दुर्गम गाउँमा पाँच दिन

घनश्याम खड्का

काठमाडौँ — उनलाई भनिएको थियो– गरिब समुदायका मानिसलाई उन्नत जातको बीउबिजन दिइएको छ, बाख्रा पाल्न लगाइएको छ र खोर बनाएर कुखुराका चल्ला बाँडिएको छ जसमा वादी समुदाय पनि पर्छ ।

आफ्नो सहयोगले तिनका जीवनमा कस्तो सहयोग पुगेछ त भनेर हेर्न गत साता नेपालका लागि युरोपेली युनियनकी राजदूत भेरेनिका कोडी सुदूरपश्चिम पुगिन् । डडेलधुराको दुर्गम गाउँमा धारो बनेको, कुनै समयका कमैया थारूहरूले खेती–किसानी गर्न थालेको र तरकारी उमारेर बेचेको देख्दा उनलाई खुसी नलाग्ने कुरै भएन ।


जब वादी बस्तीमा पुगिन्, उनको अनुहारमा देखिएको सन्तुष्टि गायब भयो । ‘त्यहाँ उनीहरूले उमारेको तरकारी र अन्नबाली अरूले नै लिइदिएछ,’ उनले बिहीबार कान्तिपुरसँग भनिन्, ‘उनीहरूसँग आफ्नो भन्ने जमिन नै रहेनछ, जसको जमिन हो उसले खेती र तरकारी आफैंले राखेछ, कस्तो दु:खलाग्दो अवस्था ।’


पुन:स्थापनाको अवस्थामा रहेको वादी समुदायलाई मद्दत पुगोस् भनी गरेको सहयोग काम नलागेको देख्दा नरमाइलो लागेको उनले बताइन् । ‘सुदूरपश्चिमका कुनाकाप्चामा पुगेर हेर्दा मैले मानिसहरूमा ग्रामीण कृषिमा दिइएको अनुदानले केही न केही परिवर्तन भएको पाएँ,’ उनी भन्छिन्, ‘तर आफूसँग जमिन नभएकाले वादी समुदायले लाभ लिन सकेनछ । अब यसो हुन दिनुहुन्न ।’ कोडीले नेपाल सरकारलाई ती भूमिहीन वादी समुदायका मानिसलाई जमिन दिन आग्रह गरिन् । ‘जबसम्म आफ्नै जमिन हुँदैन, तबसम्म उनीहरूको उन्नति सम्भव छैन,’ उनी भन्छिन्, ‘पुरानो पेसामा नफर्किउन् भन्नका लागि पनि वादी समुदायको उत्थान आवश्यक छ ।’ नेपाल आएको दुई वर्षमा पहिलो पटक गरिबी, अशिक्षा र अनेक असुविधाहरूका माझ बाँचिरहेका ग्रामीण समाजसँग पाँच दिन बिताएकी उनलाई युरोपियन युनियनले गरिरहेको विकास अनुदान राम्रोसँग कार्यान्वयन किन हुन जरुरी छ भन्ने बोध भएको छ ।


‘ईयू नेपालको ठूलो विकास साझेदार हो र यहाँ हाम्रो सप्तवर्षीय सहयोग परियोजना चलिरहेको छ, त्यसको प्रभावकारी कार्यान्वयन हुन सक्यो भने यी गरिब मानिसका जीवनमा धेरथोर प्रभाव अवश्य आउँछ,’ उनी भन्छिन्, ‘त्यसैले प्रत्येक परियोजनाहरूले उचित लाभ दिए/नदिएको सुनिश्चित गर्न हामी लागिपरेका छौं ।’


सन् २०२० सम्मका लागि ईयूले नेपालको विकासका लागि ३५० मिलियन युरो (झन्डै ४५ अर्ब) को सातवर्षे अनुदान सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । यो परियोजना दिगो ग्रामीण विकास, शिक्षाको सबैमा पहुँच र लोकतन्त्रको सवलीकरणका क्षेत्रमा बढी सक्रिय छ ।


