कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संसद्‌भित्रै यौनहिंसा : ‘के हग गर्दा पनि फिलिङ्स आउने गरी गर्नुपर्छ ? टाँसिइरहनुपर्छ ?’

प्रतीक्षा काफ्ले

(गण्डकी) — ‘यौनहिंसा भनेको के हो ? कसरी हुन्छ ? हिंसामा परेका महिलाले कसरी व्यक्त गर्ने ? कोसँग, कहाँ गएर हिंसामा परें भनेर गुहार्ने ? यी प्रश्नको जवाफ छ ?’

संसद्‌भित्रै यौनहिंसा : ‘के हग गर्दा पनि फिलिङ्स आउने गरी गर्नुपर्छ ? टाँसिइरहनुपर्छ ?’

गण्डकी प्रदेशसभा सदस्य पुष्पा केसी भण्डारीले तेर्स्याएका प्रश्न हुन् यी । उनले संसद्‌भित्रै आफूहरूमाथि यौनहिंसा भएको बताइन् । भनिन्, ‘पुरुष सांसदबाट संसद्‌भित्रै हामीमाथि यौनहिंसा भएको छ, तर इज्जतको डरले सहन बाध्य छौं ।’


पुरुष सांसदहरूले जिस्किने र मात्तिने नियतले फिलिङ्स दिने गरी हात मिलाउने र टाँसिएर ‘हग’ गर्ने गरेको उनले दाबी गरिन् । ‘के हग गर्दा पनि फिलिङ्स आउने गरी गर्नुपर्छ ? टाँसिइरहनुपर्छ ?’ उनले भनिन् ।


पढेलेखेका, बुझ्ने र शिक्षित व्यक्ति पुग्ने संसद् भवनभित्रै भइरहेका यस्ता गतिविधिप्रति कसैको ध्यान नपुगेकोमा उनले गुनासो गरिन् । ‘हामी महिला–पुरुष सबैसँग हात मिलाउँछौं,’ लैंगिकताको सवालमा संसदीय निगरानी विषयमा सोमबार आयोजित कार्यशालामा उनले भनिन्, ‘हामी उनीहरूलाई सम्मान गर्छौं, सम्मानस्वरूप हात मिलाउने बानी छ । मैले मात्र होइन, सबै महिला साथीले पुरुषसँग हात मिलाउनुहुन्छ, तर उनीहरूले सम्मान र अभिवादनका लागि हात मिलाएका हुँदैनन् ।’


उनले शिक्षित महिला पनि यौनहिंसाबाट पीडित बन्नुपरेको बताइन् । ‘यो उमेरमा, यो अवस्थामा आउँदा पनि किन यस्तो ?,’ भावुक बन्दै उनले प्रश्न गरिन्, ‘अनावश्यक मान्छे, बिनाकाम हामीलाई छुन आउँछन् । हामीलाई किन छुने भन्ने मेरो जिज्ञासा हो । हामीले राम्रोसँग हिंसा भएको अनुभव गरेका छौं तर भन्न भएन, भन्नैपरे पनि कोसँग कहाँ गएर भन्ने ? मौन बस्नुको अर्को कुनै विकल्प छैन ।’ यौनहिंसा र महिला हिंसा गर्ने यस्ता पुरुष सांसदविरुद्ध महिला सांसदले एक भएर आवाज उठाउनुपर्ने उनले बताइन् ।


पुरुष सांसदहरू बोल्ने क्रममा पनि जिस्किएर, हिंसात्मक रूपमा प्रस्तुत हुने गरेको अरू महिला सांसदले गुनासो गरे । ‘पुरुष सांसद हामीसँग बोल्दा सांसदको हैसियतभन्दा फरक ढंगले बोल्छन्,’ अर्की सांसद भन्छिन्, ‘हिँड्दा ठोक्किँदै हिँड्ने, गफ गरेर बसेका छौं भने जिस्किँदै रफ शब्द बोल्ने, पुरुषले प्रयोग गरेका शब्दले हामीलाई अड लाग्छ ।’


उनले पनि यौनहिंसाविरुद्ध खुलेर सदनमै बोल्नुपर्ने बेला आएको बताइन् । ‘हामीले यौनहिंसा, महिला हिंसा सहनु हुँदैन भनेर आवाज उठायौं, महिला अधिकारको विषयमा लामो समयसम्म संघर्ष गर्‍यौं,’ उनले भनिन्, ‘ज्यान जोखिममा राखेर लड्यौं पनि । पहिलो पटक सदनमा पाइला टेक्दा स्वयं यौनहिंसामा परेका छौं ।’


