कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपनिर्वाचनमा यस्तो रह्यो ५२ स्थानको जित–हार

– नेकपा (वाम गठबन्धन) ३१, कांग्रेस १३, समाजवादी ४, राजपा ३ र स्वतन्त्र १ स्थानमा विजयी
– नेकपाले प्रदेशसभाको भक्तपुर १(क) र धरान उपमहानगरको प्रमुख पद गुमायो
– साना पार्टीको प्रचार बढी, मत कम
राजेश मिश्र

काठमाडौँ — प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको दुई वर्षअघि भएको निर्वाचनकै जस्तो परिणाम उपनिर्वाचनमा पनि आएको छ । शनिबार भएको निर्वाचनमा केही स्थान हेरफेर भए पनि समग्रमा मुख्य राजनीतिक दल नेकपा र कांग्रेसको मत र परिणाम करिब उस्तै आएको छ ।

उपनिर्वाचनमा यस्तो रह्यो ५२ स्थानको जित–हार

५२ स्थानमध्ये सत्तारूढ दल नेकपा नेतृत्वको वाम गठबन्धनले ३१ स्थानमा जित हात पारेको छ । कांग्रेसले १३, समाजवादी पार्टीले ४, राष्ट्रिय जनता पार्टीले ३ र स्वतन्त्रले १ स्थानमा जितेका छन् । संसद्मा रहेका चार राष्ट्रिय पार्टी र राष्ट्रिय जनमोर्चाले मात्रै उपनिर्वाचनमा आफ्नो अस्तित्व देखाउन सकेका छन् । चुनावी चर्चामा विवेकशील, साझा, राप्रपा, नेमकिपालगायतका दल रहे पनि उनीहरूले जित निकाल्न सकेनन् । न्यून मतमै उनीहरूले चित्त बुझाउनुपरेको छ ।

प्रतिनिधिसभाको १, प्रदेशसभाको ३ र स्थानीय तहका रिक्त ४८ स्थानका लागि उपचुनाव भएको थियो । नेकपाले केही स्थानमा आफ्नो पकड गुमाएको छ भने केही स्थान थपेको छ । यसअघि नेकपाले जितेको प्रदेशसभाको भक्तपुर १(क) र धरान उपमहानगरपालिकाको प्रमुख पद उसले गुमाएको छ ।

प्रतिनिधिसभाको कास्की–२ र दाङ ३(ख) मा नेकपाका विद्या भट्टराई र विमलाकुमारी खत्री विजयी भएका छन् । उक्त दुवै क्षेत्रबाट यसअघि पनि नेकपाकै उम्मेदवारले जितेका थिए । प्रदेशसभाकै बागलुङ २(ख) बाट नेकपाले समर्थन गरेका राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाहीले जितेका छन् । यसअघि पनि उक्त क्षेत्रमा जनमोर्चाले नै जितेको थियो ।

स्थानीय तहमा यसअघि कांग्रेसले जितेको पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष पद नेकपाले जितेको छ । त्यहाँ नेकपा उम्मेदवार वीरबहादुर कुरुम्बाङ विजयी भएका छन् । संखुवासभाको मकालु र महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष पद पनि नेकपाको हातमा आएको छ । मकालुबाट तेजबहादुर पोखरेल र पिपराबाट विक्रम चौधरी विजयी भएका छन् । यसअघि मकालुमा नेकपाले जितेको थियो भने पिपरा गाउँपालिका नेकपालाई थपिएको हो । पिपरामा यसअघि राजपाले जितेको थियो । उपनिर्वाचन भएको ४३ वडामध्ये २४ वडामा नेकपाले जितेको छ ।

प्रतिपक्षी कांग्रेसका लागि प्रदेशसभाको भक्तपुर १(क) निर्वाचन क्षेत्र र धरान उपमहानगरको प्रमुख जित्नु मुख्य सफलता बन्न पुगेको छ । ती दुवै स्थान यसअघि नेकपाले जितेको थियो । तर कांग्रेसले पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष र हुम्ला खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पद गुमाएको छ ।