सुदूरपश्चिममा महिलाले मासिक धर्म हुँदा छाउपडीका नाममा गोठमा बस्नुपर्ने अवस्थाले पनि उनलाई दु:खी बनाएको रहेछ । यसलाई जसरी पनि बदल्नुपर्ने उनी बताउँछिन् । ‘नेपालले धेरै वर्ष अस्थिरतामा गुजार्नु परेकाले विकास गर्ने अवसर पाएन,’ उनले भनिन्, ‘अब एकजुट भएर अघि बढ्यौं भने छिट्टै प्रगति गर्न सकिन्छ ।’

प्रकाशित : मंसिर २१, २०७६ ०७:२४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

बेलायतबाट पहिलो महिला राजदूत

थोराङ्ला–पास नाघेपछिको दृश्यले उनी मोहित बनिन् र साथीभाइलाई भनिन्, ‘मौका पाए फेरि आउनेछु ।’ त्यसको ठीक २० वर्षपछि उनी नेपाल आइपुगेकी छन्, राजदूत बनेर । 
देवेन्द्र भट्टराई

काठमाडौँ — २० वर्षअघि ग्य्राजुएसन पढाइ पूरा गरेपछि निकोला पोल्लिट साथीभाइसँगै लन्डनबाट काठमाडौं आएकी थिइन् । नेपालका गाउँघर बुझ्न र प्रकृतिमा रमाउन आएकी उनी सिधै अन्नपूर्णको १७ दिने पदयात्रामा पुगिन् । थोराङ्ला–पास नाघेपछिको दृश्यले उनी मोहित बनिन् । र, साथीभाइबीच आफ्नो चाहना व्यक्त गरिन्, ‘कुनै दिन मौका पाए म फेरि यही भूगोलमा आउनेछु ।’

उनै निकोला अहिले काठमाडौं फर्केकी छन् तर विद्यार्थी वा पदयात्रीका रूपमा होइन, नेपाल र बेलायतबीचको दुई सयवर्षे कूटनीतिक इतिहासमा पहिलो महिला राजदूत बनेर । बिहीबार अपराह्न लैनचौरस्थित बेलायती दूतावासमा भेटिएकी उनले आफ्नै लवजमा नेपालीमा भनिन्, ‘फेरि नेपाल आउन पाएकामा तपाईंले सोचेभन्दा बढी खुसी छु ।’

आफ्नै रुचिमा नेपाल पोस्टिङ छानेर आएको उनले बताइन् । ‘मसहित पाँच जना कूटनीतिक कर्मचारीले नेपाल पोस्टिङ चाहेका थिए तर अन्तर्वार्तामा म छानिएँ,’ उनले भनिन्, ‘१८ महिनाअघि म नेपाल आउने टुंगो भएको थियो । त्यसपछिको १० महिना नेपाली भाषा सिक्नमा खर्चिएँ । आज नेपालीमा कुरा गर्न सक्छु, नेपालीलाई अझ नजिकबाट बुझ्न सक्छु भन्ने लागेको छ ।’

उनले नेपाल आउनुअघि स्कुल अफ ओरिएन्टल एन्ड अफ्रिकन स्टडिज (सोआस) सम्बद्ध कृष्ण प्रधान (‘कम्प्लिट नेपाली’ पुस्तकका सहलेखक) सँग सुरुवातका केही महिना नेपाली अक्षर सिकेकी थिइन् । पछिल्ला ६ महिना काठमाडौंमा रहेका नेपाली भाषाका गुरुहरू कपिल गौतम तथा पवित्रा पौड्यालसँग स्काइपबाट नेपाली बोल्न सिकेकी थिइन् । उनी नेपालीमा थोरैतिनो लेख्न र पढ्न सक्छिन् भने बोलचालमा राम्रै दक्खल राख्छिन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउन बुधबार शीतलनिवास पुगेकी उनले आफ्नो नियुक्तिबारे नेपाली भाषामा ट्वीट गर्दै धेरै फलोवरको ध्यान तानेकी थिइन् । ‘मैले राष्ट्रपतिसमक्ष नेपाली महिलाको अवस्था, शिक्षा–साक्षरताबारे केहीबेर कुरा गरें,’ उनले थपिन्, ‘म आफ्नो तीनवर्षे कार्यकालमा बेलायती सहयोग नियोगमार्फत नेपाली महिलाको सामाजिक र आर्थिक स्तरोन्नतिबारे केही योजना ल्याउन चाहन्छु ।’

