कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाहाल किन चीन जान चाहेनन् ?

बबिता शर्मा

काठमाडौँ — चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटघाटको कार्यसूचि नबनेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहालको यसै साता हुने भनिएको चीन भ्रमण रोकिएको खुलासा भएको छ ।

दाहाल किन चीन जान चाहेनन् ?

दाहाल ६० सदस्यीय टोलीको नेतृत्व गर्दै मंसिर २४ गतेदेखि चीन भ्रमणमा जाने कार्यसूचि थियो । तर, भ्रमण बेइजिङमा नभई स्वशासित क्षेत्र तिब्वत र ग्वाङ्सी जुहाङमा हुने र सीसँग भेट नहुने भएपछि दाहालले मंसिर १६ गते कार्यवाहक चिनियाँ राजदूतलाई आफ्नै निवासमा बोलाएर तत्कालका लागि भ्रमण स्थगित गरेको निर्णय सुनाएका थिए ।


दाहाल निकट एक नेताले भने, ‘चीन भ्रमण तिब्वत र सिचुवानमा केन्द्रित हुने र बेइजिङमा उच्चस्तरीय भेटघाट नहुने भएपछि तत्कालका लागि उहाँ (दाहालले) भ्रमण रोक्नु भएको हो ।’


दाहालले आफ्ने निवासमा कार्यवाहक राजदूतलाई बोलाएर भ्रमण स्थगनबारे छलफल गरेका थिए । राजदूतसँगको भेटमा दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिति र पार्टी सञ्चालनको जिम्मेवारीलाई मध्यनजर गर्दै तत्काल चीन भ्रमण उपयुक्त नभएको भन्दै पछाडि सार्न आग्रह गरेका थिए ।


सुरुमा निम्तो आउनेबित्तिकै उत्साही भएका दाहाल भ्रमणको कार्यसूचि आएपछि झस्किएका थिए । दाहाल निकट ती नेताले भने, ‘पहिला चीन भ्रमणको निम्तो आउँदा उहाँ उत्साही हुनुभयो र हुन्छ भन्नुभयो । पछि कार्यतालिका दुई वटा प्रान्तको आयो, बेइजिङको आएन । दुईवटा प्रान्त घुम्नकै लागि जादाँ राम्रो सन्देश जाँदैन भनेर भ्रमण स्थगित गर्नुभयो ।’


अध्यक्ष दाहाल भ्रमण दल ठूलो भएकोमा पनि असन्तुष्ट थिए । सुरुमा ८० केन्द्रीय सदस्य लिएर दाहाल चीन जाने कार्यसूचि थियो । तर, टीम ठूलो भयो भनेपछि त्यसलाई ६० सदस्यीय बनाएको थियो । स्रोतका अनुसार ६० सदस्यीय टोलीको नेतृत्व गरेर चीन जान दाहाल उत्साहित थिएनन् । उनी चुस्त टीम लिएर चीन भ्रमण जाने र उच्चतहको भेटघाट गर्ने योजनामा थिए ।


‘मलाई जानकारी भएअनुसार पहिला आएको कार्यतालिकामा बेइजिङको भ्रमण थिएन,’ नेकपाका विदेश विभाग उपप्रमुख राम कार्कीले भने, ‘त्यो सेड्युअलमा दुई वटा प्रान्त थियो ।’

दाहालको भ्रमणका क्रममा नेकपाका अन्य नेता–कार्यकर्ताले चिनियाँ कम्युनिस्ट पार्टी सञ्चालन, प्रशिक्षण, सरकार सञ्चालनलगायत विषयमा चिनियाँ नेताका अनुभव लिने कार्यक्रम पनि थियो ।


आफू चीन भ्रमणमा जान थालेको र भ्रमणका बेला हुने भेटघाट र एजेन्डाबारे समेत दाहालले संकेत गरेका थिए । नेपाल चाइना मिडिया फोरमले मंसिर १३ गते कार्यक्रममा दाहालले आफू चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चाँडै चीन भ्रमणमा जान लागेको बताएका थिए ।


‘राष्ट्रपति सी नेपाल आएपछि चीनको इतिहास तथा आन्दोलनबारे नेपालका पार्टीहरू र नेताहरूले त्यहाँको अध्ययन गर्ने र उहाँहरू पनि यहाँ आएर अध्ययन गर्ने एउटा समझदारी भएको थियो,’ कार्यक्रममा दाहालले भनेका थिए,’ ‘पहिलो टोली छिट्टै चीन जाँदैछ । उहाँहरूले मेरै नेतृत्वमा आइदिओस् भनेर प्रधानमन्त्रीजी र मलाई पनि भन्नु भएको छ र म जाँदै पनि छु ।’


चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणका बेला भएका सहमति कार्यान्वयनका लागि आफ्नो चीन भ्रमण सहयोगी बन्ने दाबी उनले गरेका थिए । दाहालले आफ्नो भाषणमा सीसँग आठ पटक भेटवार्ता भइसकेको र एकअर्कालाई राम्ररी बुझेको दाबी गरेर चीन भ्रमणमा सीसँग फेरि भेट हुने संकेत गरेका थिए ।‘अहिलेसम्म हिसाब गर्दा मैले राष्ट्रपति सीसँग आठ पटक भेटिसकेको छु,’ कार्यक्रममा दाहालले भनेका थिए ।


चाँडै चीन भ्रमण जाँदैछु भनेर मंसिर १३ गते सार्वजनिक अभिव्यक्ति दिएका दाहालले भ्रमण स्थगनपछि बिहीबार धनगढी पुगेर पार्टीका अर्का अध्यक्ष बिरामी भएको बेला आफूलाई भ्रमणमा जान उपयुक्त नलागेको बताएका थिए ।


‘एउटा अध्यक्ष बिरामी भएको बेला अध्ययन भ्रमणमा जान रमाइलो लागेन,’ पत्रकारहरुसँग कुरा गर्दै दाहालले भनेका थिए, ‘अहिले कुनै कूटनीतिक कारणले चीन जान रोकेको होइन । प्रस्ट कुरा के हो भने प्रधानमन्त्री अस्पतालमा भएको र घाउ नै सञ्चो हुन एक महिना लाग्ने भएकोले हाललाई स्थगित गरेको हुँ ।’


असोज पहिलो साता नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच उच्चस्तरीय भ्रमण आदानप्रदानसहित ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको थियो । सहमतिमा नेकपा विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख सङ ताओले हस्ताक्षर गरेका थिए ।


समझदारीपत्रमा दुई पार्टीका कार्यकर्ता तहको अध्ययन भ्रमण वृद्धि गर्ने, पार्टीका अनुभवमा आधारित सहयोग आदानप्रदान गर्ने, युवा र स्थानीय नेताबीच भ्रमण आदानप्रदान गर्ने पनि उल्लेख छ । दुई पार्टीको यही समझदारीका आधारमा उच्चस्तरीय भ्रमण आदानप्रदानका लागि दाहालको चीन भ्रमण हुन लागेको थियो ।

प्रकाशित : मंसिर २०, २०७६ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?