कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एकतापछि समाजवादीले ‘सत्ता छाड्ने’

कुलचन्द्र न्यौपाने

काठमाडौँ — समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) पार्टी एकीकरण गर्न अनौपचारिक संवादमा जुटेका छन् । पार्टी एकीकरणमा सहमति भएकै दिन सरकार छाड्नेमा समाजवादीले आश्वस्त तुल्याएपछि राजपासित अनौपचारिक संवाद अघि बढेको हो ।

एकतापछि समाजवादीले ‘सत्ता छाड्ने’

राजपाले यसअघि पार्टी एकीकरणका लागि समाजवादीले सरकार छाड्नुपर्ने ‘सर्त’ अघि सारेको थियो । आफूले सरकार छाड्दा राजपा सरकारमा जान सक्ने भन्दै समाजवादीले तत्काल सत्ता नछाड्ने निर्णय गरेको थियो ।


सरकारको सवाललाई लिएर एकीकरण प्रयास टुट्न नदिन दुवै पार्टीका केही नेता पछिल्ला दिन सक्रिय भएका छन् । राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले पार्टी एकताका लागि एकीकरणका सबै सवाल टुंग्याएपछि समाजवादीले सरकार छाडे पनि हुने भन्दै नरम प्रतिक्रिया दिए । ‘सबै विषयमा सहमति जुटेपछि त्यही दिन सरकार छाडे पनि फरक पर्दैन,’ उनले कान्तिपुरसँग भने, ‘पहिलो कुरा एकीकरणका सबै विषयमा मुख मिलाउनुपर्‍यो ।’ उनले एकीकरणका विषयमा दुवै पार्टीका नेताबीच अनौपचारिक संवाद भइरहेको र केही दिनमा आफूले औपचारिक वार्ताका लागि बैठक राख्ने तयारी गरेको जानकारी दिए ।


सरकारको कार्यशैलीप्रति असन्तुष्ट भए पनि समाजवादी पार्टीको केही दिनअघि सम्पन्न पदाधिकारी बैठकले तत्काल सत्ता नछाड्ने निष्कर्ष निकालेको थियो । संविधान संशोधनको विषयमा सरकारसँग भएको सहमति कार्यान्वयन हुने या नहुने टुंगोमा नपुगेसम्म सरकार छाड्न नहुने अडानमा पार्टी अध्यक्ष उपेन्द्र यादव रहँदै आएका छन् । त्यसका लागि सरकार र सत्तारूढ नेकपासँग छलफल गर्न कार्यकारिणी अध्यक्ष यादव, संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ सम्मिलित समितिसमेत बनाइएको छ ।


सरकारबाट हट्ने कि नहट्ने भन्ने विषयमा समाजवादी पार्टीभित्र तीव्र मतान्तरसमेत देखिएको छ । संघीय परिषद्का अध्यक्ष भट्टराई र उनी पक्षीय नेताहरू मन्त्रिपरिषद् पुनर्गठन र प्रदेश प्रमुख हटाउने सरकारको निर्णय एकलौटी गरिएकाले सत्ताबाट बाहिरिन अध्यक्ष यादवलाई दबाब दिँदै आएका छन् । यादवले आफूहरू बाहिरिए राजपा सरकारमा जाने भन्दै आनाकानी गरिरहेका छन् ।


राजपा अध्यक्ष मण्डलका संयोजक महतोले भने यस्तो तर्क वाहियात भएको बताए । ‘हामी सरकारमा जानका लागि समाजवादीको बहिर्गमन आवश्यक छैन, सरकारमा जाने भए डेढ वर्षअघि नै जाने थियौं,’ महतोले थपे, ‘सरकारबाट सांसद रेशम चौधरीविरुद्ध मुद्दा फिर्ता भएको छैन । आन्दोलनका क्रममा पार्टीका कार्यकर्ताविरुद्ध लगाइएको झूटा मुद्दा फिर्ता भएका छैनन् । संविधान संशोधनको विषय अघि बढेको छैन । यस्तो अवस्थामा हामी सरकारमा जाने कुरा कल्पनामा पनि छैन ।’

प्रकाशित : मंसिर १५, २०७६ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?