दुई साताअघि मात्रै काठमाडौं उत्रिएकी निकोलाले छाउपडी प्रथाका कारण हालसालै पश्चिम नेपालमा केही महिलाको मृत्यु भएको र सरकारले यसलाई गैरकानुनी भने पनि कुसंस्कार हट्न नसकेको समाचारले मन छोएको बताइन् । छाउपडी प्रथा उन्मूलनका लागि केही काम गर्न सकिन्छ कि भनेर सोचाइ बनाइरहेको उनले बताइन् । ‘महिनावारी बार्ने डरलाग्दो कुरीति नेपालमा रहेछ । आजको युगमा यसरी पनि महिला मरिरहेका रहेछन् । बेलायत सहयोग नियोगको कार्यक्रममार्फत छाउपडीविरुद्ध कार्यक्रम ल्याउन म चाहन्छु । म व्यक्तिगत रूपमा पनि त्यही क्षेत्रमा गएर सकेको सहयोग गर्न चाहन्छु,’ उनले थपिन् ।

सन् २००३ मा बेलायतको कूटनीतिक सेवामा प्रवेश गरेकी उनी ३ वर्ष नर्वे र १८ महिना अफगानिस्तानमा कूटनीतिक कर्मचारीका रूपमा कार्यरत थिइन् । ‘नेपाल–बेलायत कूटनीतिक सम्बन्धको दुई शताब्दी लामो इतिहासमा तपाईंलाई नेपालका लागि पहिलो बेलायती महिला राजदूत भन्दा अचम्म लाग्दैन ?’ प्रश्न झर्न नपाउँदै उनले भनिन्, ‘हो, म पनि अचम्म मानिरहेकी छु । बेलायतमा महिलालाई पुरुषसरह हक–अधिकार छ तर नेपालका लागि म पहिलो महिला राजदूत भएर आएकी रहेछु । खुसी लागेको छ ।’ बर्लिन, पेरिस, न्युयोर्कजस्ता महत्त्वपूर्ण नियोगहरूमा बेलायतबाट अझैसम्म महिला राजदूतको प्रतिनिधित्व हुन नसकेको उनले जानकारी दिइन् ।

निकोला दुई छोराछोरीकी आमासमेत हुन् । अझ काखको छोरो त एक वर्षको मात्रै छ । ‘यो कूटनीतिक जिम्मेवारी एउटी आमाका लागि कत्तिको मुस्किल छ ?’ यो प्रश्नमा उनी अलिक भिन्न देखिइन् । भित्र कोठामा छोरा सुतिरहेको संकेत गर्दै भनिन्, ‘हो, धेरै संघर्ष गर्नुपर्छ आमा भएर । म बिहान ७ बजेसम्म आमा हुन्छु, ८ बजेदेखि राजदूत ।’

उनी आफ्ना श्रीमान् मार्कको नाम बीचबीचमा लिइरहेकी थिइन् । ‘मेरा श्रीमान्ले छोराछोरी हेरेर मलाई सहयोग गर्नुहुन्छ, नत्र मलाई मुस्किल पर्ने थियो,’ उनी भन्छिन्, ‘यसरी नेपाल आउन पाउनु मेरा बच्चाहरूका लागि अत्यन्त रोचक अवसर हो । उनीहरूका नयाँ साथी हुनेछन्, नयाँ भाषा सिक्नेछन् । खानपिन र अरू कुरा पनि नयाँ नयाँ छन् । यो सिकाइ र बुझाइको राम्रो अवसर हो ।’

