दुर्गम गाउँमा पाँच दिन

मंसिर २१, २०७६

घनश्याम खड्का

काठमाडौँ — उनलाई भनिएको थियो– गरिब समुदायका मानिसलाई उन्नत जातको बीउबिजन दिइएको छ, बाख्रा पाल्न लगाइएको छ र खोर बनाएर कुखुराका चल्ला बाँडिएको छ जसमा वादी समुदाय पनि पर्छ ।

आफ्नो सहयोगले तिनका जीवनमा कस्तो सहयोग पुगेछ त भनेर हेर्न गत साता नेपालका लागि युरोपेली युनियनकी राजदूत भेरेनिका कोडी सुदूरपश्चिम पुगिन् । डडेलधुराको दुर्गम गाउँमा धारो बनेको, कुनै समयका कमैया थारूहरूले खेती–किसानी गर्न थालेको र तरकारी उमारेर बेचेको देख्दा उनलाई खुसी नलाग्ने कुरै भएन । 


जब वादी बस्तीमा पुगिन्, उनको अनुहारमा देखिएको सन्तुष्टि गायब भयो । ‘त्यहाँ उनीहरूले उमारेको तरकारी र अन्नबाली अरूले नै लिइदिएछ,’ उनले बिहीबार कान्तिपुरसँग भनिन्, ‘उनीहरूसँग आफ्नो भन्ने जमिन नै रहेनछ, जसको जमिन हो उसले खेती र तरकारी आफैंले राखेछ, कस्तो दु:खलाग्दो अवस्था ।’


पुन:स्थापनाको अवस्थामा रहेको वादी समुदायलाई मद्दत पुगोस् भनी गरेको सहयोग काम नलागेको देख्दा नरमाइलो लागेको उनले बताइन् । ‘सुदूरपश्चिमका कुनाकाप्चामा पुगेर हेर्दा मैले मानिसहरूमा ग्रामीण कृषिमा दिइएको अनुदानले केही न केही परिवर्तन भएको पाएँ,’ उनी भन्छिन्, ‘तर आफूसँग जमिन नभएकाले वादी समुदायले लाभ लिन सकेनछ । अब यसो हुन दिनुहुन्न ।’ कोडीले नेपाल सरकारलाई ती भूमिहीन वादी समुदायका मानिसलाई जमिन दिन आग्रह गरिन् । ‘जबसम्म आफ्नै जमिन हुँदैन, तबसम्म उनीहरूको उन्नति सम्भव छैन,’ उनी भन्छिन्, ‘पुरानो पेसामा नफर्किउन् भन्नका लागि पनि वादी समुदायको उत्थान आवश्यक छ ।’ नेपाल आएको दुई वर्षमा पहिलो पटक गरिबी, अशिक्षा र अनेक असुविधाहरूका माझ बाँचिरहेका ग्रामीण समाजसँग पाँच दिन बिताएकी उनलाई युरोपियन युनियनले गरिरहेको विकास अनुदान राम्रोसँग कार्यान्वयन किन हुन जरुरी छ भन्ने बोध भएको छ । 


‘ईयू नेपालको ठूलो विकास साझेदार हो र यहाँ हाम्रो सप्तवर्षीय सहयोग परियोजना चलिरहेको छ, त्यसको प्रभावकारी कार्यान्वयन हुन सक्यो भने यी गरिब मानिसका जीवनमा धेरथोर प्रभाव अवश्य आउँछ,’ उनी भन्छिन्, ‘त्यसैले प्रत्येक परियोजनाहरूले उचित लाभ दिए/नदिएको सुनिश्चित गर्न हामी लागिपरेका छौं ।’


सन् २०२० सम्मका लागि ईयूले नेपालको विकासका लागि ३५० मिलियन युरो (झन्डै ४५ अर्ब) को सातवर्षे अनुदान सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । यो परियोजना दिगो ग्रामीण विकास, शिक्षाको सबैमा पहुँच र लोकतन्त्रको सवलीकरणका क्षेत्रमा बढी सक्रिय छ । 


सुदूरपश्चिममा महिलाले मासिक धर्म हुँदा छाउपडीका नाममा गोठमा बस्नुपर्ने अवस्थाले पनि उनलाई दु:खी बनाएको रहेछ । यसलाई जसरी पनि बदल्नुपर्ने उनी बताउँछिन् । ‘नेपालले धेरै वर्ष अस्थिरतामा गुजार्नु परेकाले विकास गर्ने अवसर पाएन,’ उनले भनिन्, ‘अब एकजुट भएर अघि बढ्यौं भने छिट्टै प्रगति गर्न सकिन्छ ।’

घनश्याम खड्का दुई दशकभन्दा बढीदेखि पत्रकारिता गरिरहेका छन् । उनी कान्तिपुरमा कानुन, न्याय, मानवअधिकार लागयतका बिटमा लेख्छन् ।

Link copied successfully