कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खुमलटारले ‘मिस’ गरेका ती पात्र 

बबिता शर्मा

काठमाडौँ — नेकपाको कार्यकारी अध्यक्ष भएपछि पुष्पकमल दाहालको खुमलटारस्थित निवासमा चहलपहल ह्वात्तै बढेको छ । कार्यकारी अध्यक्ष हुनुअगाडिसम्म पूर्व माओवादी समूहका धेरै नेता-कार्यकर्ता पुग्ने दाहाल निवासमा अहिले पूर्व एमालेका नेता तथा कार्यकर्ताको पनि आवतजावत बाक्लिन थालेको छ । 

खुमलटारले ‘मिस’ गरेका ती पात्र 

आफ्नो निवासमा भेटघाटका लागि धेरै नेता आए पनि दाहालले एउटा पात्रको अभाव महसुस गरिरहेका छन् । ती पात्र हुन्- पूर्वसभामुख कृष्णबहादुर महरा । जो, दाहालका विश्वासिला र भरपर्दा 'दोस्त' थिए ।


हुन त नेकपाको कार्यकारी अध्यक्षको अधिकार पाएका दाहाल अगाडिपछाडि नेताहरुको ठूलै लाइन छ । तर, उनीसँग अहिले महराजस्तो भरपर्दो, पत्यारिलो पात्र छैनन् । दाहाल सचिवालयकाअनुसार नेता महराको ठाँउ अहिलेसम्म कसैले लिएको छैनन् ।


दाहाल निकट एक केन्द्रीय सदस्य भन्छन्, ‘सत्ता र शक्ति प्राप्तिका लागि नजिक हुने नेताहरुको सूचि त लामै छ । तर, महराजस्ता विश्वास भएका नेता अहिले नै यिनै हुन् भन्ने अवस्था छैन । दाहालले बेलाबेला महरासरको अभाव महसुस गर्नु भएको छ । अहिले राजनीतिक लाभहानी हेरेर नजिक र टाढा हुने नेताहरु मात्रै छन् ।’


सशस्त्र द्वन्द्वदेखि शान्ति प्रक्रियासम्म र सत्तासंघर्षदेखि अन्तर पार्टी संघर्षसम्ममा आएका हरेक चुनौतिको हल खोज्न दाहालले महरासँग परामर्श गर्थे । र, त्यसैअनुसारको जिम्मेवारी दिएर दाहालले महरामार्फत आफ्नो राजनीतिक गोटी चाल्थे ।


नेकपाका एक स्थायी कमिटी सदस्यअनुसार दाहाललाई राजनीतिक र वैचारिक रुपमा आवश्यक परामर्श दिनसक्ने धेरै नेता भए पनि प्राविधिक विषयमा समेत छलफल गर्न सक्ने महरा एकमात्र नेता थिए । उनका अनुसार विगतमा दाहालको विचार निर्माणमा मोहन वैद्य र डा बाबुराम भट्टराई नजिक थिए । तर, जोखिम मोलेर दाहालका लागि काम गर्ने महरा नै थिए ।


ती स्थायी कमिटी भन्छन्, 'महराजत्तिकै जोखिम मोलेर काम गरिदिने मान्छे पाउन अब दाहाललाई गाह्रो होला । पक्कै पनि त्यसको अभाव त भएकै हुनुपर्छ ।’ पटकपटक लाभको पद र विभिन्न विवादले घेरिँदा पनि महरा दाहालका सबैभन्दा नजिकका विश्वासिला पात्र थिए ।


दाहाल पत्नी सीताले पनि महरालाई राम्रो र नजिकको नेता ठान्थिन् । सीताकैसमेत चासोमा दाहालले महरालाई धेरैपटक मौका दिएको नेकपामा रहेका पूर्व माओवादी समूहका नेताहरु बताउँछन् । विश्वासपात्र भएकै कारण दाहालले महरलाई पटकपटक लाभको पद दिलाएका थिए । पछिल्लो पटक धेरै आंकाक्षीलाई किनारा लगाउँदै दाहालकै पहलमा महरालाई सभामुख बनाइएका थिए ।


जबरजस्ती करणीको आरोपले महराले सभामुख र सांसद पद गुमाएसँगै भविष्यको राजनीतिक बाटो पनि करिब-करिब आफैं बन्द गरे । यसको चोट बढी नेकपाका अध्यक्ष दाहाललाई परेको छ । हरेक राजनीतिक निर्णयमा परामर्श गर्ने नेता महरा अहिले कारागारमा छन् ।


