सडकमै छुटे जुत्ता- समाचार - कान्तिपुर समाचार

सडकमै छुटे जुत्ता

बाँकेमा आइतबार स्कुल जाँदै गरेकी एक बालिकालाई ट्रकले किचेपछि उनका दुवै खुट्टा गुमे । विरोधमा उत्रिएका साथी, शिक्षक र स्थानीयमाथि प्रहरीले उल्टै दमन गर्दा कोहलपुर तनावग्रस्त भयो । 
मधु शाही

(कोहलपुर, बाँके) — कक्षा ७ की छात्रा हुन् प्रकृति चन्द । बाँकेकी यी ११ वर्षेको स्कुल (त्रिभुवन नमुना मावि) कोहलपुर चोक नजिक राजमार्ग छेवैमा छ । आइतबार पनि उनी सधैंझैं स्कुल पुग्ने तर्खरमा थिइन् । उनलाई स्कुटरमा पुर्‍याउन आएका थिए बुबा नगेन्द्रबहादुर ।

घरदेखि स्कुटरमा ल्याएका नगेन्द्र छोरीलाई राजमार्गको जेब्राक्रससम्म पुर्‍याएपछि वारिबाटै फर्कंदै थिए । अचानक उनको कानमा दुर्घटनाको कर्कश आवाज पर्‍यो । छोरीलाई क्षणभरमै ट्रकले घिसार्दै पर पुर्‍याइसकेको थियो । तत्काल त उनले त्यो दृश्य पत्याउनै सकेनन् ।


कोहलपुर चोकदेखि केही मिटर परको त्यो दुर्घटनाका प्रत्यक्षदर्शी सबै स्तब्ध भए ।

‘प्रकृतिका जोर जुत्ता बीच सडकमै थिए,’ एक प्रत्यक्षदर्शीले भने, ‘दुवै खुट्टा किचिसकेपछि ट्रकले उनलाई घिसार्दै परसम्म पुर्‍याएको थियो । सडक रगतले लतपत थियो ।’ त्यो देखेर प्रकृतिका बुबाले मन थाम्न सकेनन् । मनमनै पुकारे, ‘नानीको ज्यान बचे हुन्थ्यो ।’ त्यो त्रासदीपूर्ण क्षण सम्झिँदै नगेन्द्र भक्कानिए, ‘नानीका ती अन्तिम जुत्ता रहेछन् ।’ यति भनेपछि उनले जुत्तातिर हेर्न पनि सकेनन् । एकैछिनमा विद्यार्थीले ट्रक रोकेर घेरा हाले । नगेन्द्रले हतारहतार छोरीलाई अस्पतालतिर दौडाए ।

उनलाई कोहलपुर मेडिकल कलेजमा पुर्‍याइयो । त्यहाँ उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत आइतबारै काठमाडौं लगिएको छ ।

पढाइसँगै प्रकृति विद्यालयका अतिरिक्त क्रियाकलापमा पनि सक्रिय रहन्थिन् । सामाजिक विषयकी शिक्षिका अम्बिका कँडेलका अनुसार कक्षाको पहिलो बेन्चमा बस्न रुचाउने प्रकृतिको पढाइमा विशेष रुचि छ । ‘कबड्डी खेल्न रुचाउँथिन्,’ उनले भनिन् । प्रकृति अनुशासित र नियमित विद्यार्थी रहेको अम्बिकाले सुनाइन् ।

सामान्य चिया पसलबाट जीविका चलाउँदै आएका नगेन्द्रका तीन सन्तानमध्ये उनी कान्छी हुन् । कोहलपुर चोकदेखि करिब पाँच मिनेटको दूरीबाट नगेन्द्र छोरीलाई सधैं स्कुल पुर्‍याउन आउँथे ।

आइतबार बिहान १० बजे स्कुल पुग्न नपाउँदै कोहलपुरबाट नेपालगन्जतर्फ जाँदै गरेको ना २ ख ९४५९ नम्बरको ट्रकले प्रकृतिलाई ठक्कर दिएको हो । साथीलाई ठक्कर दिएपछि विद्यार्थीले मन थाम्न सकेनन् । उनीहरूले ट्रकमा आगो लगाइदिए । ट्रकले प्रकृतिलाई जेब्राक्रसदेखि घिसार्दै परसम्म पुर्‍याएको र ब्याक गरेर मार्न लागेको विद्यालयका सुरक्षागार्ड रामसफल चौधरीले बताए ।

