कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वीरमा सय बेडको भवन प्रयोगविहीन

शय्या नपाएर बिरामी निजी अस्पतालतिर धाइरहेका बेला वीरको नयाँ अत्याधुनिक भवन भने सुनसान छ
फातिमा बानु

काठमाडौँ — सेतो रङको उज्यालो भवन । कुरुवाका लागि कुर्सीसहितको फराकिलो ठाउँ । अपागंअनुकूल शौचालय । अत्याधुनिक लिफ्ट । सेन्सरबाटै खुल्ने पानीका धारा । संक्रमण आफै नियन्त्रण हुने भित्ताका रङ । सेमिनार र गोष्ठी चलाउनु परे ठूला चिटिक्क हल । डाक्टर र नर्स बस्ने कक्ष उस्तै व्यवस्थित । बिजुलीका लागि अत्याधुनिक ब्याकअप जेनेरेटर ।

वीरमा सय बेडको भवन प्रयोगविहीन

झट्ट हेर्दा विकसित मुलुकको अत्याधुनिक अस्पतालझैं लाग्छ । तर, यत्तिको सुविधासम्पन्न वीर अस्पतालको नयाँ भवन सुनसान छ । उपचारका लागि तयार पारिएका उपकरण प्रयोगविहीन छन् । जापान सरकारको सहयोगमा निर्माण गरेर गत जेठमा हस्तान्तरण र उद्घाटन गरिएको भवन सञ्चालनमा आउन सकेको छैन । ०७२ सालको भूकम्पका कारण क्षति पुगेका दुई भवनलाई हटाएर अत्याधुनिक भवन बनाइएको थियो ।


वीरमा आउने बिरामी शय्या नपाएर निजी अस्पताल धाइरहेका छन्, तर नयाँ भवन प्रयोगमा ल्याइएको छैन । तीनतले भवनमा मुटु, मिर्गौला र ग्यास्ट्रो विभाग राख्ने योजना बनाइएको थियो । विभागको बोर्डसमेत जडान गरिएको छ । विशेषज्ञ सेवा दिन बेड र उपकरणसमेत राखिएका छन् ।


वीर अस्पताल र जाइकाबीच भएको सम्झौतामा जाइकाले भवन निर्माण गर्ने र वीरले जनशक्ति, उपकरण व्यवस्थापन गर्ने उल्लेख छ । ‘डाक्टर र अन्य जनशक्ति पर्याप्त छन् । नर्सिङ जनशक्ति ल्याउन सकिएको छैन,’ अस्पतालका निर्देशक डा. केदारप्रसाद सेन्चुरीले भने । भवन उद्घाटन भए पनि भित्रका मुख्य विभाग सञ्चालनका लागि आन्तरिक हस्तान्तरण हुन बाँकी रहेको उनले बताए । ‘नयाँ भवनका लागि आवश्यक केही उपकरण अपुग छन्,’ उनले भने, ‘९४ बेडको यो भवन सञ्चालनमा आउन सके बिरामीले पाउने सास्ती कम हुने थियो ।’


मुटुरोग उपचारका लागि अत्यावश्यक उपकरण क्याथल्याब महँगो भएकाले अस्पतालको वार्षिक बजेटबाट खरिद गर्न नसकिने उनी बताउँछन् । ‘आईसीयू कक्षका लागि भेन्टिलेटर छैन । बेडसाइड मनिटर, इन्डोस्कोपी र भिडियो एक्सरे पनि छैन,’ उनले भने ।


जाइकाले भवन निर्माणसँगै मिर्गौला डायलसिसका लागि आठवटा हेमोडायलसिस लगायतका उपकरण पनि दिएको छ । नयाँ भवनमा मिर्गौला फेल भएका बिरामीले डाइलसिस सेवा भने पाइरहेका छन् । बेड नभएकै कारण बिरामीलाई नयाँ भवनमा डायलसिस गराइन्छ र भर्ना गर्नुपरे पुरानो भवन लगिन्छ । यसबाहेक जाइकाले ग्यास्ट्रो विभागका लागि पनि केही उपकरण दिएको छ । पर्याप्त उपकरण अभावमा यो विभाग पनि प्रयोगविहीन छ ।


यो भवनबाट सेवा सञ्चालनकै लागि एक सय नर्स आवश्यक रहेको डा. सेन्चुरी बताउँछन् । वीर अस्पतालमा अहिले ३७ नर्सको दरबन्दी खाली छ । ‘दरबन्दीमा भएका नर्स पनि कोही अध्ययनका लागि विदेशमा छन् । कोही सुत्केरी बिदामा बसेका छन्,’ उनले भने ।’ अस्पताल चलाउन चाहिने सफाइ कर्मचारी, कार्यालय सहयोगी र प्राविधक पनि नभएकाले नयाँ भवन चलाउन नसकिएको उनको भनाइ छ ।


वीरको नयाँ भवनमा आवश्यक जनशक्ति र उपकरण उपलब्ध गराइने स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए । ‘नर्सिङ जनशक्तिको दरबन्दी नभए करारमा भए पनि लिएर सेवा सुरु गर्न भनेका छौं । उपरकण खरिदका लागि भने बजेट विनियोजन हुँदै छ,’ उनले भने ।


प्रकाशित : मंसिर १९, २०७६ १३:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?