बेंसी जान उठिनन् पार्वती

छाउगोठमा निसासिएर मृत्यु
मेनुका ढुंगाना

(अछाम) — विस्तारै बोल्ने । सधैं हाँसिरहने । जस्तोसुकै काम पनि मन लगाएर गर्ने । केटाकेटीलाई माया गर्ने । साँफेबगर नगरपालिका–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती बुढा रावतको स्वभाव कसैलाई नबिझाउने थियो । उनी घरपरिवार मात्र होइन, समाजकै प्यारी थिइन् । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै बेला उनै पार्वतीले ‘छाउपडी प्रथा’ का कारण संसार छोडिन् । महिनावारीको चौथो दिन सोमबार बिहान छाउगोठमै मृत अवस्थामा भेटिइन् । 

छाउगोठ पार्वतीको घरदेखि केही टाढा र छिमेकी जेठाजु लालबहादुर बुढाको घरबाट नजिक छ । पार्वती केही अप्ठ्यारो पर्दा उनै लालबहादुरको परिवारसँग सहयोग माग्थिन् । तर आइतबार राति उनी सहयोग लिन नपाई बितिन् ।

लालबहादुरका अनुसार पार्वतीले आइतबार दिनभर बारीमा काम गरेकी थिइन् । हरियो सागपात टिपिन् । साँफेबगर बजारमै बस्ने माइतीलाई आएर साग लैजान भनिन् । भाउजू आइन् । आमाबुबा, दाजुहरूलाई पकाएर खुवाउन भन्दै भाउजूलाई साग दिएर पठाइन् । साँझ खाना खाइन् । राति ११ बजेतिर छिमेकी जेठानी संगीतालाई खाना खाइयो कि नाइँ, कतिखेर सुत्ने हो भनेर फोनसमेत गरेकी थिइन् । ‘पार्वती दिनभर हाँसीखुसी देखिन्थिन्,’ उनले भने, ‘रुघाखोकीले जहिल्यै सताउन लाग्यो दिदी, केहीगरी निको नहुने भयो भन्दै मेरो श्रीमतीसँग कुरा गर्दा पनि उनलाई केही समस्या परे जस्तो देखिँदैनथ्यो ।’

सबेरै उठेर घरको काम गर्ने पार्वती सोमबार साढे ७ भइसक्दा पनि नउठेपछि होहल्ला भएको लालबहादुरले बताए । ‘घरमा जेठानी, जेठाजु र उनी मात्र छन् । श्रीमान्, सासूससुरा बम्बै छन् । सोधीखोजी गर्ने हामी नै हौं,’ उनले भने, ‘सोमबहार रवा (बेंसी) बाट उनको पराल घरमा ल्याउनुपर्ने थियो । अघिल्लो दिन पराल ल्याउने चाँजोपाँजो मिलाएकी थिइन् । तर उनी छाउगोठभित्र घोप्टो परेकी थिइन् । नजिकै आगो बालिएको थियो । मृत अवस्थामा भेटिइन् ।’

‘शरीरमा कुनै चोट देखिएको छैन, होचो ठाउँमा आगो बालेकाले निसासिएर ज्यान गएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको छ,’ घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय साँफेबगरका निरीक्षक नरपति भट्टले भने, ‘बिहान साढे ७ बजेसम्म नउठेपछि जेठाजु उठाउन गएका रहेछन् । नबोलेपछि ढोका फोडेर हेर्दा मृत अवस्थामा भेटिएकी हुन् ।’

डेढ वर्षअघि प्रेम विवाह गरेकी पार्वतीले दुर्गा मावि नन्देगडाबाट १२ कक्षा उत्तीर्ण गरेकी थिइन् । दुई दाजुभाइ र ५ दिदीबहिनीमा पार्वती साइँली हुन् । सोमबार भतिजीको छाउगोठमा मृत्यु भएको खबर पाएलगत्तै घटनास्थल पुगेका उनका काका दीपक बुढाले गोठमा निसासिएर ज्यान गएको हुन सक्ने अनुमान गरे । नगरपालिकाको वडा ३ सिद्धेश्वरमा ४९ प्रतिशत महिला तथा किशोरी महिनावारी हुँदा गोठमै बस्ने तथ्यांक रहेको वडाध्यक्ष कृष्ण बुढाले बताए । ‘हालै नगरले तथ्यांक लिएको थियो, महिनावारीका बेला गोठमा बस्ने अत्यधिक देखिए,’ उनले भने, ‘यो घटनाले कडा भएर छाउ कुप्रथा हटाउनुपर्ने पाठ सिकाएको छ ।’

