कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बायोमेडिकल गर्ने बेस्टिनेट गलत छैन : मलेसिया मानव संसाधन मन्त्री

काठमाडौँ — मलेसियाको मानव संसाधन मन्त्री कुला सेघरनले नेपाल सहित १४ देशमा कामदारको बायोमेडिकल गर्ने जिम्मेवारी पाएको बेस्टिनेटले कामदारलाई आर्थिक शोषण नगरेको बताएका छन् । उनले बेस्टिनेटमाथि लगाइएको सम्पूर्ण आरोपहरु खारेज गरेको समेत बताए ।

बायोमेडिकल गर्ने बेस्टिनेट गलत छैन : मलेसिया मानव संसाधन मन्त्री

‘मलेसिया सरकारले बेस्टिनेटमाथि लगाइएको आरोपहरु खारेज गरेका छौं । उसले कामदारमाथि शोषण गरेको भन्ने आधार सत्य हुन सकेन,’ संसदमा जवाफ दिँदै मानवसंसाधन मन्त्री सेघरनले भने, ‘अनुसन्धानबाट हामीले लगाइएका आरोपहरु असत्य साबित भयो ।’


मानव संसाधन मन्त्रालयको नेतृत्व लिए लगत्तै सेघरनले नै बेस्टिनेटबाट कामदारमाथि शोषण भएको भन्दै अनुसन्धान थालेका थिए । बेस्टिनेटले नेपालमा ३९ ओटा स्वास्थ्य संस्थालाई कामदारको बायोमेडिकल गर्न छनोट गरेको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बायोमेडिकलमा मापदण्ड पूरा गर्ने स्वास्थ्य संस्था छनोट हुनुपर्ने अडान राखेपछि बेस्टिनेटले आवश्यकता अनुसार मेडिकल थप गर्न श्रम मन्त्रालयद्धारा प्रस्तावित ८६ वटा स्वास्थ्य संस्थासँग आवेदन मागेको थियो ।


आवेदन दिने म्याद डिसेम्बर ४ मा समाप्त भएको छ । बेस्टिनेटले कागजात पूरा गर्ने स्वास्थ्य संस्थाको अनुगमनको लागि नेपाल आउने जनाएको छ । अनुगमनमा छनिए पछि मात्रै नयाँ स्वास्थ्य संस्था बायोमेडिकलको प्रणालीभित्र जोडिनेछ ।


नेपालमा पनि ३९ ओटा स्वास्थ्य संस्थामाथि भएको ठगीको अभियोग प्रमाणीत हुन सकेन । उच्च अदालतले ३९ ओटा नै सञ्चालकलाई सफाइ दिइसकेको छ ।


बेस्निेटका प्रमुख कार्यकारी अधिकृत इस्माएल मोहद नुरले मानव संसाधन मन्त्रीको पछिल्लो निर्णय स्वागतयोग्य भएको बताए । ‘हामीमाथि लागेको आरोप गलत साबित भएको छ । यसले हामीलाई थप उर्जा मिलेको छ’, उनले भने, ‘मलेसिया आउने आप्रवासी कामदारको व्यवस्थापन गर्नको लागि बेस्निेटले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । यसको सही कदर भएको छ ।’


नेपाल र मलेसियाबीच सम्पन्न श्रम सम्झौताका अनुसार बायोमेडिकल गर्न कामदारसँग नेपालमा लिइएको शुल्क मलेसिया पुगेपछि रोजगारदाताले पहिलो महिनामा फिर्ता गर्नुपर्छ । बेस्निेटको प्रणाली शुल्क, स्वास्थ्य परिक्षण शुल्क र करसहित कामदारले ७ हजार रुपैयाँ स्वास्थ्य संस्थालाई बुझाउनुपर्छ ।

प्रकाशित : मंसिर २३, २०७६ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?