कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओलीको राष्ट्रवाद कालापानीमा लम्पसार : देउवा 

नारायण शर्मा

(नवलपरासी) — नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद कालापानीमा लम्पसार परेको आरोप लगाएका छन् । उनले कम्युनिष्टहरु बाहिर राष्ट्रवादी देखिए पनि व्यवहारमा त्यस्तो नरहेको बताए । 

ओलीको राष्ट्रवाद कालापानीमा लम्पसार : देउवा 

देउवाले अघि भने, 'सबै प्रमाण हुँदा पनि अन्तर्राष्ट्रिय जगतलाई कालापानी र लिपुलेक नेपालको भूभाग हो भनेर बुझाउन नसक्नु वर्तमान सरकारको कमजोरी हो ।' महाकाली सन्धिमा लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको हो भनेर स्पष्ट उल्लेख गरिएको प्रमाण हुँदा पनि सरकारले ती भूभाग नेपालकै हुन् भनेर कूटनीतिक पहल गर्न नसकेको भन्दै आलोचना गरे ।


नेपाल प्रेस युनियन पुर्वी नवलपरासीले कावासोतीमा गरेको सूर्यभक्त पतानादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै देउवाले राष्ट्रियताको सवालमा सरकारलाई साथ दिन कांग्रेस प्रतिबद्ध रहेको बताए । पूर्वप्रधानमन्त्री देउवाले सरकारको तर्फबाट भारतसँग तत्काल वार्ता थाल्न आग्रह गरे ।


मिडिया विधयेक ल्याएर सरकारले प्रेसलाई अंकुश लगाउन खोजेको भन्दै उनले सरकारको आलोचना गरे । पत्रकारलाई जेल हाल्ने व्यवस्था विश्वमा कतै नरहे पनि वर्तमान सरकारले त्यस्तो विधयेक मस्यौदा गरेको र त्यसलाई कांग्रेसले बिफल पार्ने उनले सुनाए ।


यस वर्षको सूर्यभक्त पतानादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार किशोर नेपाललाई प्रदान गरिएको छ । पुरस्कार राशि २५ हजार, ताम्रपत्र रहेको छ ।


हरेक वर्ष पत्रकारितामा विशिष्ट योगदान दिने एक पत्रकारलाई यो पुरस्कारले सम्मान गरिँदै आएको छ । ०६१ सालदेखि वितरण हुँदै आएको उक्त पत्रकारिता पुरस्कार काठमाडौं उपत्यका बाहिरको पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार हो ।

प्रकाशित : मंसिर २०, २०७६ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?