कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बर्दियामा सु–चिङ  

कमल पन्थी

बर्दिया — नेपाल भ्रमण वर्ष २०२० कि सद्भाव दूतका रुपमा नेपाल आएकी चिनियाँ अभिनेत्री सु–चिङ आइतबार बिहान बर्दिया राष्ट्रिय निकुन्ज पुगिन् । बाघका लागि प्रसिद्ध बर्दिया निकुञ्ज पुगेर उनले यसको प्रचारमा आफूले सघाउने पनि बताइन् । 

सञ्चारकर्मीहरुसँग ठाकुरद्धारामा कुरा गर्दै उनले आपसी पर्यटन प्रवर्द्धनले नेपाल चीन सम्बन्धलाई समेत अझ बलियो बनाउने बताइन् । 'नेपाल भ्रमण वर्षको प्रचार गरेर म चिनियाँ पर्यटक भित्र्याउन सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्छु,' उनले भनिन्, 'बर्दिया निकुञ्जजस्ता नेपालका राम्रा स्थलबारे संसारभर पर्याप्त प्रचार हुनुपर्छ ।'


अभिनेत्री चिङलाई थारु संस्कृति, भेषभुषामा सिंगारिएका महिलाले भव्य स्वागत गरेका थिए । साथै प्रमुख जिल्ला अधिकारी प्रेम लामिछाने, निकुन्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल तथा पर्यटन व्यवसायीहरु पनि उनको स्वागतमा उपस्थित थिए ।


अभिनेत्री चिङ आउने खबरले बिहानैदेखि ठाकुरद्धारास्थित निकुञ्जको मूलद्धारमा सर्वसाधारण र पर्यटन व्यवसायीको भीड लागेको थियो ।

प्रकाशित : मंसिर २२, २०७६ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्

पातले र पातलीको लोभ

कथा
कान्तिपुर संवाददाता

धान लहलह झुलेको थियो । पाकेको धान भित्र्याउन किसानले खेताला पनि खोजिसकेका थिए । धान झुलेर सुनौलो देखिए पनि किसान बस्तीबाट अलि टाढा भएकाले टालाटुली खेतमा मुसा, बाँदर र चराचुरुंगीले राज गरेका थिए । आलीमा फलेका भटमास बाँदरहरूले रमाई–रमाई खाइदिन्थे । अनि धान पाकेपछि मुसा र चराहरूको रमाइला दिन सुरु हुन्थे ।