दस वर्षमा छाउगोठमा १४ को मृत्यु
अछाममा १० पालिकाहरूका ९१ वटा वडामध्ये ३१ वटा वडालाई छाउपडी मुक्त घोषणा गरिएको छ । तर यही जिल्लामा छाउगोठमै ज्यान गुमाउने महिलाको संख्या पछिल्लो दस वर्षमा १४ पुगेको छ । अधिकांश घटनामा निसास्सिएर, सर्पले टोकेर र आगोले पोलेर मृत्यु भएको देखिन्छ । तुर्माखाद गाउँपालिका–४ की पार्वती बुढा, सोही गाउँपालिका–३ की गौरी बुढा, गाज्राकी रोशनी तिरुवा, तिमिल्सैनकी डम्मरा उपाध्याय, रिडिकोटकी शर्मीला भूल, ढकारीकी लक्ष्मी बुढाको छाउगोठमै ज्यान गएको हो ।

बारलाकी झुमादेवी शाही, वीरपथकी डिक्रादेवी ढकाल, पायलकी रतनदेवी विक, झुप्री ढोली, पायलकै पार्वती दमाई, नाडाकी हंसा जैशी र रानीवनकी हंसदेवी जोशीको पनि छाउगोठमै मृत्यु भएको थियो । साँफेबगर नगरपालिकाको ०७६/७७ को नीति तथा कार्यक्रममा समाजमा व्याप्त कुरीति हटाउन अभियान चलाउने उल्लेख छ । ‘छाउपडी प्रथा, बालविवाह, छुवाछूतजस्ता कुप्रथा अन्त्यका लागि अभियान सञ्चालन गरिने’ भनिएको छ ।

नगरपालिकाले गतवर्ष छाउपडी कुप्रथा विरुद्ध अन्तर्क्रिया कार्यक्रममा वडा नम्बर ११ देवीस्थानका साथै वडा १० घुघुरकोट र वडा १३ दाब्लाका केही टोलमा छाउपडी मुक्त घोषणा गरेको थियो । रावतको मृत्यु भएको वडा ३ मा भने छाउगोठमा बस्ने/नबस्नेको तथ्यांक मात्र संकलन गरिएको थियो । नगरपालिकाले महिला, बालबालिका लक्षित कार्यक्रमका लागि चालु आर्थिक वर्षमा करिब २१ लाख विनियोजन गरे पनि छाउपडी प्रथा अन्त्यका लागि प्रभावकारी कार्यक्रम सञ्चालन भएको छैन ।

मुलुकी अपराध संहिताले छाउपडीलाई अपराध मानेको छ । महिनावारी भएका बेला कसैलाई छाउगोठमा बस्न बाध्य पारिए त्यो अपराध ठहर्ने भनिएको छ । त्यसैअनुसार सजायपनि हुने पनि उल्लेख छ ।

यसअघि नैतिक अपराध मानिएको छाउपडी प्रथालाई अब कानुनी रूपमै अपराध मानिएको हो । कानुनमा कोही कसैले महिलालाई महिनावारी भएकै कारण छाउगोठ पठाए वा अन्य विभेद गरे ३ महिनासम्म कैद वा ३ हजारसम्म जरिवाना हुने व्यवस्था छ । तर हालसम्म अछामका १० वटा स्थानीय तहमा रहेका न्यायिक समिति र प्रहरीमा उजुरी आएका छैनन् । ‘अरू मुद्दा आउँछन्, छाउपडीसम्बन्धी मुद्दा अहिलेसम्म आएको छैन,’ साँफेबगर नगरपालिकाकी उपमेयर बिर्मला बुड्थापाले भनिन्, ‘किशोरीहरू घरमै बस्न चाहन्छन्, तर पुरानो पुस्ताले स्विकार्न सक्ने अवस्था छैन ।’

प्रकाशित : मंसिर १७, २०७६ ०९:०२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

