कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मन्त्री त्रिपाठी भन्छन्, 'विधेयक दीर्घकालीन बना‌‌औँ'

जयसिंह महरा

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले कानुन निर्माण गर्ने बेला सत्ता पक्ष र प्रतिपक्ष भएर नगर्न आग्रह गरेका छन् । उनले सत्तापक्ष कुनैबेला प्रतिपक्षमा पनि पुग्न सक्ने र प्रतिपक्षपनि कुनैबेला सत्तापक्ष बन्ने भएकाले दीर्घकालीन कानुन निर्माण गर्नुपर्ने बताएका हुन् । 

मन्त्री त्रिपाठी भन्छन्, 'विधेयक दीर्घकालीन बना‌‌औँ'

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सोमबार राज्य व्यवस्था समितिमा भएको छलफलमा सत्तापक्ष र प्रतिपक्षाका सांसदले स्थानीय तहका कर्मचारीको सरुवा सम्बन्धि व्यवस्थामा अडान राखेपछि मन्त्री त्रिपाठीले भने, 'सरकारका रहेकाले यसमा आफ्नो कपिराइट छ भन्ने नठानौँ । प्रतिपक्षमा बसेकाले सरकारमा नै गइँदैन कि भन्ने सोच नराखौँ । जनताले सरकार फेरिरहन्छन्, विधेयक दीर्घकालीन बनाउनुपर्छ । '


समितिमा स्थानीय तहमा एक तहबाट अर्को तहमा सरुवा गर्ने की नगर्ने भन्ने विषयमा छलफल भएको थियो । सत्तारुढ दलका सांसदहरु रेखा शर्मा, पम्फा भुसाल, झपट रावल,नवराज सिलवाल कर्मचारीको सहमति नलिई आवश्यकताको आधारमा सरुवा गर्नुपर्ने पक्षमा छन् भने प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरु विलेन्द्रप्रसाद बडु, डिला संग्रौला र अमरेश कुमार सिंह लगायत कर्मचारीको सरुवा सहमतिमा हुनुपर्ने बताउँदै आएका छन् ।


मन्त्री त्रिपाठीले स्थानीय तहका कर्मचारीको सरुवा एउटा तहबाट अर्को तहमा हुनुपर्ने बताए । उनले भने, 'एउटा स्थानीय तहको कर्मचारी सरुवा नहुने हो भने उसको अवस्था कस्तो हुन्छ ? प्रमुख प्रशासकीय अधिकृत र अन्यहरू मठाधिश भएर बस्छन् । उनीहरुको त्यस्तो मनोविज्ञान भए के हुन्छ ? उनीहरू भन्नेछन् - राजनीतिक नेतृत्व पाँच पाँच वर्षमा आउने हो, हामी स्थायी हौँ ।'

यस्तै मन्त्री त्रिपाठीले विधेयकमा आफ्ना अनुभवहरु पनि नराख्न आग्रह गर्दै विधेयक दीर्घकालीन हुनुपर्ने बताए । उनले कानुन निर्माण गर्दा दीर्घकालीनसम्म हुने किसिमको बनाउनुपर्नेमा जोड दिए ।

प्रकाशित : मंसिर २३, २०७६ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?