कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

ओलीको अनुपस्थितिमा नेकपाका तीन बैठक, यस्ता छन् १५ निर्णय

बबिता शर्मा

काठमाडौँ — सत्तारुढ नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सिनियर र जुनियरको विवाद कायमै छ । पछिल्लो अर्न्तवार्तामा पनि प्रधानमन्त्री ओलीले आफू सिनियर अध्यक्ष भएको बताएका थिए ।

ओलीको अनुपस्थितिमा नेकपाका तीन बैठक, यस्ता छन् १५ निर्णय

तर, ओलीको अनुपस्थितिमा पनि सचिवालय बैठक बसेर नेकपाले महत्वपूर्ण निर्णय गर्न थालेको छ । ओली उपचार वा आराममा रहेकाले तीन वटा बैठकमा सहभागी हुन सकेनन् । यद्यपी यस्तो बैठक बोलाउनु अगाडि बैठकको मिति र एजेन्डाबारे दाहालले ओलीसँग भने छलफल गर्ने गरेका छन् ।


ओलीको अनुपस्थितिमा तीन बैठक


पार्टी एकताको १८ महिनामा ओली सहभागी नभएका नेकपाका तीन सचिवालयका बैठकले १५ निर्णय गरेको छ । पछिल्ला दुई बैठक ओली र दाहालको जिम्मेवारी तय गर्ने मंसिर ४ को निर्णयपछि बसेका छन् भने एउटा बैठक ओली उपचारका लागि सिंगापुर गएको बेला भदौ ९ गते बसेको थियो ।

एपेन्डिसाइटिसको शल्यक्रियापछि ओली मंसिर १९ गते मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट प्रधानमन्त्री निवास बालुवाटार गएका थिए । अहिले उनी निवासमा आराम गरिरहेका छन् ।


सचिवालय बैठकले पार्टी र सरकारको भूमिकालाई प्रभावकारी बनाउन अध्यक्षद्वयको कार्यविभाजन टुंगो लगाएको थियो । यसैका आधारमा दाहालले आफ्नो अध्यक्षतामा बैठक बोलाउन थालेका हुन् । त्यसैले सोमबार बसेको नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली अनुपस्थिति रहे । तर, दाहालको अध्यक्षतामा बसको बैठकले ८ वटा निर्णय लियो ।


बैठकको पहिलो निर्णय पार्टी विधानमा केही संशोधनगर्ने निर्णय गरेको छ । दोस्रो, हालै सम्पन्न उपनिर्वाचनको समीक्षाका सन्दर्भमा सम्बन्धित पार्टी कमिटीहरुलाई समीक्षात्मक रिपोर्ट पठाउन पाँच दिनको समय थप गर्ने निर्णय गरेको छ ।

तेस्रो, संगठन विभागका तर्फबाट पेश भएको कार्ययोजनासम्बन्धी प्रस्तावलाई पार्टीको अर्को सचिवालयको बैठकमा अध्यक्षले निर्णयार्थ प्रस्तुत गर्ने निर्णय गरेको छ ।

चौंथो, पार्टीका केन्द्रीय निकायहरुको पूर्णताका लागि सम्बन्धित विभाग, आयोगका प्रमुख र उपप्रमुखहरुले सात दिनभित्र त्यससम्बन्धी प्रस्ताव पेश गर्ने उक्त प्रस्ताव अनुसार अर्को सचिवालय बैठकले पूर्णता दिने निर्णय गरेको छ ।

पाँचौं, विभिन्न जिल्लाहरुमा संगठनात्मक क्षेत्रमा समस्याहरु देखा परेको सन्दर्भमा ती समस्याहरुको आवश्यक छानविन र समाधान गर्न संगठन विभागलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

छैटौं, सचिवालयको आगामी बैठक मंसिर २७ गतेलाई बोलाउने निर्णय गरेको छ । सातौं, स्थायी कमिटीको बैठक २९ गतेलाई बोलाउने निर्णय गरेको छ ।

पार्टीको कर्णाली प्रदेशका सचिव मायाप्रसाद शर्माले दिएको राजीनामा अस्वीकार गर्ने निर्णय सहित आठ वटा निर्णय सोमबारको सचिवालय बैठकले गरेको छ ।

यस अघि मंसिर १८ गते ओलीको अनुपस्थितिमा बसेको सचिवालय बैठकले तीन वटा निर्णय लियो । पहिलो निर्णय उपनिर्वाचन भएका क्षेत्रका पार्टी कमिटीलाई समीक्षा सहितको प्रतिवेदन पेश गर्न निर्देशन दिएको थियो ।