गल्ती महराले गरे, उनको राजनीतिक भविष्य संकटमा पर्‍यो, तर यसको सबैभन्दा ठूलो झट्का दाहाललाई लाग्यो । महरा प्रकरणमा दाहालले दिएको पहिलो प्रतिक्रियाले यसकै संकेत गरेको थियो ।


संसद सचिवालयमा कार्यरत एक महिलालाई जबरजस्ती करणीको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख महराबारे नेकपा अध्यक्ष दाहालको पहिलो सार्वजनिक प्रतिक्रिया थियो, ‘उहाँले नैतिक गल्ती गर्नुभयो । यस्तो घटनामा राजनीतिक संरक्षण उचित हुँदैन । स्वतन्त्ररुपमा छानविन र निर्णय गर्न दिनुपर्छ ।’


कार्तिक २० मा महराकै निर्वाचन क्षेत्र दाङमा पुगेर दाहालले यसो भनिरहँदा उनी गम्भीर देखिन्थे । घटनाको विषयमा महराले झुट बोलेकोमा दाहाल आक्रोशित त थिए नै, सँगै आफ्नो विश्वासिलो पात्रको राजनीतिक ‘अवसान’ले उत्तिकै चिन्तित थिए । सार्वजनिक रुपमै महराको बचाउमा नउत्रिएर दाहालले परिपक्व राजनीतिज्ञको भूमिका पनि पूरा गरे ।


‘कहिलो दिल्ली त कहिले बेइजिङ, कहिले सिंगापुर त कहिले मलेसिया पुगेर महराले दाहालका लागि अन्तर्राष्ट्रिय सम्बन्ध सुधारको काम गर्थे । अहिले यस्तो पात्र नहुँदा दाहाललाई अन्तर्राष्ट्रिय शक्ति सन्तुलन मिलाउन पनि समस्या परेको देखिन्छ,’ तत्कालीन माओवादीको अन्तर्राष्ट्रिय विभागमा बसेर काम गरेका नेकपाका एक केन्द्रीय सदस्यको टिप्पणी छ, ‘तत्काल दाहालले त्यस्तो व्यक्ति पाउनुहुन्न होला ।’


जिल्ला अदालत काठमाडौंले गत कार्तिक १८ गते निवर्तमान सभामुख महरालाई बलात्कार प्रयासको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । आदेशसँगै महरा डिल्लीबजार कारागारमा छन् । निवेदनमा जिल्ला अदालत काठमाडौंले पुर्पक्ष थुनामा राख्ने भनी गरेको आदेश बदर हुनुपर्ने माग छ ।


तर, आफूलाई कानून विपरीत पुर्पक्ष थुनामा राखिएको दाबी गर्दै महराले बिहीबार उच्च अदालत पाटनमा निवेदन दिएका थिए । त्यसपछि उच्च अदालत पाटनले महरालाई बलात्कार प्रयासको आरोपमा पुर्पक्ष थुनामा राख्नुको आधार र कारण खुलाएर ‘कैफियत प्रतिवेदन’ पेश गर्न आदेश दिएको छ ।


नेकपामा पूर्व माओवादी समूहका जर्नादन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, चक्रपाणी खनाल, मातृका यादव, पम्फा भुसाल, अग्नी सापकोटा, हरिबोल गजुरेल, हितराज पाण्डे, लेखराज भट्टलगायतका नेताहरुले आफूलाई दाहालको नजिकको ठान्छन् । आवश्यकताअनुसार दाहालले ती नेतासँग बेलाबेला परामर्श लिँदै आएका छन् ।


यी मध्ये धेरैको भूमिका विवादित र शंकास्पद रहेको यसअघि दाहाल सचिवालयमा रहेर काम गरेका एक सदस्यको बुझाइ छ । उनीहरुले महत्वपूर्ण विषयमा समेत गोपनीयता कायम नगर्ने भएकाले दाहालले उनीसँगै पुरै आत्मविश्वासका साथ कुरा गर्न नसक्ने ती सदस्यले बताए ।


पार्टी एकतापछि नजिक मानिएका केही नेताहरुले प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी ओलीसँग निकटता बढाएको दाहालको गुनासो छ । यसअघि दाहालले आफ्नो विश्वास पात्र नेता पोष्टबहादुर बोगटीलाई गुमाएका थिए । बोगटीको २०७१ भदौ ३० मा हृदयघातसँगै मस्तिष्कघात भई निधन भएको थियो ।

प्रकाशित : मंसिर ९, २०७६ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?