कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्यार्थीलाई १ लाखको उपचार

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना विद्यार्थीलाई १ लाख रुपैयाँसम्मको नि:शुल्क उपचार सुविधा दिने भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल पोखरा, धवलागिरि अञ्चल अस्पताल बागलुङ, प्रदेश अस्पताल सुर्खेत र भेरी अञ्चल अस्पताल नेपालगन्जबाट त्रिविले यस्तो सुविधा दिनेछ । 

हालै बसेको त्रिवि सभा (सिनेट बैठक) ले प्रतिविद्यार्थी दिइँदै आएको ५० हजार रुपैयाँसम्मको नि:शुल्क उपचार सुविधा बढाएर १ लाख पुर्‍याएको हो । त्रिविले ती अस्पतालसँग विद्यार्थीलाई नि:शुल्क उपचार सेवा दिने सम्झौता गरिसकेको छ । सम्झौताअनुसार अस्पतालले विद्यार्थीलाई प्रयोगशाला परीक्षण र नि:शुल्क रूपमा बेड उपलब्ध गराउनेछन् ।


त्रिविले विद्यार्थीबाट उपचार खर्चबापत प्रतिविद्यार्थी ५ सय रुपैयाँ शुल्क लिँदै आएको छ । आव ०७३/७४ देखि विद्यार्थीको स्वास्थ्योपचार कोष खडा गरी त्यसैबाट नि:शुल्क उपचार सेवा दिन थालेको हो । अन्य अस्पतालबाट समेत विद्यार्थीलाई उपचार सुविधा दिने गृहकार्य भइरहेको त्रिवि स्रोतले जानकारी दिएको छ । सम्बन्धनप्राप्त कलेजका विद्यार्थीलाई समेत उपचार सुविधा थप्ने तयारी त्रिविको छ । त्रिविमा ६२ आंगिक र एक हजार सम्बन्धन प्राप्त कलेज छन् ।


त्रिविले आफूसित सम्बन्धन लिएका कलेजलाई समेत अनिवार्य १० प्रतिशत विद्यार्थीलाई पूर्ण नि:शुल्क छात्रवृत्ति दिन निर्देशन दिएको छ । यसअघि त्रिविका आंगिक कलेजमा मात्र विद्यार्थीले छात्रवृत्ति पाउँदै आएका थिए । त्रिविले छात्रवृत्तिका लागि ३ करोड ७१ लाख ४६ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।


प्रकाशित : मंसिर २२, २०७६ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?