लामो कुराकानीको अन्त्यमा बिहीबार साँझ राजदूत निकोला ‘आमा निकोला’ बन्ने समय आइसकेको थियो । ‘तपाईंले नारीवादलाई कसरी बुझ्नुभएको छ ? के तपाईं नारीवादी हो ?’ यो जिज्ञासा सुन्नासाथ उनी जोडले हाँसिन् र भनिन्, ‘म नारीवादी हुँ तर पुरुषविरोधी होइन । किनभने मेरो श्रीमान्ले मलाई छोराछोरी हेरेर काममा पालो दिनुभएको छ । हामी मिलेर घरभित्र र बाहिर सम्हाल्छौं ।’ उनका बुझाइमा, महिलाको हक–अधिकारबारे कुरा गर्नु र अधिकार खोज्नु एकदमै स्वाभाविक कुरा हो । ‘हक–अधिकारका कुरामा म नारीवादी हुँ तर हरेक पक्षमा पुरुषको विरोध गर्ने कुरामा सहमत छैन,’ उनले थपिन्, ‘महिला–पुरुष मिलेर मात्रै घर चल्छ, त्यहीअनुसार समाज पनि चल्छ ।’

निकोलाका अनुसार बेलायतमा महिला हक–अधिकारका हकमा कानुनत: समानता छ । नेपालमा जस्तो कुनै प्रकारको तोकिएको ‘आरक्षण’ भने छैन । ‘उदाहरणका लागि मेरो विदेश विभागमा अधिकांश उच्च अधिकारी महिला छन् । विदेश सेवाअन्तर्गत ५० जति राजदूत, कन्सुलर जनरल होलान्,’ उनी भन्छिन्, ‘हक–अधिकारमा समानता भए पनि पुरुषसँगको प्रतिस्पर्धा त रहन्छ नै ।’

उनका श्रीमान् मार्क पनि नेपाल र नेपालीबारे केही जानकार रहेछन् । ‘मेरा श्रीमान् ब्रिटिस गोर्खा वेलफेयरसँग सम्बद्ध पूर्वसैनिक हुनुहुन्छ । ४ वर्षअघि नेपालमा भूकम्प गएपछि उद्धार समन्वयका लागि बेलायती सेनासँगै उहाँ पनि नेपाल आएर दुई महिनाजति बस्नुभएको थियो,’ उनले सुनाइन्, ‘मजस्तै उहाँ पनि नेपालका हिमाल, पहाड र तराई घुम्न आतुर हुनुहुन्छ ।’

प्रस्तावित राजदूत भएकै बेला निकोला गत दसैंमा तीन साताका लागि नेपाल आएकी रहिछन् । त्यसबेला पोखरा, गोर्खा, लुम्बिनी, धरान, भेडेटार घुमघाममा उनी पुगेकी रहिछन् । ‘नेपाली भाषा राम्रोसँग अभ्यास गर्नका लागि म मौका पाउनासाथ नेपाल आएकी थिएँ, त्यसबेला गोर्खा दरबारमा भइरहेको दसैंपूजासमेत हेर्न पाएकी थिएँ,’ उनले सुनाइन्, ‘जे–जति नेपाली गाउँठाउँ घुम्न पायो, उति नेपाली बोल्न पाइने भएकाले भाषा सिक्नका लागि म हत्ते गर्दै आएकी थिएँ ।’

उनको बुझाइमा नेपाल–बेलायत सम्बन्धमा गोर्खा सैनिकको महत्त्वपूर्ण स्थान छ । बेलायत सरकारले नेपालको विकास कार्यक्रमका लागि दिँदै आएको साथ–सहयोगको निरन्तरतामा उनी ढुक्क थिइन् । आगामी अप्रिलमा काठमाडौंमा हुन लागेको अन्तर्राष्ट्रिय तहको सगरमाथा संवादमा बेलायतबाट उच्च तहको सरकारी प्रतिनिधित्व हुने संकेत पाइसकेको बताउँदै उनले थपिन्, ‘यसपटक नेपालले बहसमा राखेको जलवायु परिवर्तनको विषय हाम्रा लागि पनि उत्तिकै महत्त्वपूर्ण छ ।’

प्रकाशित : मंसिर २१, २०७६ ०७:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×