कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिफारिस समिति अनिर्णीत

काठमाडौँ — संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी सिफारिस गर्न आइतबार बसेको सिफारिस समितिको बैठक बिनानिर्णय टुंगिएको छ ।

यसअघि सार्वजनिक गरिएका नाममाथि परेको उजुरीका सम्बन्धमा छलफल गर्नुपर्ने भएकाले निर्णय हुन नसकेको समितिकी प्रवक्ता शर्मिला कार्कीले जानकारी दिइन् । ‘पीडितका तर्फबाट एउटा उजुरी परेको रहेछ,’ उनले भनिन्, ‘त्यसबारे अध्ययन गरेपछि मात्रै निर्णय गर्नु उपयुक्त हुने देखिएकाले आजको बैठकमा सिफारिस हुन सकेन ।’ लामो समयदेखि रिक्त सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा नियुक्तिका लागि समितिले गत साता ६१ उम्मेदवारको नामावली सार्वजनिक गरेको थियो ।


समितिले तिनै नामावलीमध्येबाट पाँच–पाँच पदाधिकारी सिफारिस गर्नुपर्नेछ । समितिमा राष्ट्रिय मानवअधिकार आयोगका सचिव वेदप्रसाद भट्टराईले सूचीबाट आफ्नो नाम झिकिपाऊँ भनी निवेदन दिएका छन् भने पीडितहरूको संगठन द्वन्द्वपीडित साझा चौतारीले सूचीमा प्रकाशित नामावलीका सम्बन्धमा एउटा उजुरी हालेको छ । ‘उजुरीको अध्ययन र आवश्यक परे छानबिनसमेत गरेपछि हामी अर्को बैठक बस्छौं र नाम सिफारिस गर्छौं,’ समितिका अर्का सदस्य प्रेमबहादुर खड्काले भने ।




प्रकाशित : मंसिर ९, २०७६ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?