‘दुर्घटनापछि शिक्षक/विद्यार्थीले ड्राइभरलाई नियन्त्रणमा लिएका थिए,’ स्थानीय बासिन्दाले भने, ‘तर आक्रोशित विद्यार्थीलाई सम्झाइबुझाइ गर्नुको साटो सादा पोसाकमा आएका प्रहरीले विद्यार्थीमाथि नै कुटपिट गरे ।’

उनीहरूका अनुसार केही समयपछि डीएसपी हेमबहादुर शाही घटनास्थलमा आए । त्यसपछि स्थिति झनै अनियन्त्रित भयो । ‘मैले विद्यार्थीलाई नपिट्न आग्रह गरेको थिएँ,’ त्यहाँ उपस्थित सर्वसाधारणमध्येका देवनारायण कार्कीले भने, ‘तर तँ को होस् हामीलाई सिकाउने भन्दै डीएसपी शाहीले मेरै घाँटी समाए ।’ त्यसपछि प्रदर्शनमा स्थानीय पनि सहभागी भए ।

प्रदर्शन बढ्दै गएपछि झडपको स्थिति बन्यो । भीड नियन्त्रणमा लिन प्रहरीले सयौं रबरका गोली र अश्रुग्यास प्रहार गर्‍यो । कोहलपुर क्षेत्र आइतबार दिनभर तनावग्रस्त बन्यो । गोली लागी बर्दियाका २६ वर्षे चित्रबहादुर रिजाल घाइते भए । ‘भीड देखें, के भएको हो भनेर बुझ्न नपाउँदै प्रहरीको गोली हातैमा लाग्यो,’ उनले भने । प्रहरीको गोली लागेर चप्परगौडीका विक्रम शाह पनि घाइते भएका छन् । ‘हुलदंगा मच्चाउने तँ पनि होस् भन्दै प्रहरीले कुटपिट गरे,’ उनले भने ।

झडप करिब पाँच घण्टा जारी रह्यो । त्यस्तो अवस्थामा पनि जिल्ला प्रशासन कार्यालय र नगरपालिकाका जिम्मेवार पदाधिकारीले घटनाप्रति चासो नदिएको स्थानीयले बताए । दिउँसो ३ बजे सहायक जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले कर्फ्यु लगाइने सम्भावना रहेको जानकारी गराएका थिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी वीरबहादुर ओलीले स्थानीय आक्रोशित भएपछि दंगा सुरु भएको बताए ।

‘प्रदर्शनकारीले ढुंगामुढासहित प्रहरी कार्यालयमा आक्रमण गर्न खोजेपछि स्थिति नियन्त्रण गर्न प्रहरीले केही गोली फायर गर्न बाध्य भएको हो,’ उनले भने । उनका अनुसार झडपमा घाइते १० सर्वसाधारणलाई पनि उपचारका लागि हवाईजहाजबाट काठमाडौं पठाइएको छ । प्रहरीतर्फ पनि ३० जना घाइते भएका छन् ।

कोहलपुर मेडिकल कलेजका प्रशासन अधिकृत सञ्जय पन्थीका अनुसार प्रकृतिलाई बिहान १० बजे अस्पताल पुर्‍याइएको थियो । ‘उनलाई यहाँ रगत नियन्त्रण गर्न खुट्टामा सामान्य उपचार गरेर राखिएको थियो,’ पन्थीले भने, ‘दिउँसो ३ बजेमात्रै काठमाडौंबाट हेलिकप्टर आयो । त्यतिन्जेलसम्म प्रकृति अचेत अवस्थामै थिइन् । आमाबुबासँगै जान नसकेपछि छिमेकी वैकुण्ठ गिरीका साथ उनलाई हेलिकप्टरमार्फत राजधानीस्थित बीएन्डबी अस्पताल पुर्‍याइएको थियो ।