च्याम्पियन आमा

कुशल तिमल्सिना, राजु घिसिङ

काठमाडौँ — तेक्वन्दोमा नौ वर्षअघि ग्योरोगी (फाइट) तर्फ स्वर्ण जितेकी आयशा शाक्य १३ औं सागमा पुम्सेको व्यक्तिगत स्पर्धा स्वर्ण जितेपछि सोमबार एरिनाबाट बाहिरिँदा पति दीपक विष्ट र जेठा छोरा आदिशलाई अँगालो मार्दै धेरैबेर रोइन् । उनलाई सम्हालिन निकै गाह्रो भएको थियो । एउटा खेलाडीको रुपमा मात्रै होइन, एउटी आमाको रूपमा पाएको सफलतामा झरेको आँसु खुसीकै थियो ।

उनले कला प्रदर्शनी गर्ने तेक्वान्दोको खेल ‘पुम्से’ मा २९ वर्षमाथिको युगल स्पर्धामा पनि स्वर्ण जितिन् सन्जिवकुमार ओझासँगै । यससँगै उनी दक्षिण एसियाली खेलकुद इतिहासमै ३ स्वर्ण कब्जा गर्दै सर्वाधिक सफल नेपाली महिला खेलाडी बनिन् । उनले सागमै २ रजत पनि जितेकी छन् । पुराना सबै सफलता ग्योरोगीमा हुन् ।

ओलम्पियन तथा सागमा सर्वाधिक चार स्वर्ण जितेका कीर्तिमानी दीपकका यी पत्नीलाई पुम्सेको राष्ट्रिय टिममा छनोट हुँदा प्रश्न गर्नेहरू पनि थिए । ती सबै ‘शंकालु’प्रति मीठो जवाफ बन्यो उनको दुई स्वर्ण । ‘आमाको रूपमा पुनरागमन गर्दा दबाब थियो, पुरानो आयशा हुन सक्दिनँ कि भन्ने थियो । आज यो स्वर्णले सबै जवाफ दिएकी छु,’ ३२ वर्षीया आयशाले भनिन्, ‘म आफ्नै मिहिनेतले यहाँसम्म आएकी हुँ भन्ने प्रमाणित गर्नु अब अरु केही गर्नुपर्छ जस्तो लाग्दैन ।’

नेपाल तेक्वान्दो संघका सचिव तथा राष्ट्रिय तेक्वान्दो टोलीमा ग्योरोगीतर्फका प्रशिक्षक दीपकले पनि आफ्नो श्रीमती भएकै कारण आयशालाई संरक्षण मिलेको आरोप अस्वीकार गरे । ‘मेरा कारणले मात्र टिममा परेको भए उनले आज दुई स्वर्ण जित्ने थिइनन्, उनले आफ्नो क्षमता प्रस्तुत गरेरै राष्ट्रका लागि पदक जितेकी छिन्,’ दीपकले प्रस्ट पारे ।

राष्ट्रिय तेक्वन्दो एकेडेमी, सातदोबाटोमा सफलता प्राप्त गरेसँगै आयशाले दूधे छोरालाई रुवाउँदै प्रशिक्षणमा खटिएको सम्झिइन् । वैदेशिक प्रशिक्षणमा रहँदा छोराहरूको यादमा तड्पिएको बताइन् । अनि उनको क्षमता नबुझी नकारात्मक प्रतिक्रिया दिनेहरूलाई जवाफ दिइन् । सफलताले सबै पीडा बिर्साउँछ ।

व्यक्तिगत स्पर्धामा प्रतिस्पर्धा गर्नु पूर्व आयशा केही नर्भस देखिन्थिन् । ५ देशका खेलाडी सम्मिलित यस स्पर्धामा उनले प्रदर्शन सुरुमै थियो । १० पूर्णांकमा ७.९४० अंक बनाएर उनले दिएको टार्गेट अरु देशका खेलाडीले तोड्न सकेनन् । यस स्पर्धामा भारतकी प्रजाक्ता प्रकाश एंकोलकरले ७.६४० अंकसहित रजत तथा श्रीलंकाकी गायथ्री सान्दामाली पारावहेरा मेहेन्ची अराचचीगेले ७.५५० र पाकिस्तानकी मेहरू निशाले ७.३६० अंकसहित कांस्य जिते ।

एकलमा स्वर्ण जितेको करिब ४५ मिनेटपछि युगलतर्फ सन्जिवसँगको प्रदर्शन पनि सुरुमै थियो । ८.१६० को स्कोर खडा गरेका उनीहरूलाई अरु चारै देशका टिमले जित्न सकेनन् । पाकिस्तानका मेहरू निशा र शावाज अहमदले ७.८६० अंकसहित रजत जिते । बंगलादेशका दीपुचाकमा र कोउसुम ७.८५० र श्रीलंकाका लक्ष्मामिलान्दारिगे र गायथ्रीले ७.८३० अंकसहित कांस्य जिते ।