प्रदेशसभाको भक्तपुर १(क) बाट कृष्णलाल भडेल र धरानको प्रमुखमा तिलक राई विजयी भएका छन् । वडातर्फ ११ वडाध्यक्ष पद कांग्रेसले हात पारेको छ । समाजवादी पार्टीले प्रदेश २ का विभिन्न स्थानीय तहका चारवटा वडामा जित हासिल गरेको छ । उक्त प्रदेशमा ८ वटा वडामा चुनाव भएको थियो ।

राजपाले यसअघि जितेको महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष पद गुमाएको छ । उसले ४३ मध्ये ३ वटा वडा मात्रै जितेको छ । प्रदेश २ को दुई र प्रदेश ५ को एक गरी तीनवटा वडा राजपाले जितेको हो ।

साना पार्टी चर्चा बढी, मत अत्यन्त कम

उपनिर्वाचनमा साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, मंगोल नेसनल अर्गनाइजेसन, राप्रपा (संयुक्त), मजदुर किसान पार्टीलगायतका दल चर्चामा रहे पनि तिनले मत बटुल्न सकेनन् ।

प्रतिनिधिसभाको कास्की–२ मा साझा पार्टीले धेरै परिश्रम गरे पनि उक्त पार्टीकी उम्मेदवार रजनी केसी ९४२ मतमा सीमित हुन पुगेकी छन् । राप्रपाका रोमबहादुर भण्डारीले १,१५३, मंगोल नेसनल अर्गनाइजेसनका रियाज गुरुङले १३८ र विवेकशीलबाट स्वतन्त्र चिह्न लिएर चुनाव लडेकी जमुना शर्माले ७७ मत पाए । समाजवादी पार्टीका धर्मराज गुरुङले १,९२२ मत ल्याए ।

प्रदेशसभाको दाङ ३(ख) मा साझा पार्टीका उम्मेदवार शिवकुमार चौधरीले २६६, राप्रपाका भूपाल रावतले २२५, समाजवादी पार्टीका डिल्लीबहादुर डाँगीले १५४, राप्रपा (संयुक्त) का छोटीलाल थारूले १३८, नेकपा (माले) का हरिप्रसाद डाँगीले १०३, मंगोल नेसनल अर्गनाइजेसनका घनश्याम चौधरीले ९०, नेमकिपाका सुरेश परियारले १५ र राजमोका धनराज विश्वकर्माले ११ मत ल्याए ।

प्रदेशसभा बागलुङ २(ख) मा समाजवादी पार्टीका अशोककुमार विकले ३१६, मंगोल नेसनल अर्गनाइजेसनका मित्रबहादुर मगरले ४५, राप्रपाका गणेशबहादुर कुँवरले ३७, राप्रपा संयुक्तका निमबहादुर भण्डारीले ३६ मत ल्याए ।

प्रदेशसभा भक्तपुर १(क) मा तेस्रो स्थान ल्याएका नेमकिपा उम्मेदवार नीरज लवजूले दोस्रो भएको नेकपाबाट ५ हजारको अन्तरमा मत ल्याए । उनले ल्याएको कुल मत ५ हजार ८ सय २९ हो । त्यहाँ राप्रपाका श्यामप्रसाद नेपालले ५७४, साझा पार्टीका सुरज प्रधानले ३९३, समाजवादी पार्टीका सदुर्शनकुमार मुनकर्मीले ३२ मत ल्याए ।

मूलधारको राजनीतिमा आएको सीके राउत नेतृत्वको जनमत पार्टीको पनि कुनै प्रभाव देखिएन । तराई क्षेत्रका अघिकांश स्थानमा राउत नेतृत्वको जनमत पार्टीले उम्मेदवारी दिएको थियो । राउतकै जिल्ला सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मा ११ मत मात्र आयो । त्यस्तै महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षमा राउतको पार्टीका उम्मेदवारले ६१६ मत ल्याएका छन् ।