राति ९ बजे प्रकृतिलाई अपरेसन थिएटरमा लगिएको गिरीले बताए । उनका अनुसार अत्यधिक रगत बगेकाले हेमोग्लोविन कम भएको चिकित्सकले बताएका छन् । ‘पिसाब फेर्न नसकेकाले किड्नीमा पनि समस्या देखियो । दुवै खुट्टा किचिएकाले काट्नुपर्ने अवस्था आएको छ,’ उनले भने, ‘डाक्टरले स्थिति नाजुक छ भनेका छन् । रगत धेरै बगेकाले समस्या भएको छ ।’


प्रकाशित : मंसिर २३, २०७६ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्

विभाग गठन गर्ने देउवाको तयारी

पौडेलको प्रस्ताव– ६०/४० को भागबण्डा गर्नुपर्छ, सिटौलालाई ६० तिरै पार्नुपर्छ
पौडेल–सिटौलाले सहमति नदिए पनि केन्द्रीय विभाग र समिति गठन तथा नेविसंघ, तरुण दललगायत भ्रातृसंस्थाको अधिवेशन गराउने देउवाले बताए
कुलचन्द्र न्यौपाने

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचित भएको दुई महिनाभित्र गठन गर्नुपर्ने केन्द्रीय विभाग कार्यकाल सकिन तीन महिना बाँकी छँदा गठन गर्ने तयारी गरेका छन् । देउवाले मंसिर २६ गतेको केन्द्रीय कार्यसमिति बैठकअघि नै केन्द्रीय विभाग गठन, समितिहरूलाई पूर्णता र भ्रातृसंस्थाहरूको अधिवेशन टुंगो लगाउन लागेका हुन् । देउवाको चारवर्षे कार्यकाल फागुन मसान्तबाट सकिँदै छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले भने चौधौं महाधिवेशनको तयारी गर्नुपर्ने बेला विभाग गठनतिर लागेको भन्दै असन्तुष्टि जनाएका छन् । देउवाले उनीहरूसँग सहमति जुटाउन उपसभापति विमलेन्द्र निधिलाई खटाएका छन् । नियमित समयमा महाधिवेशन गर्न नसकिने र विधानअनुसार कार्यकाल एक वर्ष बढाउने करिब निश्चित भएकाले सहमति नजुटे पनि पार्टीका निकायहरूलाई पूर्णता दिने देउवाको तयारी छ ।

निधिले शनिबार वरिष्ठ नेता पौडेलसँग यस विषयमा छलफल गरेका थिए । पौडेलनिवास बोहराटारमै पुगेर निधिले सभापति देउवाको प्रस्ताव सुनाएका थिए । पौडेलले पनि आफूले यसअघि प्रस्तुत गरेको ९ बुँदे प्रस्ताव स्मरण गराएका थिए । देउवाले संगठन, विदेश, जनसम्पर्क र प्रचार विभागसहित बहुमत आफूले राखेर अन्य विभाग रोज्न पौडेललाई निधिमार्फत प्रस्ताव गरेका छन् । त्यस्तै नेविसंघ र तरुण दलमा सभापतिसहित बहुमत सदस्य लिने देउवाको प्रस्ताव थियो । संघमा सभापतिसहित पदाधिकारीमा तीन महामन्त्री राख्ने र तीमध्ये संस्थापन, पौडेल र सिटौला पक्षले एक/एक महामन्त्री लिनेबारे समेत छलफल भएको थियो । निधिले विभाग, नेविसंघ र तरुण दलमा राख्ने व्यक्तिहरूको नामावलीसमेत पौडेलसँग मागेका थिए ।

पौडेलले नेविसंघ र तरुण दलमध्ये एउटाको नेतृत्व आफ्नो पक्षलाई दिनुपर्ने तथा संगठन, विदेश, जनसम्पर्क र प्रचार विभागमध्ये दुईवटा आफ्नो पक्षले पाउनुपर्ने माग गरेका थिए । तर पौडेलको प्रस्ताव मान्न देउवा तयार छैनन् । सुरुमा विभाग गठन गर्नै नहुने पक्षमा रहेका पौडेलले पछि ६०/४० को भागबण्डा गर्नुपर्ने बताएका थिए । पूर्वमहामन्त्री सिटौला पक्षलाई ६० प्रतिशत हिस्साबाटै समावेश गर्नुपर्ने उनको प्रस्ताव छ । ‘पौडेलजीको प्रस्ताव मान्न सभापतिजी तयार हुनुहुन्छ, उहाँले (पौडेलले) उठाएका कतिपय विषय केन्द्रीय कार्यसमितिबाट निर्णयसमेत भइसकेका छन्,’ निधिले भने, सहमतिबाटै पार्टी अघि बढ्ने कुरामा आशावादी छु ।’