आयशाले दक्षिण एसियाली खेलकुदमा व्यक्तिगत उपलब्धिका हिसावमा दोस्रो र तेस्रो स्वर्ण सोमबार जितेकी हुन् । यसअघि सन् २०१० मा बंगलादेशमा भएको ११ औं सागमा स्वर्ण तथा सन् २००६ मा श्रीलंकामा भएको १० औं र सन् २०१६ मा भारतमा सम्पन्न १२ औं सागमा रजत पदक जितेकी थिइन् । अघिल्ला सफलताको तुलनामा यसपल्ट उनका लागि विशेष रह्यो, किनभने यो उनको करिअरको ‘सेकेन्ड इनिङ्स’ थियो ।

छोराहरूमा समर्पित
नेपाली खेलकुदमा महिला खेलाडीको करिअर विवाहसँगै समाप्त भएका दृष्टान्त धेरै छन् । त्यसमा पनि आमा बनेपछिको समयमा करिअरमा पुनरागमन स्वय महिलाकै लागि निकै ठूलो चुनौती बन्ने गर्छ । यस अर्थमा यो स्वर्ण उनका लागि विशेष रह्यो । स्वर्ण जितेपछि निकै नै भावुक भएकी आयशाको पहिलो प्रतिक्रिया थियो, ‘यो दुई स्वर्ण मेरा दुई छोराका लागि ।’ अर्थात्, ६ वर्षीय आदिश र २ वर्षीय आधारका लागि ।

५ फिट ४ इन्च उचाइकी आयशा ३२ वर्ष लागिन् । उमेरले उकालो चढ्दै गर्दा करिअरमा महत्त्वपूर्ण सफलता हासिल गर्दा उनी आफूलाई विश्वास गर्नेहरूप्रति अनुग्रहित थिइन् । ‘सबैभन्दा खुसीको यो क्षणमा म बोल्न सकिरहेको छैन । यो उमेरमा आएर जो–जसले म माथि विश्वास गर्नुभयो, परिवार, गुरुहरू सबैको विश्वास जिते जस्तो लागेको छ,’ उनले थपिन्, ‘यसकारण पनि यो महत्त्वपूर्ण छ कि मेरा श्रीमानले सागमा ४ स्वर्ण जितेर कीर्तिमान बनाउनुभएको छ, उहाँको नाम इतिहासमा लेखिसकेको छ । मैले पनि ३ स्वर्ण त जितेकी छु नि भन्ने लागेको छ ।’

ग्योरोगीबाट पुम्सेमा परिवर्तन गर्न सहज थिएन । तर इच्छाशक्ति र मिहिनेतले जस्तोसुकै सफलता पछ्याउन पनि कठिन हुँदैन भन्ने आयशाले बुझेकी छन् । ग्योरोगीमा तीव्र गति चाहिन्छ, पुम्सेमा धैर्य अपरिहार्य छ । ग्योरोगीजस्तो किक प्रहार गरेरमा पुम्सेमा जितिँदैन । श्रीमानको साथ र प्रशिक्षकको मार्गदर्शनलाई उनले आफ्नो सफलताको श्रेय मानेकी छन् । नेपाली महिला खेलाडीका लागि उदाहरणीय काम गरेजस्तो उनलाई लागेको छ ।

‘मेरो चाहना सबैको उदाहरणीय बन्ने थियो । आज त्यो दिन आएको जस्तो लागेको छ । जो विवाह र बच्चा भएपछि आफ्नो सबैथोक सकिएजस्तो मानेर घरमा बसिरहनुभएको छ । उहाँहरूलाई तपाईहरू आफूलाई मन लागेको काम गर्नुस्, इच्छा र चाहना भयो भने कसैलाई पनि उमेर र शारीरिक अवस्थाले छेक्दैन भन्न चाहन्छु,’ उनले थपिन् ।

