कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संघीय निजामती सेवा विधेयक : करार कर्मचारी लिने सहमति

ऋषिराम पौड्याल

काठमाडौँ — संघीय निजामती सेवा विधेयकमा विशेष परिस्थतिमा स्वास्थ्य सेवाका लागि आवश्यक प्राविधिक कर्मचारी करार सेवामा नियुक्ति गर्न सकिने व्यवस्था राखिने भएको छ । विधेयकमा निजामतीका अरू सबै समूहमा करार सेवा अन्त्य गर्ने प्रावधान राखिए पनि नागरिकको बाँच्न पाउने अधिकारसँग प्रत्यक्ष जोडिएको स्वास्थ्य सेवामा भने खुकुलो व्यवस्था गर्न लागिएको हो । 

संघीय निजामती सेवा विधेयक : करार कर्मचारी लिने सहमति

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा मंगलबार विधेयकमाथि भएको छलफलमा सांसदहरूले चिकित्सकलगायत प्राविधिक कर्मचारीको अभावमा स्वास्थ्य सेवा प्रभावकारी हुन नसक्ने भन्दै करारमा नियुक्त गर्न सक्ने प्रावधान राख्ने सहमति गरे ।


लोकसेवा आयोगमा कर्मचारी भर्नाको अनुमति मागेको अवस्थामा पनि पदपूर्ति हुन नसकेको परिस्थितिमा मात्र यस्तो नियुक्ति गर्न पाइने प्रावधानमा सहमति जुटेको छ । हालको बेथिति दोहोरिन सक्ने भन्दै कानुन उल्लंघन गरेमा अस्थायी वा करारमा भर्ना गर्ने कार्यालय प्रमुखले खाइपाई आएको तलबभत्ता फिर्ताको कारबाही गर्न सकिने प्रावधानसमेत राखिएको छ । यस्तो तलबभत्ता करार कर्मचारी नियुक्त गर्ने कार्यालय प्रमुखबाट सरकारी बाँकीसरह असुलिनेछ ।


सहमतिअनुसार दरबन्दी खाली भए पनि लोकसेवा आयोगले पदपूर्ति नगरेको अवधिलाई मात्र नयाँ नियुक्ति गर्न पाइनेछ । कानुन बनेपछि करारमा कर्मचारी राख्दा पनि आयोगसँग भएका वैकल्पिक उम्मेदवारलाई पहिलो प्राथमिकता दिनुपर्ने व्यवस्था गरिएको छ । त्यस्ता उम्मेदवार नभए मात्र नयाँ नियुक्ति गर्न पाइनेछ । अहिले लोक सेवालाई पद रिक्त भएको र भर्ना नगरी नहुने व्यहोराको जानकारी नै नदिई लामो समयसम्म करारमा राख्ने प्रवृत्ति छ । दरबन्दी रिक्त भएको अवस्थामा पनि कर्मचारी अभाव नहोस् भनेर नयाँ व्यवस्था उचित हुने सांसदहरूको तर्क छ । स्वास्थ्यमा काम गर्ने प्रशासनतर्फका कर्मचारीको दरबन्दीमा भने करारमा राख्न पाइने छैन ।


अहेव र हेल्थ असिस्टेन्टमा भने करारमा राख्न नपाउने व्यवस्था गरिएको छ । विशेषत: चिकित्सक, ल्याब टेक्निसियन, नर्सलगायत पदमा भने कारारमा नियुक्ति गर्न पाइनेछ । लोकसेवा आयोगबाट सिफारिस भई नआएसम्म करारका कर्मचारीको सेवा अवधि थप गर्न सकिनेछ । आयोगबाट अर्को व्यक्ति आएमा भने करार अवधि स्वत: खारेज भएको मानिनेछ । छोटो समयका लागि भए पनि प्राविधिक कर्मचारी राख्दा स्वास्थ्य सेवाको प्रवाह सहज हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले बताए ।


नकारात्मक सूचीको व्यवस्था

सामान्य र गम्भीर सबै प्रकारका गल्ती गर्ने निजामती कर्मचारीको नाम नकारात्मक सूचीमा राखिने भएको छ । यस्तो सूचीमा नाम रहेका कर्मचारीले १ वर्षसम्म बढुवा, विदेश भ्रमण, तालिमलगायत अवसर पाउनेछैनन् ।


कार्यसम्पादन मूल्यांकनमा तोकिएको अंक नल्याउने, सेवाग्राहीमाथि अनुदार व्यवहार गर्ने, विभागीय वा गम्भीर प्रकृतिका गल्ती गरेकोलगायत सबै विषयको जानकारीसहित त्यस्ता कर्मचारीको नाम नकारात्मक सूचीमा रूपमा राख्ने व्यवस्था विधेयकमा गरिएको छ । यसअनुसार अब कुनै कर्मचारीले अदालतबाट सफाइ पाए पनि बढुवा वा अन्य कुनै अवसर पाउन १ वर्ष कुर्नुपर्नेछ । गल्ती गर्ने कर्मचारीले तत्काल अवसर पाउने प्रवृत्ति रोक्न यस्तो प्रावधान ल्याइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालाले बताए । समितिको बैठकले निजामती कर्मचारीको आचरण र कार्यसम्पादन चित्तबुझ्दो नभए १० दिनसम्मको तलब कट्टा गर्न सकिने प्रावधानमा सहमति गरेको छ ।


प्रकाशित : मंसिर १८, २०७६ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?