बागलुङमा वाम गठबन्धनका शाही

बागलुङ (कास)– गण्डकी प्रदेशसभाअन्तर्गत बागलुङ–२ (२) मा वाम गठबन्धनका खिमविक्रम शाही निर्वाचित भएका छन् । उनले ११ हजार २ सय ३५ मत ल्याए । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका जितबहादुर शेरचनले ९ हजार १ सय ३८ मत पाए । ३५ हजार १ सय ८४ मतदाता रहेको यो क्षेत्रमा उपनिर्वाचनमा २१ हजार ४ सय मत खसेको थियो ।


०७४ को चुनावमा पूर्वएमाले, पूर्वमाओवादी र राजमो मिलेर कांग्रेसलाई पराजित गरेकाले उपनिर्वाचनमा पनि पुरानै समीकरणलाई निरन्तरता दिइएको थियो । ८ दल र २ स्वतन्त्रसहित १० उम्मेदवार मैदानमा थिए । दुई दल मात्र जमानत जोगाउन सफल भए ।

शाहीले पश्चिम बागलुङमा कृषिको आधुनिकीकरण, शिक्षा र स्वास्थ्य सेवाको पहुँच बढाउन पहल गर्ने बताएका छन् । राजमोका सचिवालय सदस्य शाही विद्यार्थी र युवा संगठनमा पनि सक्रिय थिए । उनी शिक्षण पेसाबाट सेवानिवृत्त हुन् । प्रदेश सांसद टेकबहादुर घर्तीको गत मंसिरमा निधन भएपछि उपनिर्वाचन भएको हो ।


प्रदेशसभाको गत निर्वाचनमा यो क्षेत्रमा राजमोका घर्तीले ११ हजार ८ सय ८४ र शेरचनले ८ हजार ७ सय २४ मत पाएका थिए । यसपटक शेरचनले ४ सय मत बढाए । वाम गठबन्धनको ६ सय मत घट्यो । चुनावी सभामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, महासचिव विष्णु पौडेलसहित केन्द्रीय नेता आएका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि चुनावी सभा गर्न भ्याए ।


‘ढोरपाटन सिकार आरक्ष र उत्तरगंगा जलविद्युत् आयोजनाबाट लाभ लिन अगुवाइ गर्छु,’ शाहीले भने ।


जितसँगै राजनीतिक जीवन सुरु

दाङ (कास)– दाङ ३ (२) मा नेकपाकी विमलाकुमारी खत्री ५ हजार १ सय ४ मतान्तरले विजयी भएकी छन् । उनले २४ हजार २ सय ८६ र कांग्रेसका केशवराज शर्माले १९ हजार १ सय ८२ मत प्राप्त गरे ।


०७४ को निर्वाचनमा एमालेका तर्फबाट उनकै श्रीमान् उत्तरकुमार वली ६ हजार ४ सय ३५ मतान्तरले विजयी भएका थिए । उनले २३ हजार ९ सय ७० र कांग्रेसका बुद्धिराम भण्डारीले १७ हजार ५ सय ३५ मत प्राप्त गरेका थिए । वलीको सडक दुर्घटनामा निधन भएपछि उपनिर्वार्चन भएको हो । पहिलोपटक चुनावमा होमिएर श्रीमान्ले जितेको क्षेत्र जोगाउन मिलेको सफलतासँगै विमलाको राजनीतिक यात्रा सुरु भएको छ ।


०६४ को संविधानसभा निर्वाचनमा उक्त क्षेत्रसहित सबै माओवादी केन्द्रले तथा ०७० मा सबै क्षेत्र कांग्रेसले जितेका थिए । ‘जनचाहनाअनुसार काम गर्नेछु, भूमिका इमानदारीसाथ निभाउनेछु,’ विजयी भएपछि विमलाले भनिन्, ‘दाङको विकासमा सधैं सक्रिय हुनेछु ।’ रुकुमकोटमा जन्मिएकी उनको विवाहको १० वर्षपछि श्रीमान्को निधन भएको हो । नौ र सात वर्षका दुई छोरा छन् ।