दोस्रो, प्रधानमन्त्रीको स्वास्थ्यलामको कामना र चुनावी समीक्षा र पार्टी संगठनको विषयमा निर्णय लिन सोमबारलाई सचिवालय बैठक बोलाउने निर्णय गरेको थियो ।


त्यसबाहेक ओली उपचारका लागि सिंगापुर गएका बेला दाहालको अध्यक्षतामा भदौ ९ गते बसेको नेकपाको सचिवालय बैठक चार निर्णय गरेको थियो ।


उक्त बैठकले केही सांगठनिक एकीकरणका काम टुंग्याएको थियो भने केही नेताहरुको जिम्मेवारी हेरफेर गर्ने पहिलो निर्णय गरेको थियो ।


दोस्रो, प्रधानमन्त्रीको स्वास्थ्यलाभको प्रस्ताव पारित, तेस्रो, विभिन्न पार्टीबाट नेकपामा प्रवेश गरेका चार जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको थियो ।


पार्टीका नेता तथा कार्यकर्ताकालाई पार्टीसँग सम्बन्धित विषयमा पार्टी कमिटी बाहेक अन्यत्र नबोल्न निर्देशन दिँदै सार्वजनिक रुपमा बोले कारबाही गर्ने चौंथो निर्णय उक्त बैठकले लिएको थियो ।


दाहालले बोलाएका बैठक पार्टी कार्यालयमा


ओलीले बोलाएका सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आएका थिए । दाहालले भने तीन वटै बैठक पार्टी कार्यालय धुम्बाराहीमा डाकेका छन् ।


दाहालले कार्यकारी भूमिका पाएलगत्तै पालैपालो तत्कालीन एमालको केन्द्रीय कार्यालय धुम्बाराही र तत्कालीन माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाउने बताएका थिए ।


धुम्बाराही र पेरिसडाँडा दुवैतिर ओली र दाहालका भिन्दाभिन्दै कार्यकक्ष छन् । तर, दुवै अध्यक्ष बैठक बस्ने बेलाबाहेक केन्द्रीय कार्यालय जाने गरेका छैनन् ।


सिनियर र जुनियर विवाद कायमै

मंसिर ४ गतेको नेकपाको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको हैसियतले सरकारको काममा केन्द्रित हुने र अध्यक्ष पुष्पकमल दाहाल कार्यकारी अधिकार सहित पार्टी काममा केन्द्रित हुने । बैठक संयुक्त अध्यक्षतामा सञ्चालन गर्ने । आमरूपमा बैठकको अध्यक्षता र सञ्चालन कमरेड पुष्पकमल दाहालले गर्ने निर्णय गरेको थियो ।


यो निर्णयपछि ओलीको अनुपस्थितिमा पनि नेकपाको बैठक बस्ने औपचारिक बाटो खोलेको थियो । यद्यपी दुई अध्यक्षबीचको समझदारीमा दुवैले आवश्यकता अनुसार बैठकको अध्यक्षता गर्न सक्ने समझदारी छ ।


पछिल्लो निर्णयले पार्टी झन् एक ढिक्का भएको भन्दै कान्तिपुर दैनिकलाई दिएको अन्तर्वार्तामा दाहालले भनेका थिए, ‘दुईटा अध्यक्षले कताकता जोड दिने भन्ने पनि टुंग्याएका छौँ । एउटाले सरकारमा जोड दिने र एउटाले पार्टीमा जोड दिने भन्ने पनि टुंग्याएका छौँ । पार्टीमा अब कुनै भ्रम छैन । अब बाटो साफ भएको छ ।’


जबकी कार्यविभाजनबारे कान्तिपुर टेलिभिजनलाई दिएको अन्तर्वार्तामा ओलीले भनेका थिए, ‘हामी दुवै अध्यक्ष छौं । मैले अध्यक्षता नगर्ने र म कार्यकारी होइन भन्ने होइन । म पनि कार्यकारी अध्यक्ष हो र म सिनियर अध्यक्ष हो । वरीष्ठताक्रममा मेरो प्रथम स्थान हो । त्यसपछि उहाँ हो र म पनि कार्यकारी हो । उहाँ पनि कार्यकारी हो ।’

प्रकाशित : मंसिर २३, २०७६ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?