११ औं सागमा स्वर्ण जितेको एक वर्षपछि आयशाले कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टसँग विवाह गरेकी हुन् । सन् २०१३ मा छोरो जन्मिएपछि केही समय तेक्वान्दोबाट विश्राम लिइन् । आमा बनेपछिको पहिलो ठूलो प्रतियोगिताका रूपमा उनले सन् २०१६ मा दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइन् । दुवै प्रतियोगिताको प्रदर्शन उनी आफैंलाई चित्त बुझेन । एसियन च्याम्पियनसिपमा पदक नआए पनि सागमा रजत जितेकी थिइन् । त्यतिबेला उनलाई आफ्नो उचाइले धोका दिएजस्तो लाग्यो । तौल बढी र उचाइ कम हुँदा विपक्षीले त्यसको फाइदा लिए । त्यतिबेलै उनले करिअर अन्त्य गर्ने सोचेकी थिइन् ।

‘त्यतिबेला मैले दुवै प्रतियोगिता हारेको थिएँ । तौल धेरै तर उचाइ कम भएकै कारणले मैले जितिरहेको खेल हार्दा धेरै नै निराशा भएकी थिएँ । त्यसैले अब चाहिँ म सक्दिनँ, अब करिअर सकिए जस्तो भएको थियो,’ उनले भनिन् ।

त्यसको तीन वर्ष आयशा तेक्वान्दोबाट टाढा भइन् । ग्योरोगीमा फर्कन सक्ने सम्भावना देखिनन् । पहिलादेखि नै मन परेको पुम्सेलाई ओलम्पिक मान्यता थिएन । एसियाली खेलकुदलगायत बृहत् प्रतियोगितामा पुम्सेलाई पनि आधिकारिकता दिएपछि आयशाले आफूलाई अर्को अवसर आएको महसुस गरिन् । त्यसको सुरुआत गत वैशाखमा प्रदेश ५ मा सम्पन्न आठौं राष्ट्रिय खेलकुदबाट भयो । त्यसको एक महिनाअघिमात्रै उनी प्रशिक्षणमा फर्केकी थिइन् । राष्ट्रिय खेलकुदमा आर्मीलाई आयशाकै उमेरसमूहमा खेल्ने खेलाडीको खाँचो थियो । आर्मीका प्रशिक्षकसमेत रहेका श्रीमान दीपकको प्रस्तावमा उनी विधा परिवर्तन गरी करिअरको ‘सेकेन्ड इनिङ्स’का लागि तयार भइन् । र, स्वर्ण जितिन् पनि ।

सागमा दुई फरक विधाबाट स्वर्ण जितेपछि उनलाई पहिलेभन्दा अहिलेको स्वर्ण स्वादिलो लागेको छ । उनको खुसीमा रमाउने थपिएका छन्, दुई छोराहरू । ‘१२ औं साग २०१६ मा मैले जुन लक्ष्य लिएर भारत गएको थिएँ, त्यो सपना अधुरै रह्यो । दुई छोरा जन्मिएपछि अहिले त्यो स्वर्णको सपना पूरा भएको छ । त्यसैले यो झनै महत्त्वपूर्ण छ,’ ३२ वर्षीया उनले थपिन् ।

आमाको त्याग’
दीपकलाई आफ्नो समयमा स्वर्ण जित्नुभन्दा आयशाको अन्तिम प्रदर्शन हेर्न कठिन भयो । ‘मैले लामो करिअर बिताएँ, सागमा ४ वटा स्वर्ण जितें, १२ औं सागमा म उसकै प्रशिक्षक पनि थिएँ,’ उनले भने, ‘तर आजजस्तो कठिन कहिल्यै भएन ।’

दीपकका अनुसार यो सफलताका लागि आयशाले एउटी आमाको रुपमा धेरै त्याग गरेकी छन् । दूधे छोरा छाडेर महिनौं वैदेशिक प्रशिक्षणमा बिताउने बाध्यात्मक परिस्थिति पार गरेकी छन् । यही सागका लागि पनि इन्डोनेसिया र मलेसियाको वैदेशिक प्रशिक्षणबाट फर्किएपछि १० दिनअघि एकपल्ट छोरालाई भेटेका थिए, यी आमाबाबुले ।

त्यो पनि एक घण्टाका लागि । ‘त्यो क्षण निकै कठिन भएको थियो,’ दीपक भावुक बने, ‘बावुको रूपमा मैले सहन सक्थें तर आमाको मनलाई कति कठोर बनाउनुपर्थ्यो भन्ने कुरा विदेशमा रहेका बेला उनलाई परेको पीडा मैले सहजै महसुस गर्न सक्छु ।’


प्रकाशित : मंसिर १७, २०७६ ०८:४८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×