१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

खण्डहर मदननगर

जेठ ३ गते मदन भण्डारीको सालिकमा माल्यार्पण गर्नबाहेक नेताहरु हम्मेसि बल्खु पुग्दैनन् । नयाा प्रधानमन्त्री, मन्त्री बने भने एक दिन त्यहाँ पुग्छन् तर ढलेको भवन उठाउाछु भन्ने नेकपा वृत्तमा कोही भेटिएका छैनन् ।
बिनु सुवेदी

काठमाडौँ — दीपु पासवान अभिभावकको साथ लागेर तत्कालीन एमालेको निर्माणाधीन पार्टी कार्यालय बल्खु छिर्दा २ वर्षकी मात्रै थिइन् । उनी खेल्दाखेल्दै बल्खुमा सानदार कार्यालय भवन ठडियो । बागबजारको साँघुरो घरबाट बल्खुको फराकिलो जमिनमा कार्यालय बनाएर सर्न पाएपछि तत्कालीन एमाले नेतृत्व पनि मक्ख पर्‍यो ।

खण्डहर मदननगर

दीपु कार्यालयमा आउने ठूलासाना नेताहरूको आउजाउ हेर्दाहेर्दै ठूली भइन् । नेताहरूको काँध, काख र हात अनि एमाले कार्यालयको आँगनमा उनी ‘फूल’ जस्तै हुर्किइन् । २७ वर्षकी दीपु अहिले कार्यालय परिसरकै घरमा बसेर ९ महिनाकी छोरी हुर्काउँदै छिन् । ‘ठाउँ त उही हो तर पहिलेजस्तो छैन,’ दीपुले भनिन्, ‘अहिले यतातिर सुनसान छ ।’


०७२ सालको भूकम्पमा तत्कालीन एमालेको कार्यालय भत्कियो । सुरुवातदेखि त्यहीं काम गर्दै आएका दीपुका बुबा चन्द्रदेव हेरेको हेर्‍यै भए । ‘ठूलो दुर्घटना भयो जस्तो लाग्यो, अफिस घरि यता घरि उता गरेर हल्लियो, मैले आँखा झिमिक्क पार्न सकिनँ,’ चन्द्रदेवले ०७२ वैशाख १२ सम्झिए । त्यही दिन उनको पुरानो कार्यकक्षसँग साइनो टुट्यो । ०५१ सालदेखि एमालेको पार्टी कार्यालयमा काम गर्दै आएका चन्द्रदेव अहिले उही काम नेकपा पार्टी कार्यालय धुम्बाराहीमा गर्छन् तर नयाँ कार्यालयमा मन उति अडिँदैन । ‘पार्टीले छिटो अफिस बनाइदिए हुन्थ्यो जस्तो लाग्छ,’ उनले भने, ‘बल्खुमा मदन भण्डारी एक्लै भएजस्तो देखियो ।’


भूकम्पपछि तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा दुई पटकसम्म सरकार बन्यो । मदन भण्डारीकै पत्नी विद्यादेवी भण्डारी दुई पटक नै राष्ट्रपति भइन् । तर बल्खुको पार्टी कार्यालय ढलेपछि उठाउनतर्फ कसैको पनि ध्यान गएन । बरु असरल्लै छाडियो । तत्कालीन एमालेका महासचिव ईश्वर पोखरेल नेतृत्वको भवन निर्माण तथा कार्यकर्ता संरक्षण कोष संकलन समितिले उक्त जग्गामा पर्खाल लगाउने निर्णय गरेको थियो, त्यो पनि कार्यान्वयन भएन । ‘०७२ पछि नाकाबन्दी लाग्यो, चुनाव आयो, पार्टी एकता भयो, नेताहरू पनि कताकता पुगे,’ तत्कालीन भवन निर्माण समितिका सदस्य पर्शुराम मेघी गुरुङले ठट्यौली शैलीमा भने, ‘मैले त भवन बनाउने कुरै पो बिर्सिसकेको रहेछु, अहिले त्यतातिर (मदननगर) गएको पनि छैन’


जेठ ३ गते भण्डारीको शालिकमा माल्यार्पण गर्नबाहेक नेताहरू हम्मेसी बल्खु पुग्दैनन् । नयाँ प्रधानमन्त्री, मन्त्री बने भने एक दिन त्यहाँ पुग्छन् । मदनको सालिकमा माल्यार्पण गरेर काम थालेको देखाउन पनि खोज्छन् । ‘यो हामीले नै बनाएको ठाउँ हो भनेर सम्झिने मान्छे पनि भएनन्,’ नेकपा केन्द्रीय सदस्य प्रदीप नेपालले भने ।


नेताहरूले भण्डारीले नै सुरुवात गरेको जनताको बहुदलीय जनवादलाई आफ्नो राजनीतिक एजेन्डा बनाए । तत्कालीन माओवादी केन्द्र र एमाले एकीकरण भएर बनेको नेकपाको राजनीतिक सिद्धान्त जनताको बहुदलीय जनवाद हुने या जनताको जनवाद हुने भन्ने विषयमै लामो समयसम्म बहस र रस्साकसी चल्यो । ठूलठूला भाषणमा भण्डारीलाई नसम्झिने नेता छैनन् । मदन भण्डारी प्रतिष्ठान खोलेर कतिपय नेता–कार्यकर्ताले व्यक्तिगत खेतीपाती चलाइरहेका छन् ।