आफूमाथि भएका हिंसाबारे बोल्न नसक्ने कमजोरीको फाइदा पुरुष सांसदले उठाइरहेको उनीहरूको बुझाइ छ । कैयौं पढेलेखेका, बुद्धिजीवी भनिने महिला पनि यौनहिंसाको सिकार बनेको उनले दाबी गरिन् । ‘बाहिर प्रस्तुत हुन नसकेका मात्र हुन्, उनीहरू दिनानुदिन सहकर्मीबाट हिंसा सहन बाध्य छन्,’ उनले थपिन् ।


प्रदेशसभा सदस्य प्रभा कोइरालाले राजनीतिक पार्टीले नै विभेद गरेको बताइन् । ‘हिजोका दिनमा बुझेर वा नबुझेर महिला अधिकारको विषयमा लडाइँ गर्‍यौं,’ उनी भन्छिन्, ‘अधिकार पायौं भनेर खुसी भयौं तर आफैंले कार्यान्वयन गर्न सकेनौं । अब हामीले अधिकार कार्यान्वयनका लागि लड्नुपर्छ ।’


गण्डकी प्रदेशकी उपसभामुख सिर्जना शर्माले महिला र पुरुषप्रति गरिने व्यवहार फरक रहेको बताइन् । ‘महिलालाई हेरिने दृष्टिकोण बदल्न जरुरी छ,’ उनको भनाइ छ, ‘संसदीय अभ्यासमा निगरानी गर्न नसके महिला अघि बढ्न सक्दैनन् ।’ उनले महिलाले केही बुझ्दैनन् र जान्दैनन् भन्ने भ्रम हटाउनुपर्ने बताइन् ।

समानुपातिक सांसद दोस्रो दर्जाका नागरिक

‘हामीले लगाउने कोट एउटै रंगको छ । महिला वा पुरुष, समानुपातिक या प्रत्यक्ष निर्वाचित । सबै सांसदको कोट खैरो छ । लोगो फरक हुँदैन । तर, प्रत्यक्ष निर्वाचित सांसद र समानुपातिक सांसदबीच गरिने व्यवहार फरक छ । के हामी दोस्रो दर्जाका नागरिक हौं ?’ प्रदेशसभा सदस्य गायत्री गुरुङले भनिन्, ‘प्रत्यक्ष सांसद जनताका रे, हामी पार्टीका । पुरुषवादी यो मानसिकता नहटेसम्म समानुपातिक सांसदलाई गरिने व्यवहारको अन्त्य कहिल्यै हुँदैन ।’


सांसद गुरुङले प्रत्यक्ष निर्वाचितबाट जाने सांसदको रूपमा पुरुषको संख्या बढी रहेको बताउँदै महिला अनि समानुपातिक सांसद भनेर संसद्भित्रै तल्लोस्तरको व्यवहार हुने बताइन् । महिलाको विषयमा अधिकारका कुरा धेरै उठे पनि कार्यान्वयनको पाटो फितलो रहेको उनको तर्क थियो । नेतृत्वमा महिला नपुगेसम्म यस्तो समस्याको अन्त्य नहुने उनी बताउँछिन् । नेतृत्व तहमा पुरुष भएकाले महिला समस्या ज्युँका त्युँ रहेको उनको दाबी छ ।


प्रदेशसभाकी अर्की सदस्य धनमाया लामाले पनि संसद्भित्रै दोस्रो नागरिकको व्यवहार हुने गरेको गुनासो गरे । बजेट बाँडफाँटको विषयमा पनि प्रत्यक्ष र समानुपातिक सांसदलाई दुईवटा नियतले हेरिने गरेको उनले बताइन् । उनले ३३ प्रतिशत महिला अधिकार भए तापनि समानुपातिकमा मात्र सीमित बन्नुपरेको बताएकी थिइन् ।


कार्यक्रममा गण्डकी प्रदेशसभाका सबै २० सांसदलाई बोलाइए पनि पाँच जना मात्रै सहभागी भएका थिए ।


प्रकाशित : मंसिर २४, २०७६ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?