष्कर्ष निकालिएको थियो । तर बस्ती सार्ने प्रक्रिया सुरु भएको छैन । टोलीले गाउँलेलाई ३ सय मिटरको दूरीमा रहेको कोलडाँडामा सर्न सुझाएको थियो तर थातथलोको माया र अपर्याप्त जमिनका कारण स्थानीयले सर्न मन देखाएनन् । ‘जिजुबाजेले रोजेर बसेको ठाउँ झट्ट छाडेर हिँड्न मनले मान्दैन, बसे मरिन्छ कि भन्ने डर उत्तिकै छ,’ पुनरामले भने, ‘बस्ती सार्दा गिटी कुटेर वा दाउरा बटुलेर भए पनि गुजारा चलाउन सजिलो हुने ठाउँ रोज्नुपर्छ ।’


बस्ती जोखिमयुक्त भनेर निर्णय भने भइनसकेको प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीयको पूर्वाधार कार्यालय) गोरखाका प्रमुख रामशरण आचार्यले बताए ।

प्रकाशित : मंसिर २६, २०७६ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?