कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

रोकिएन म्यानमार हुँदै तस्करी

सुरेशराज न्यौपाने

(नयाँदिल्ली) — उनी एक महिनाअघि पाँच वर्षको छोरा श्रीमान्‌लाई छाडेर सुर्खेतस्थित घरबाट हिँडिन् । वैदेशिक रोजगारीका लागि कुवेत ताकेकी नेपालगन्ज पुगिन् । त्यहाँबाट रुपेडिया नाका भएर बसमा दिल्ली गइन् । महेन्द्रनगर र सुनौली हुँदै आएका अन्य सातजना भेटिए । उनीहरूलाई दिल्लीमा केही दिन राखेर जहाजबाट सिधै भारतको पूर्वोत्तर राज्य मणिपुरको इम्फाल पुर्‍याइयो ।

रोकिएन म्यानमार हुँदै तस्करी

इम्फाल विमानस्थल ओर्लनासाथ सबै पक्राउ परे । ‘पासपोर्टमा भिसा नलागेको देखेपछि एयरपोर्टका सुरक्षाकर्मीले नियन्त्रणमा लिए,’ उनले फोनमा संवाददातासँग भनिन्, ‘आफ्ना मान्छे आएपछि मात्र जान दिने भनेका छन् । एजेन्टहरू भने फोन अफ गरेर सम्पर्कविहीन छन् ।’


नेपालबाट इम्फाल पुर्‍याउँदासम्म एजेन्टले बस र जहाज भाडा, खानेबस्ने सबै व्यवस्था गरेको थियो । एउटाले बसमा चढाएर पठाउने र गन्तव्यमा पुगेपछि अर्को मान्छे लिन टुप्लुक्क आइपुग्ने गर्थ्यो । इम्फाल विमानस्थलमा एजेन्टले भने जसरी नै उनीहरूले श्रीलंका हिँडेको बताएका थिए । पक्राउ परेपछि उनीहरूलाई एउटा आश्रयस्थलमा राखिएको छ ।


अन्य सातजना नेपाली महिला पनि इम्फालबाट ११० किमिको दूरीको मुरेह नाकाबाट पक्राउ परेका छन् । ती सात जनालाई इम्फालबाट गाडी चढाएर नाका पार गराउन मुरेह पुर्‍याइएको थियो । नाका पार गर्नुअघि त्यहाँका सुरक्षाकर्मीले सोधपुछ गर्दा अलमलिएपछि उनीहरू पक्राउ परे । उनीहरूको पासपोर्टमा नाका पार गर्नुअघि नै म्यानमार अध्यागमनको नक्कली छाप लगाएको पाइएको थियो । गिरोहले म्यानमार हुँदै कुवेत पठाउन इम्फाल पुर्‍याएका अन्य एकजना पुरुष र दुई महिलालाई १४ नोभेम्बरमा इम्फाल प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरूलाई भने नेपाल फर्काइएको छ ।


यी तीन घटनाले नेपाली महिलालाई मणिपुर हुँदै म्यानमार र त्यहाँबाट खाडी राष्ट्र पुर्‍याउने मानव तस्करीको रुट अझै चालु रहेको देखाएका छन् । ‘एक वर्षअघि खुलासा भएको त्यो रुट अझै पनि चलिरहेको रहेछ,’ चेलबेटी बेचबिखनविरुद्धको अभियानमा सक्रिय मणिपुरका अर्जुन जोगीले भने ।


करिब वर्षदिनअघि अवैध तरिकाले वैदेशिक रोजगारीमा हिँडेका १७९ जना नेपालीलाई इम्फाल प्रहरीले दिल्लीस्थित नेपाली दूतावाससँगको समन्वयमा उद्धार गरेर घर फर्काएको थियो । उनीहरूलाई इराक र कुवेत लैजाने भन्दै म्यानमार सीमामा पुर्‍याइएको थियो ।


सुरुमा ११ जना नेपालीलाई प्रहरीले सोधपुछ गरेपछि मानव तस्करीको नयाँ रुटबारे खुलेको थियो । स्थानीय प्रहरी र दूतावासबाट गएको नेपाली टोलीले संयुक्त रूपमा मणिपुरको राजधानी इम्फाल र विमानस्थल छेउछाउका होटलमा छापा मारेपछि इराक र कुवेतलगायत खाडी मुलुक पुर्‍याइदिने भन्दै लगिएका अरू फेला परेका थिए । उनीहरूलाई दिल्लीमा केही दिन राखेर इम्फाल पुर्‍याइएको थियो । उक्त घटनामा संलग्न भएको आरोपमा स्थानीय प्रहरीले आठ जनालाई पक्राउ गरेको थियो ।


नेपाल सरकारले भारत हुँदै तेस्रो मुलुक जानका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) अनिवार्य गरेपछि पछिल्लो समय मानव तस्करहरूले भारतका साना सहरबाट उडाउनेदेखि नक्कली एनओसी बनाउनेलगायत उपाय अपनाउँदै आएका हुन् ।


प्रकाशित : मंसिर २५, २०७६ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?