कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खुलामन्च खाली गर्न अभियन्ताहरुको महानगरपालिकालाई अल्टिमेटम

दामोदर न्यौपाने

काठमाडौँ — ‘अकुपाइ टुँडिखेल’का अभियन्ताले खुलामन्च लगायत टुँडिखेलका मिचिएका संरचना खाली गर्न काठमाडौं महानगरपालिकालाई अल्टिमेटम दिएका छन् । ंंंतीन महिनाभित्रमा टुँडिखेल अतिक्रमण तत्काल हटाएर पूर्ववर्ती अवस्थामा फर्काउन माग गर्दै सोमबार महानगर प्रशासन विभाग प्रमुख नमराज ढकाललाई ज्ञापन बुझाएका छन् ।

खुलामन्च खाली गर्न अभियन्ताहरुको महानगरपालिकालाई अल्टिमेटम

महानगर प्रमुख विद्यासुन्दर शाक्यलाई ज्ञापनपत्र बुझाउन गएका अभियन्ताले मेयर कार्यलयमा नआएपछि कार्यकारी अधिकृत केदार न्यौपानलेलाई ज्ञापन बुझाउने कार्यक्रम तय गरेका थिए । उनीहरु दुवैलाई नभेटेपछि प्रशासन विभाग प्रमुख नमराज ढकाललाई पत्र बुझाएका हुन् ।


कुनैबेला एशियाकै ठूलो भनेर चिनिएको टुँडिखेल खण्डित भएर अहिले बसपार्क, अनधिकृत पसल संचालन, अनाधिकृत पार्किङ, अनाधिकृत भवन, अनाधिकृत तारबार, भवन बनाउने सामान र कामदार बस्ने ठाउँ र कतै ढलानै गरेर मास्ने काम गरेकाले भविष्यका सन्ततीले यो महत्वपूर्ण ठाउँ गुमाउनुपर्ने अवस्था आएकाले यसलाई जोगाउने दायित्व महानगरकै भएको ज्ञापनमा सम्झाइएको छ ।


‘प्राकृतिक रुपमा काठमाडौंको फोक्सो अर्थात स्वस्थ्य हावाको स्रोत, भूमिगत जलभण्डारनको स्रोत, महांकाल, दुईमाजु, गुरुमापा जस्ता कैंयौं अमूर्त सांस्कृतिक सम्पदा भएको स्थल, ऐतिहासिक राजनीतिक परिवर्तनको साक्षीको रुपमा रहेको टुँडिखेलको महत्वबारे यहाँलाई अवगतै छ,’ ज्ञापनमा छ, ‘हाम्रो पिता पुर्खाले अनन्तकालदेखि संरक्षण गर्दै आएको यो ठाउँ निरंकुस पञ्चायती शासनको बेलादेखि खण्डहर हुँदै आयो । निरंकुश शासन भएकाले त्यतिबेला आवाज उठाउन सकिएन । अहिले स्थानीय चुनाव भइ हामीले अमुल्य मतदान दिइ जनप्रतिनिधी छानेका छौं । जनप्रतिनिधीले यो ठाउँलाई गणतन्त्रको प्रतिबिम्ब ठान्लान् भन्ने लागेको थियो । तर यस्तो भएन ।’


ज्ञापन बुझ्दै प्रशासन विभाग प्रमुख ढकालले अकुपाइ टुँडिखेलले तोकेको समयसीमा अघि नै यहाँका केही संरचना हटाइने आश्वासन दिए । ‘खुलामन्चमा कहि दरबार हाइस्कुलका ठेकेदार बसेका छन् । केही ठाउँमा श्रमिक बसेका छन्,’ ढकालले भने, ‘त्यो सधैंलाई दिइएको होइन । केही समयमै हट्छ । तपाईंहरुले दिएको समयसीमाभन्दा अगाडि नै हट्न पनि सक्छ ।’


टुँडिखेल लगायत मिचिएका खुला ठाउँलाई खुलै राख्न दबाब दिने उद्देश्यले जनस्तरबाट तीन साता अघिबाट अकुपाइ टुँडिखेल अभियान संचालन गरिरहेका छन् । अभियानले पहिलो शनिवार पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइ लगायतको सहभागीतामा टुँडिखेल घेराउ, दोस्रो शनिबार टुँडिखेलमा रहेको ऐतिहासिक चौतारो भएको खरिको रुख रोपेर चौतारो ब्युँताउने अभियान र तेस्रो शनिबार साहित्यिक जमघट आयोजना गरेको थियो ।


अभियानले हरेक शनिबार टुँडिखेलमा केही न केही कार्यक्रम गरेर खुला ठाउँको महत्व दर्शाउने कार्य गरिरहेको छ ।


प्रकाशित : मंसिर ९, २०७६ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?