कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यसकारण भयो नेकपा अध्यक्ष दाहालको चीन भ्रमण स्थगित 

बबिता शर्मा

काठमाडौँ — सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालको चीन भ्रमण तत्कालका लागि स्थगित भएको छ । अध्यक्ष दाहाल नेतृत्वको ६० सदस्यीय टोली मंसिर २४ गते चीन भ्रमण जाने कार्यक्रम तय भएको थियो । शुक्रबार नेपाल–चीन मिडिया फोरमले काठमाडौंमा गरेको कार्यक्रममा दाहालले आफू चिनियाँँ कम्युनिष्ट पार्टीको निम्तोमा छिट्टै चीन जान लागेको जानकारी दिएका थिए । 

यसकारण भयो नेकपा अध्यक्ष दाहालको चीन भ्रमण स्थगित 

उक्त कार्यक्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका बेला भएका सहमति कार्यान्वयनका लागि आफ्नो चीन भ्रमण सहयोगी बन्ने दाहालले बताएका थिए ।


दाहालको भ्रमणका क्रममा नेकपाका अन्य नेता–कार्यकर्ताले चिनियाँ कम्युनिस्ट पार्टी सञ्चालन, सरकार सञ्चालन, प्रशिक्षण लगायत विषयमा चिनियाँ नेताको अनुभव लिने कार्यक्रम थियो ।


तर, एक साता अगाडि अचानक दाहालको भ्रमण स्थगित भएको छ । अध्यक्ष दाहाल र नेपालका लागि कार्यवाहक चिनियाँ राजदूतबीच सोमबार भएको छलफलपछि भ्रमण स्थगित भएको उनी निकट एक नेताले बताए ।


राजदूतसँगको भेटमा दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिति र पार्टी सञ्चालनको जिम्मेवारीलाई मध्यनजर गर्दै तत्काल चीन भ्रमण उपयुक्त नभएको भन्दै पछाडि सार्न आग्रह गरेका थिए ।


मंसिर २४ लाई तय भएको दाहालको भ्रमण स्थगित नगर्न चिनियाँ पक्षबाट दबाब आएपनि तत्काल भ्रमण गर्न हतार हुने निर्णयमा दाहाल पुगेपछि भ्रमण स्थगित भएको हो ।


पार्टीका अन्य शीर्ष नेताहरुले पनि प्रधानमन्त्रीको स्वास्थ्य स्थितिलाई हेरेर भ्रमण स्थगित गर्न दाहाललाई सुझाव दिएका थिए ।


दाहालको चीन भ्रमण तत्काललाई स्थगित भएको पुष्टी नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले गरे । उनका अनुसार तत्काल रोकिएको दाहालको भ्रमणको अर्को मिति भने तय भएको छैन ।


असोज पहिलो साता नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच उच्चस्तरीय भ्रमण आदानप्रदानसहितको ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको थियो । उक्त समझदारीपत्रमा दुई पार्टीका कार्यकर्ता तहको अध्ययन भ्रमण वृद्धि गर्ने, पार्टीका अनुभवमा आधारित सहयोग आदानप्रदान गर्ने लगाएत उल्लेख छ ।

प्रकाशित : मंसिर १६, २०७६ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?