कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘स्रोत नियन्त्रणबाटै हुन्छ फोहोर व्यवस्थापन’ 

काठमाडौँ — स्रोतबाट नै नियन्त्रण गर्न नसकेसम्म फोहोरको उचित व्यवस्थापन हुन कठिनाइ हुने विज्ञहरुले बताएका छन् । उनीहरुले फोहोर व्यवस्थापनमा सबभन्दा ठूलो भूमिका उत्पादनमा हुने उल्लेख गर्दै फोहोर उत्पादनमा कमी ल्याए मात्र व्यवस्थापन वैज्ञानिक हुने निष्कर्ष निकालेका छन् ।

‘स्रोत नियन्त्रणबाटै हुन्छ फोहोर व्यवस्थापन’ 

फोहोर मैला व्यवस्थापनका लागि प्रविधिको स्तरोन्नति, उत्पादनमा नियन्त्रण, पुनःप्रयोग जस्ता विधिलाई नअपानाएसम्म फोहोरको उत्पादनमा कमी नहुने अनुसन्धानकर्ताहरु बताउँछन् ।

राजधानीमा दुई दिनसम्म चलेको फोहोर मैला व्यवस्थापन राष्ट्रिय सम्मेलनमा विज्ञहरुले फोहोर व्यवस्थापनको उचित पाटो नै नियन्त्रण र पुनःप्रयोग रहेको बताउँदै यसतर्फ ध्यान दिनुपर्ने उल्लेख गरे ।

नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष समेत रहेका वातवरणविद् नवराज खतिवडाले उत्पादनमा नियन्त्रण लिनुपर्ने बताउँदै उनले राज्यले कडा कानुन ल्याउनुपर्नेमा जोड दिए । उनले कुनैपनि वस्तु उत्पादन गर्दा त्यसले भविष्यमा पार्ने प्रभावका बारेमा समेत ध्यानमा दिनुपर्ने उनको सुझाव छ ।


यस्तै, नाष्टका प्रविधि संकाय प्रमुख रविन्द्र ढकालले फोहोर मैला व्यवस्थापनका लागि सबै क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताउँदै फोहोरबाट ऊर्जा उत्पादनमा जोड दिनुपर्ने बताए । पूर्व वातवरणमन्त्री र अभियन्ता गणेश शाहले फोहोर मैलाको व्यवस्थापनका लागि उत्पादनमा कमी र सबै क्षेत्र जागरुक हुनुपर्ने बताए । फोहोर मैला व्यवस्थापन संघका केन्द्रीय अध्यक्ष धनप्रसाद आचार्यले मुलुकको नगर क्षेत्रको फोहोर व्यवस्थापनमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताउँदै उनले फोहोर व्यवस्थापनमा सबै गम्भिर हुनुपर्ने बताए ।


खेर गएका फोहोरबाट ऊर्जा उत्पादन गर्न सकिने सम्बन्धि अनुसन्धान गर्दै आएका अनुसन्धानकर्ता हैकम घिसिङले ऊर्जा उत्पादनसँगै आम्दानी समेत गर्न सकिने जानकारी दिए ।

‘फोहोर मैला व्यवस्थापन,हामी सबैको प्राथमिकता’ भन्ने नाराको साथ आयोजना भएको उक्त सम्मेलनमा फोहोर मैला व्यवस्थापमा विद्यमान नीति,समस्या,समाधान र अवसरहरुबारे चर्चा गरिएको थियो ।

१० प्राविधिक सत्रमा चलेको सम्मेलनमा फोहोर मैलाको विद्यमान अवस्था, जलवायु अनुकुलता, फोहोरबाट ऊर्जा, विद्युतिय जैविक फोहोर, उदयमान मुद्दा, स्रोत पुनरावृत्ति, क्रसकटिङ मुद्दा, निजी क्षेत्रको प्रयास लगायतका विषयहरुमा प्रस्तुति दिइएको थियो ।

सम्मेलनमा वैज्ञानिक,विद्यार्थी, विज्ञ, इन्जिनियर लगायत १७० जना प्रतिनिधिहरुको उपस्थिती थियो ।


नेपाल वातवरण इन्जिनियर समाज,नेपाल विकास अनुसन्धान प्रतिष्ठान,फोहोर मैला व्यवस्थापन संघ,नाष्ट लगायतको सम्मेलनको संयुक्त आयोजना गरेका थिए ।

प्रकाशित : मंसिर २१, २०७६ २१:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?