निर्वाचनमा साझा पार्टीका शिवकुमार चौधरीले २६६, राष्ट्रिय प्रजातन्त्र पार्टीका भूपाल रावतले २२५, समाजवादी पार्टीका डिल्लीबहादुर डाँगीले १५४, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका छोटीलाल थारूले १३८ र नेकपा मालेका हरिप्रसाद डाँगीले १०३ मत प्राप्त गरेका छन् । यस क्षेत्रअन्तर्गत तुलसीपुर उपमनपा–१, २, १० र ११ का साथै दंगीशरण, शान्तिनगर र बबई गाउँपालिका थिए ।


धरान नगर प्रमुखमा कांग्रेसका तिलक

सुनसरी (कास)– निकटतम प्रत्यासीलाई २ हजार ६ सय ९५ मतान्तरले पछि पार्दै धरान उपमहानगर प्रमुखमा कांग्रेसका तिलक राई निर्वाचित भएका छन् । उनले २६ हजार ७ सय ९ र नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मत प्राप्त गरे ।


०७४ को स्थानीय तह चुनावमा एमाले एक्लैले कांग्रेसलाई ४ हजार ८ सय ७३ मतान्तरले हराएको थियो । त्यसबेला एमालेका तारा सुब्बाले २० हजार ९ सय ७५ मत ल्याएका थिए भने कांग्रेसका तिलकले १६ हजार १ सय २ मत ल्याएका थिए । धरानको कुल ९२ हजार ८ सय ५३ मतदाता रहेकामा ५४ हजार ८ सय ४८ मत खसेको थियो ।


यसपटक तिलकले परिवर्तनका पक्षमा भन्दै मत मागेका थिए । पञ्चायतकालमा समेत जनपक्षीय उम्मेदवारले जितेको धरानमा ०४८ यताका सबै चुनावमा एमालेले जित्दै आएको थियो । कांग्रेसका धरान नगर सचिव श्याम पोखरेलले तिलकको जित नेपालको इतिहासमै स्वर्ण अवसर भएको बताए ।


४५ वर्षीय तिलक किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष, तरुण दलका नगर अध्यक्ष र यातायात व्यवसायी हुन् । ‘कांग्रेसले धरानमा इतिहास बदल्दै जिते पनि अब मेरा लागि कोही पनि कांग्रेस, नेकपा वा प्रतिपक्ष भन्ने हुँदैनन्, यो जित धरानवासीको भएकाले मैले धरानको विकास–निर्माणमा ध्यान दिनुपर्छ,’ विजयी भएपछि उनले भने । उपमहानगरमा कांग्रेस अल्पमतमा छ । स्थानीय तहको निर्वाचनमा २० वटा वडामध्ये कांग्रेसले ५ वटामा मात्र जितेको थियो । ‘मेरो प्राथमिकता कर घटाउने वा समायोजन गर्ने नै हो,’ उनले भने, ‘त्यसपछि धरानमा यसअघिका जनप्रतिनिधिले सुरु गरेका योजनालाई निरन्तरता दिनेछु । खानेपानी योजना, बसपार्क, हवाई मैदान, सुर्दु सेउती करिडोर निर्माणमा लाग्नेछु ।’


वडा ७ मा एक मतले जितहार

वडा ७ मा नेकपाका जीवनराज सुवेदीले ६ सय २२ मत ल्याएर विजयी भए । कांग्रेसका सुवर्णमोहन पलिखेले ६ सय २१ मत ल्याए । माइकिङ गरेर नेकपाको उम्मेदवार विजयी भएको घोषणा गरिए पनि त्यसलाई कांग्रेसका समर्थकले स्वीकार नगर्दा करिब दुई घण्टा तनाव भएको थियो ।

प्रकाशित : मंसिर १६, २०७६ २१:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?