एकीकृत पार्टीका अध्यक्ष पुष्पकमल दाहाल पनि भण्डारी र आफ्नो प्रसंग बारम्बार उठाउने गर्छन् तर नेकपा वृत्तमा ढलेको भवन उठाउँछु भन्ने कोही भेटिएका छैनन्, त्यसैले भण्डारीको सालिक मदननगरको खण्डहरमा ‘टुक्रुक्क’ देखिन्छ । हालै वरिष्ठ नेता माधवकुमार नेपालसँगको भेटमा प्रधानमन्त्री ओलीले पार्टी कार्यालय निर्माणको जिम्मा लिन प्रस्ताव गरेका थिए तर नेपालले त्यसमा जवाफ दिएका छैनन् । नेकपाले धुम्बाराहीस्थित पासाङ ल्हामु प्रतिष्ठानको घरमा मासिक १ लाख ८० हजार रुपैयाँ भाडा तिर्दै आएको छ । यो हिसाबले पनि ०७२ असारयता ८६ लाख ४० हजार रुपैयाँ भाडाका लागि मात्रै तिरिएको छ । सामाजिक कामका लागि सरकारले दिएको जग्गामा बनेको भवनलाई भाडामा लगाउन पाइँदैन । त्यो नियमविपरीत प्रतिष्ठानले उपलब्ध गराएको भवनमा भाडा तिरेर बसिरहँदा नेकपामाथि नैतिक प्रश्न उठेको छ । भवन निर्माणका लागि आर्थिक सहायता संकलन भनेर उतिबेलै बनाइएको समितिले १ करोडभन्दा धेरै पैसा उठाएको थियो । त्यसपछि प्रक्रिया अघि बढेन ।


०४८ सालको चुनावमा तत्कालीन एमालेले एक तिहाइ सिट जितेको थियो । त्यतिबेलै विजयी सांसदहरूबाट पैसा उठाएर उसले बल्खुमा जग्गा किन्यो । ‘त्यतिखेर जग्गा साह्रै सस्तो थियो,’ एमाले केन्द्रीय सदस्य नेपालले सम्झिए, ‘हामीले साह्रै दु:खले आठ रोपनी जग्गा जोडेका हौं तर अहिले त्यो ठाउँले स्याहार पाएन ।’ उतिखेर करिब २ लाखमा बल्खुको जग्गा किनिएको थियो ।


०५० को सुरुवातमा पार्टी स्कुल सञ्चालन गर्ने गरी बल्खुमा भवन बनाउने निर्णय एमालेले गर्‍यो । ०५० कै जेठमा दासढुंगा दुर्घटनामा तत्कालीन एमालेका महासचिव भण्डारीको निधन भयो । उनले पार्टी कार्यालको सानदार भवन देख्न पाएनन् तर ठूलो रातो घर अघिल्तिर उनैको सालिक बनाइयो । यो नवलपरासी र दासढुंगापछि बनेको भण्डारीको तेस्रो सालिक हो । एमालेले भण्डारीकै सम्मान र सम्झनामा त्यो ठाउँको नाम ‘मदननगर’ जुरायो ।


०५१ मा तत्कालीन एमालेका अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा एमालेले अल्पमतको सरकार बनायो । सरकारमा पार्टीका महासचिव नेपाल पनि सहभागी भए । एमालेले त्यही बेला उपमहासचिव पद सिर्जना गरेर वामदेव गौतमलाई जिम्मेवारी दियो । उनले ८/१० महिनामै कार्यालय भवन तयार पारे । ‘एमालेको पार्टी अफिस गौतमको इन्जिनियरिङमा बनेको थियो,’ नेकपा पार्टी कार्यालयका लेखा प्रमुख खिमलाल पौडेल सम्झिन्छन् । ०५१ मा एमाले पार्टी कार्यालयमा लेखापाल रहेका पौडेलका अनुसार १ करोड २५ हजार लागतमा त्यो भवन बनाएको थियो ।


०६५ को आठौं महाधिवेशनपछि एमाले बहुपदीय पद्धतिमा गयो । पार्टी विभागको संख्या बढेर २२ पुग्यो, पार्टी कार्यालय साँघुरो बन्दै गयो । भवन बढाउनुपर्छ भन्ने छलफल चल्यो । तत्कालीन उपाध्यक्ष विद्या भण्डारीसहितका केही नेता बल्खुमै भवन बनाउनुपर्छ भन्ने पक्षमा थिए भने महासचिव पोखरेललगायत नेताहरूले अलि फराकिलो ठाउँ खोज्नुपर्छ भन्ने मत राखिरहेका थिए । पार्टी कार्यालय कहाँ बन्छ भन्ने टुंगो नलाग्दै कस्तो पार्टी कार्यालय बनाउने भन्ने नक्सा नै तयार पारेर पुरानो कार्यालयको भित्तामा टाँसिएको थियो ।


तत्कालीन महासचिव पोखरेलको संयोजकत्वमा १२ सदस्यीय भवन निर्माण समिति गठन भयो । नयाँ भवनका विषयमा निचोडमा नपुग्दै भएकै भवन पनि भूकम्पले ढालिदियो । छलफल सेलाउँदै गयो । अहिले ‘मदननगर’ खण्डहर छ । त्यही खण्डहरको साक्षी बनेर मदन भण्डारीको अर्धकदको सालिक ठिङ्ग छ ।

प्रकाशित : मंसिर २२, २०७६ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?