टालाटुली खेतमा पातले मुसाको परिवार बस्थ्यो । उसको परिवार निक्कै लोभी र एकलकाँटे थियो । त्यस खेतमा अरू मुसा, बाँदर र चराहरू भएको उसलाई पटक्कै मन परेको थिएन । उसको परिवार भित्रभित्रै जलेको थियो ।
हेमन्त ऋतुको एक बिहान आकाश सफा भएर मिर्मिरे उज्यालो भयो । पाकेको धानको मगमग बासना चारैतिर फैलिएको थियो । मध्यरातदेखि मुसाहरूले खेतमा धान खान सुरु गरिसकेका थिए । पातले निद्राबाट ब्युँझियो । उसकी स्वास्नी पातली पनि निद्राबाट ब्युँझी । निद्राबाट ब्युँझनेबित्तिकै हत्तपत्त पातलीले त्यस रात देखेको अनौठो सपना पातलेलाई भनी । पश्चिमतिरको सुनौलो क्षितिजमुनि एउटा सुन्दर फाँट धानले पहेंलपुर देखिएको । त्यहा कोही नभएको । छेवैमा खानदानी किसानको बस्ती भएकाले अनिकाल परे उता पनि छिर्न सकिने ।
पातलीको कुरा सुनेर पातलेले खुसी सम्हाल्न सकेन । ऊ पेट मिचिमिची हाँस्यो र एकछिन नाच्यो । पातलेको व्यहारले पातली पनि औधि खुसी भई । पातलेले भोलिपल्टै आफ्नो परिवार लिएर सपनाको नौलो खेतमा बसाइँ सर्ने योजना बनायो ।
त्यस साँझ पातले र पातलीले मन नपरेका छिमेकीलाई नानाभाँती गाली गरेर रिस पोख्ने योजना पनि बनाए । दिन बितेर साँझ पर्‍यो । पातले र पातलीले त्यो साँझ छिमेकीसँग ठूलो झगडा गरे । रिस उठेजति सबैलाई नानाभाँती गाली गरे । सबै छिमेकीसँग सम्बन्ध टुटाए अनि भोलिपल्ट मिर्मिरे उज्यालोमा एउटा सोझो बाँदरलाई फकाएर उसको पिठ्युँमा चढी टालाटुली खेतबाट हिँडे ।
सपनामा देखेअनुसार पातलीले बाँदरलाई पश्चिमको क्षितिजतिर हिँडाई । बाँदरले पनि भीर, पहरा, नदीनाला, जंघार पार गर्दै लामो यात्रा गरेर पश्चिमको क्षितिजमा पुर्‍यायो । बाँदरको पिठ्युँमा मस्तसँग निदाएका पातले र पातलीलाई बाँदरले ब्युँझायो । पातलेको सानो बच्चो सिन्के निद्रामा बाटैमा खसेछ । पातले र पातलीले थाहा पाएनछन् ।
उनीहरूले एकसाथ क्षितिज तल एउटा पहेंलो फाँट देखे । पातले र पातलीको खुसीको सीमा रहेन । पातली खुसीले चिच्याई, ‘मेरो सपना, बिहानको सपना, पूरा भो, मेरो सपना पूरा हुने भो...।’
पातले र पातलीले अब बाँदरलाई त्यहाँबाट लखेटेर त्यस सपनाको खेतमा आफ्नो मात्र राज गर्ने चाहना राखे । दुवैले बाँदरलाई एकसाथ चिथोरे । सोझो बाँदरको सात्तो गयो । बाँदर त्यहाँबाट सुइकुच्चा ठोकेर साँझको क्षितिजमा हरायो ।
अब पातले र पातली मात्र बाँकी भए । उनीहरू त्यस क्षितिज तलको पहेंलो फाँटमा राज गर्दै आनन्दको जिन्दगी बिताउन हतारिएका थिए । बेलुका घाम अस्ताइसकेको थियो । पातले र पातली दौडिएर त्यस पहेंलो फाँटतिर ओरालो झरे । अँध्यारोले डाँडाकाँडा ढाक्यो । पातलेका आँखा कमजोर थिए । ऊ हतारिएर ओरालो झर्दा भीरबाट लडेर मर्‍यो । तर पातली दुःखी भइन् ।
‘अब पहेंलो फाँटमा मेरोमात्र राज हुने भयो’ भन्ने आशयले पातली झन् खुसी भई । ऊ खुसी हुँदै, दौडिँदै पहेंलो फाँटतिर गई । पातली निमेसभरमा पहेलो फाँटमा पुगी । त्यहाँ पहेंलै भएर तोरी फूलेको थियो । पातली दिनभरिको भोको थिई । उसले त्यहाँ धान नभएर तोरी फुलेको थाहा पाई । त्यसपछि ऊ खुत्रुक्कै भई अनि धुरुधुरु रुन थाली ।
साँझ परिसकेको थियो । त्यस पहेंलो फाँटको किनारमा किसानको बस्ती थियो । ठूलो स्वरमा रोएकी पातली मुसीको आवाज सुनेर टोलभरिका बिराला तोरीबारीमा जम्मा भए । खानका निम्ति बिरालाहरूले तँछाडमछाड गरेर पातली मुसीलाई रातभरि तोरीबारीभरि खोजे तर भेटेनन् । अँध्यारोसँगै पातली मुसी तोरीबारीमा हराई ।
केही दिनपछि क्षितिजमा हराएको बाँदर आफ्नै ठाउँमा फर्किंदै थियो । उसले बाटोमा पातली रोएर बसेको देख्यो । बाँदरको मन कमलो थियो । उसले पातलीलाई रुनुको कारण सोध्यो । पातले मुसाको बारेमा पनि सोध्यो । पातली भोक, त्रास, लाज र पीर चिन्ताले निक्कै कमजोर भएकी थिई । उसले पातले भीरबाट लडेर मरेको कुरा पनि भनी । लोभले गर्दा आफू गलत ठाउँमा आउनुको साथै आफ्नो सुखी परिवार गुमेको प्रति पनि निक्कै खेद प्रकट गरी ।
पातलीले बाँदरसँग रुँदै माफी मागी । भनी, ‘बाँदर दाइ, अब म कहिल्यै लोभ र अरूको ईर्ष्या गर्दिनँ । सधैं समूहमा मिलेर बस्छु । सके अरूलाई सहयोग गर्छु, नसके पाप गर्दिनँ । यो मेरो प्रण भो बाँदर दाइ । मलाई आफ्नै ठाउँमा लगिदिनुहोस् । म मेरा छिमेकीसँग पनि माफी माग्छु ।’
पातलीले आफ्नो खराब बानीप्रति पश्चाताप गरेकोमा बाँदर पनि खुसी भयो । बाँदरले पातलीलाई बोकेर नीलो नदी तर्‍यो । पातली खुसी भई । बाँदर र पातली टालाटुली खेतमा पुगे । अरूलाई दुःख दिएर यात्रा गर्नेहरू कहिल्यै गन्तव्यमा पुग्दैनन् भनेर पातलीका छिमेकीले अनुमान गरेका थिए । ठीक त्यही भयो । पातली फर्की र छिमेकीसँग माफी मागी । पातलीले कहिल्यै लोभ र अरूको ईर्ष्या नगर्नुका साथै छिमेकीसग मिलेर बस्ने वाचा गरी । पातलीले आफ्नो खराब बानी हटाउने प्रण गरेकोमा छिमेकी खुसी भए ।
पातली टालाटुली खेतमा फर्किंदासम्म किसानहरूले धान भित्र्याइसकेका थिए । भुइँमा झरेको धान रैथाने मुसाहरूले खाइसकेका थिए । पातली र सबै छिमेकी अन्नको खोजीमा पूर्वतिर लागे ।
- अनिल नेपाली

प्रकाशित : मंसिर २२, २०७६ ११:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×