निधिले एक वर्ष कार्यकाल बढाउनेबारे अनौपचारिक सहमति जुटिसकेकाले पार्टीका निकायलाई सक्रिय पार्नुपर्ने बताए । ‘६ महिनाका लागि सरकार त गठन हुन्छ भने पार्टीको विभाग गठन नहुने कुरा हुन्छ र ?’ उनले भने, ‘अनौपचारिक रूपमा एक वर्षको कार्यकाल बढाउने सहमति भइसकेको छ । यो पार्टी संगठनका लागि धेरै समय हो ।’

केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने एक वर्षको समय बढाउने सहमति बनिनसकेको दाबी गरे । उनले केन्द्रीय महाधिवेशनको तयारीका लागि कति आवश्यक हुन्छ, त्यति समय मात्रै बढाउनुपर्ने बताए । ‘चार वर्षको कार्यकालमा अब तीन महिना बाँकी छ, अहिलेसम्म गठन हुन नसकेको विभाग तीन महिनाका लागि गठन गर्नुको औचित्य छैन, सम्पूर्ण रूपमा महाधिवेशनको तयारीमा जानुपर्छ,’ उनले भने, ‘बहाना निकालेर महाधिवेशन ढिलाइ गर्नेतिर नेतृत्व अघि बढ्न थालेको छ ।’

देउवाले आगामी केन्द्रीय कार्यसमिति बैठकअघि नै सहमति नभए आफ्ना पक्षका केही नेतालाई प्रमुख बनाएर विभाग गठन गर्ने पक्षमा छन् । विधानअनुसार सभापति चुनिएको दुई महिनामै (हालै संशोधित विधानमा बढाएर ६ महिना बनाइएको छ) विभाग गठन गर्नुपर्ने व्यवस्था छ । सभापति चुनिएदेखि नै विभाग गठन गर्ने चर्चा चल्दै आए पनि गठन हुन सकेको छैन । एकपटक गठन भएर विघटन भएका केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समितिसमेत डेढ वर्षदेखि रिक्त छन् ।

नेविसंघ दस महिनादेखि नेतृत्वविहीन छ । चार जना पदाधिकारीमै सीमित रहेको तरुण दलको कार्यकाल पनि कात्तिकबाट सकिएको छ । वर्षौंदेखि म्याद सकिएका अन्य दर्जन बढी भ्रातृसंस्थाको पनि अधिवेशन भएका छैनन् । संगठनको लथालिंग अवस्थाप्रति सभापतिनिकट केन्द्रीय सदस्यहरू नै सन्तुष्ट छैनन् । ‘पार्टीभित्र बृहत् सहमति खोज्नु राम्रो विषय हो तर सहमति भएन भने बहुमतबाट निर्णय लिनु लोकतान्त्रिक प्रक्रिया हो,’ देउवानिकट एक केन्द्रीय सदस्यले भने, ‘सभापतिजीले यी दुवै काम गर्न सक्नुभएको छैन ।’

विधानअनुसार केन्द्रीय कार्यसमितिमा छलफल गर्नुपर्ने विषय नभएकाले पार्टी विभाग सहमतिबिनै पनि गठन गर्न सकिने निधिले बताए । ‘ढिलाइ भएको पक्कै हो तर सहमति खोज्दा ढिलाइ हुन गएको हो,’ उनले भने, ‘अब पनि ढिलाइ गर्ने पक्षमा सभापतिजी हुनुहुन्न । सहमतिमै विभाग गठन हुने आशामा हामी छौं ।’

प्रकाशित : मंसिर २२, २०७६ २१:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×