कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रिपोर्ट लिन अस्पतालमै बास

सीटी स्क्यानको रिपोर्ट नआएपछि रुपन्देहीबाट आएको एक परिवार ६ दिनदेखि वीर अस्पतालको चिसो भुइँमा रात कटाइरहेको छ
मकर श्रेष्ठ

काठमाडौँ — साँझ पर्नासाथ वीर अस्पतालको ओपीडी भवनको भर्‍याङ छेउमा दुईवटा बोरा र एउटा जेब्रा झोला भित्रिन्छ । यही सामानको वरिवरि हुन्छन्, ७० वर्षीया वृद्धासहित पाँच जनाको परिवार । जब अस्पतालको मूलढोका बन्द हुन्छ, उनीहरू बोरा खोल्छन् ।

रिपोर्ट लिन अस्पतालमै बास

भोटाहिटीको पसलमा मागेर ल्याएको कार्टुन भुइँको चिसो छेक्न ओछ्याइन्छ । क्यान्टिनमा पालैपालो गरेर खाना खान जान्छन् । बिहान खाना खाएपछि एकैचोटि बेलुका मात्रै पेटमा अन्न पर्छ ।

रुपन्देहीको रोहिनो गाउँपालिका–५ बुचीबाट उपचार गराउन मंगलबार बिहान काठमाडौं आइपुगेका जितेन्द्र हरिजन र उनका पाँचजना आफन्त दिनभर अस्पतालमा उभिँदा र वरिपरि चहार्दा थाकेका हुन्छन् । क्यान्टिनमा जति खाए पनि दिन्छन् तर फ्याँक्न नपाइने नियम क्यान्टिनका कर्मचारीले उनीहरूलाई पनि सुनाउँछन् । खाना खान्छन् अनि अस्पतालको सूचना डेस्कसँगैको भर्‍याङ छेउको चिसो भुइँमा पल्टिन्छन् । उनीहरूले यसरी चिसो भुइँमा बिताएको ६ दिन भइसक्यो ।

जितेन्द्रलाई बुटवलको क्रिमसन अस्तपालमा जाँच गराउँदा पेटमा पानी जमेको देखाएपछि काठमाडौंको ठूलो अस्पतालमा जान सिफारिस ग‍रियो । खेती गर्ने हरिजनको परिवारलाई काठमाडौको यात्रा टाढाको थियो ।

किनभने उनीहरूसँग काठमाडौं आउने खर्च पनि थिएन । उपचार गर्ने खर्च त परको कुरा । बुटवलको अस्पतालबाट गाउँ फर्किए । सयकडा पाँच प्रतिशतमा २५ हजार ऋण गरे । अनि तय गरे काठमाडौको सबैभन्दा पुरानो वीर अस्पतालको यात्रा । वीरमा चिकित्सकलाई देखाउनेबित्तिकै निको हुने विश्वास लिएर सोमबार राति जितेन्द्रका ७० वर्षीय बुबा तिमल, दाइ मनबहादुर, श्रीमती रेनु र भिनाजु होबिन हरिजन ‘नाइट’ बस चढे । एकजनाको सात सय ५० तिरेर आएका उनीहरू मंगलबार बिहान साढे पाँच बजे कलंकी आइपुगे । बसबाट ओर्लेर सिधै वीर अस्पताल पुगे ।

वीरमा ७५ रुपैयाँको टिकट काटेर ग्यास्ट्रो सर्जरी विभागमा देखाए । चिकित्सकले रगत परीक्षण, सीटी स्क्यान गर्न लगाए । चिकित्सकको त्यो सिफारिस उनीहरूका लागि घाँडो बन्यो । सीटी स्क्यान र रगतको जाँच गराउन त्यही दिन पैसा तिरे । तर, सीट स्क्यानको पालो मंगलबार आएन ।


‘दुई दिनपछि मात्रै सीटी स्क्यान गराउने पालो आउने भएपछि कहाँ जाने भनेर हामी आपतमा पर्‍यौं,’ जितेन्द्रले सुनाए, ‘दुईदिन कुर्नुपर्ने भएपछि वरिपरिको पसलबाट कार्टुन माग्यौ । गाउँबाटै ल्याएको ओड्ने निकालेर अस्तपालमै सुत्न थाल्यौं ।’ बुटवलको अस्पतालले जितेन्द्रलाई लागेको रोग जटिल भएको बताएपछि उनीहरूले ब्ल्यांकेट र डसना बोकेरै आएका थिए ।

