कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छोरा नजन्मिएपछि सम्बन्धविच्छेद

८२ वर्षीय खनालले दिए ५३ वर्षीयालाई डिभोर्स
वीरेन्द्र केसी

अर्घाखाँची — पाणिनि गाउँपालिका–८ की ५३ वर्षीया कमला अर्यालको अनुहार चाउरी परेको छ । बाबुआमा बितिसके । भाइबुहारीको परिवार अमेरिकामा छ । माइतीमा उनी एक्लै बस्छिन् । सानै उमेरमा ढिकुरा गाउँमा विवाह भयो ।

छोरा नजन्मिएपछि सम्बन्धविच्छेद

दुई वर्षमै पति बेपत्ता भए । त्यसपछि ३६ वर्षमा भूमिकास्थान नगरपालिका–७ कबली पोखराका ८२ वर्षीय ईश्वरीप्रसाद खनालले उनलाई दोस्रो श्रीमतीका रुपमा भित्र्याए । दुई वर्षसम्मसँगै बसे । मायाप्रेम राम्रै भयो । छोराछोरी नजन्मिएपछि श्रीमानसँग उनको सम्बन्ध बिग्रियो । खाना खान नदिने, गाली गर्ने, पिट्ने गरेपछि उनी माइती आएर बसिन् । भेटघाट, फोन केही भएन ।


सम्बन्धमा सुधार नभएपछि मंगलबार अर्घाखाँची जिल्ला अदालतबाट उनीहरुले सम्बन्धविच्छेद गरेका छन् । त्यसबापत कमलालाई ईश्वरीले डेढ लाख रुपैयाँ दिए । ईश्वरीकी पहिलो पत्नी बिरामी भएर थला परेपछि कमलासँग बिहे गरेका थिए ।


छोराछोरी नजन्मिएको र पहिलो श्रीमतीलाई निको भएर काम गर्न थालेपछि दोस्रीलाई पन्छाए । ‘मलाई वास्ता नगरेपछि म माइती आएर बसेकी छु, मेरो पहिलो श्रीमान् बेपत्ता भएपछि धेरै दुःख पाएँ, दोस्रो विवाह गरेर सुख पाउँछु भनेको त्यो पनि भएन,’ कमलाले भनिन्, ‘माइती घरमा आमाबाबु बितिसके । अब एक्लै जीवन बिताउँछु ।’ अमेरिका बस्ने परिवारका आफन्तले केही खर्च पठाइदिने र घरमा बाख्रा पालेर आएको आम्दानीले खर्च चलाउने गरेको उनले बताइन् ।


बुटवलमा उनका तीन दिदीबहिनी छन् । कहिलेकाही त्यही गएर पारिवारिक प्यास मेटाउँछिन् । ‘बाआमा र भाइबुहारीको माया पाएँ,’ उनले भनिन्, ‘श्रीमानको मायाको अनुभव नै गर्न पाइएन ।’ पतिले दिने माया आफूले कहिल्यै महशुस गर्न नसकेको उनले गुनासो पोखिन् । बुढेसकालमा श्रीमानले माया दिने आशामा यौवन बिताए पनि अहिले आएर सम्बन्धविच्छेद हुँदा उनी दुःखी छन् ।


‘कुनै दिन माया फर्किन्छ भन्ने मेरो मनमा थियो,’ उनले भनिन्, ‘त्यही भएरै अर्को विवाह गरिनँ, अहिले साहारा चाहिने बेलामा एक्लिनु पर्‍यो ।’ सन्तान नजन्मिएकै कारण अपहेलित भएको उनले सुनाइन् ।


इश्वरीप्रसादलाई छोराको रहर थियो । दुवै श्रीमतीबाट जन्मिएनन् । पहिलो श्रीमतीकी छोरीको विवाह भएर नातिनातिना जन्मिसकेका छन् । उनको पहिलो पत्नीसँग मायाप्रेम राम्रै छ । उनी भारतीय सेनाका अवकाश प्राप्त हुन् ।


पेन्सनले बुढाबुढीलाई खर्च धानेको छ । जवानीमा कुरा नमिलेपछि माइती गएर बसेकी श्रीमतीसँग सम्बन्ध विच्छेद गरेरै बस्नु राम्रो भएकाले छुट्टिएको उनले बताए । ‘मैले बोलाउँदा पनि उनी आउन खोजिनन्,’ उनले भने, ‘त्यसैले सम्बन्धविच्छेद गरेको हुँ ।’

प्रकाशित : मंसिर २०, २०७६ ०६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?