पैसा तिरेको दुई दिनपछि बिहीबार सीटी स्क्यान गराए । पालो नआउँदासम्म पनि उनीहरूले अस्पतालको भर्‍याङअगाडि नै रात कटाइरहे । बिहानको झिसमिसेमै सुरक्षा गार्डले उठाउँथे । उनीहरू जर्‍याकजुरुक उठ्थे । चिसो भुइँमै सुतेर ७० वर्षीय तिमलको अनुहार सुन्निएको छ । आँखा राता छन् । आइतबार भेट्दा उनी थकित देखिन्थ्यो । नेपाली बोल्न नजान्ने उनी आफ्नो मनको पीडा खुलेर सुनाउन पनि सक्दैनथे । छोराको पेटमा पानी जमेको खबर चिकित्कसले जुन दिन सुनाए, त्यस दिनदेखि हरिजन परिवारका सदस्य निराश छन् ।


अस्तताल आएको ६ दिन हुँदा पनि रोग पत्ता लाग्न सकेको छैन । ‘खाना खानेबित्तिकै बमिट हुन्छ । बुटवलमा पेटमा पानी जमेको छ भन्छ । खै के भयो ?’ जितेन्द्रले भने । उनीहरू मात्रै होइन रुपन्देहीको रोहिनो गाउँपालिका ५ बुचीका स्थानीय बासिन्दा पनि जितेन्द्र बिरामी भएपछि चिन्तित छन् । ‘यहाँ (काठमाडौंमा) हाम्रो कोही छैनन् । होटलमा बस्न पैसा छैन,’ जितेन्द्रले भने, ‘हस्पिटलको क्यान्टिनमा खान्छौं । यहीं सुत्छौं ।’ उपचार के भयो भन्दै गाउँबाट सोधीखोजी गर्दै बारम्बार फोन आइरहन्छ । यताबाट जितेन्द्रले रिपोर्ट आएकै छैन भन्दै सुनाउने गरेका थिए ।


गाउँलेले काठमाडौंमा बस्ने कपिलवस्तुका निर्मल विश्वकर्मालाई फोन गरेर अस्पताल गइदिन गुहारे । कसैको भनसुन नभएकै कारण ढिलाइ भएको हुन सक्ने भन्दै जितेन्द्रले आइतबार त निर्मललाई लिएर सिटी स्क्यान कोठामै लिएर गएँ । ‘उहाँहरू रिपोर्ट नपाएर अस्पतालमै बसिरहनुभएको रहेछ । मलाई गाउँबाट फोन आएपछि हेर्न आएको हुँ,’ उनले भने । सीटी स्क्यानको रिपोर्ट लिन कर्मचारीले उनीहरूलाई शनिबार बोलाएका थिए । उनीहरू शुक्रबार बेलुका पनि रिपोर्ट आयो कि भनेर रेडियोलोजी विभागमा पुगे । कर्मचारीले शनिबार आउन आग्रह गरे । शनिबार बिहान–बेलुकै गए । कर्मचारीले आइतबार बिहान बोलाएका थिए, रिपोर्ट पाएनन् । उनीहरूलाई फेरि सोमबार बोलाइएको छ ।


हामीले आइतबार २ बजे जितेन्द्रका दाइ र बुबालाई सीटी स्क्यानको कोठाबाहिर भेटायौ । जितेन्द्र भने निर्मललाई लिएर सीटी स्क्यानको रिपोर्टबारे जानकारी लिन भित्र छिरेका थिए । ६ दिनदेखि अस्तपालमै बास बस्दा पनि सीटी स्क्यान नपाएपछि हामीले उनको समस्या अस्तपालका निर्देशक डा. केदारप्रसाद सेञ्चुरीलाई जानकारी गरायौं । उनले सोमबार बिहानसम्म रिपोर्ट उपलब्ध गराउन कर्मचारीलाई अह्राए ।


‘सीटी स्क्यानको रिपोर्ट आउन कम्तीमा चार दिन लाग्छ,’ उनले भने, ‘दिनहुँ ६० देखि ७० जनाको सीटी स्क्यान हुन्छ । रिपोर्टिङ गर्दा ढिलाइ भएको हो ।’ गाउँबाट आएका बिरामी आफन्त नभएपछि अस्पतालमै बसेर रिपोर्ट लिएपछि जाँच गराएर जाने गरेको उनले बताए । ‘यस्ता बिरामी र कुरुवा राख्ने ठाउँ हामीसँग छैन,’ उनले भने, ‘रिसियस बिरामी त बेड नपाएर फर्काउनुपर्ने हुन्छ ।’


ऋण गरेको २५ हजारमध्ये उनीहरूले १९ हजार रुपैयाँ सिध्याइसके । ६ हजार सीटी स्क्यानको तिरे । तीन हजार ल्याबमा बुझाए । तीन हजारको औषधि किने । सात हजार आउँदा गाडी भाडा र अस्पताल बस्दा खाँदैमा सकाए । ‘रिपोर्ट आउनै बाँकी छ,’ उनले भने, ‘थप उपचार गर्ने पैसा पनि छैन ।’


प्रकाशित : मंसिर २३, २०७६ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?