मन्त्रीको सूची शितल निवास पुग्यो, बिहीबार सपथ 

बबिता शर्मा

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनका लागि मन्त्रीहरुको सूची राष्ट्रपतिको कार्यालय शितल निवास पठाएका छन् । बुधबार दिउँसो बसेको नेकपा सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनको जिम्मा दिए लगत्तै प्रधानमन्त्रीले नयाँ मन्त्रीहरुको नाम शितल निवास पठाएका हुन् ।

नयाँ मन्त्रीको सपथ बिहीबार बिहान ११ बजे देखि १ बजेको बीचमा गराउने तयारी भएको एक मन्त्रीले बताए ।

बालुवाटार स्रोतका अनुसार नयाँ मन्त्रीको सूचीमा घनश्याम भुषाल, बसन्त नेम्वाङ, हृदयश त्रिपाटी, पार्वत गुरुङ, लेखराज भट्ट, रामेश्वरराय यादव,मोति दुगड लगाएत छन् । मन्त्रिपरिषद् पुनर्गठनमा केही मन्त्रीको विभागीय जिम्मेवारी परिवर्तन हुने भएको छ ।

प्रकाशित : मंसिर ४, २०७६ २१:५०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

बबई किनारमा बच्चा हुर्काउँदै घडियाल

गोविन्द पोखरेल

काठमाडौँ — घडियाल गोही प्राकृतिक बासस्थानमा बच्चा हुर्काउँदै गरेको फेला परेपछि संरक्षणकर्मीले अचम्म मानेका छन् । संकटापन्नको सूचीमा परेको उक्त सरिसृप बर्दियाको बबई नदी किनारको धनुषेमा करीब सयवटा बच्चा हुर्काउँदै गरेको अवस्थामा फेला परेको हो ।

जुलोजिकल सोसाइटी अफ लन्डनको ‘एज न्याटजिओ फोटो आर्क फेलो’ आशिष बस्याल र उनका सुपरभाइजर रिक्की गम्बसले घडियालले प्राकृतिक अवस्थामा बच्चा हुर्काउँदै गरेको फेला पारेका हुन्। बस्याल र गम्बस तीन वर्षदेखि बबई नदी क्षेत्रमा घडियाल सम्बन्धि अनुसन्धान गर्दै आइरहेका छन्।

‘हामीले यस अघिबबई एरियामा बच्चा घडियाल देखेका थिएनौं,’ बस्यालले कान्तिपुरसँग भने, ‘बबई किनारमा यो ३७ वर्षपछिको सुखद संयोग हो।’ यसअघि सन् १९८२ मा प्राकृतिक बासस्थानमा यस्तो भेटिएको उनले बताए। ‘घडियालहरु बबई नदी क्षेत्रमा त छन्, तर लामो समयदेखि त्यसमा बच्चा प्राकृतिक अवस्थामा भेटिएका थिएनन्,’ उनले भने, ‘धेरै वर्षपछि प्राकृतिक अवस्थामा भेटिएका घडियालका बच्चाहरूको फोटो खिच्न पाइयो।’

बबई नदीमा भेटिएका घडियालका बच्चा । तस्बिर सौजन्य: आशिष बस्याल ।

बबई नदीमा घडियालका बच्चा नदेखिएपनि वयस्क भालेपोथीहरू पाइन्छन्। विगत २/३ वर्षदेखि निकुञ्ज कर्मचारी र गाइडहरूले जंगल यात्राका दौरान घडियालका बच्चा देखिने गरेको सुनाएपनि तस्बिरमा नभेटिँदा पुष्टि गर्ने वैज्ञानिक आधार थिएन। घडियालका ती बच्चाहरु बस्याल र गम्बसले गत जुन महिनामा देखेका हुन्। मार्चको अन्तिमदेखि अप्रिलको पहिलो सातासम्म घडियालले अण्डा पार्छन्। मध्य जुनबाट जुलाईको पहिलो हप्तासम्म बच्चा कोरल्छन्। उनीहरुले फेला पारेको उक्त तथ्य प्रमाण आईयूसीएनको क्रोकोडाइल्स स्पेसालिस्ट ग्रुपमा प्रकाशित भएपछि जुलोजिकल सोसाइटी अफ लन्डन (जेडएसएल) ले यसै साता विज्ञप्ति जारी गर्दै यसको पुष्टि गरेको छ। जेडएसएलले यसलाई ३७ वर्षपछिको सुखद संयोग भनेको छ।

सफा पानीमा बस्ने घडियालको मृत्युदर निकै उच्च छ। गोही विज्ञ समेत रहेका बस्याल भन्छन् ‘अण्डाबाट निस्कने हरेक सयवटा बच्चामा तीनवटा हुर्कियो भने पनि राम्रो मानिन्छ।’ संसारभर पाइएका गोहीका २४ प्रजातिमध्ये घडियाल पनि पर्छ। अध्ययनहरूका अनुसार अण्डाबाट घडियाल दुईदेखि अढाइ महिनामा बाहिर निस्कन्छन्। एउटा पोथीले ६ देखि ५० वटासम्म अण्डा पार्छे। अण्डाबाट बच्चा सबै जीवित निस्कन उक्त स्थानको तापक्रममा भर पर्छ। सरदर ५० अण्डामा २० देखि ३० वटा बच्चा जीवित निस्कन्छन्। आफ्ना बच्चा सबैलाई संरक्षण गर्न पोथी असमर्थ हुन्छे। बच्चा घडियाल प्रदुषणका कारण पनि मर्छन्।

नेपालमा घडियाल राप्ती, कर्णाली, बबई र नारायणी नदीमा पाइन्छन्। विश्वमा घडियालको संख्या एकदमै थोरै छ। माछालाई आहारा बनाउने गोहीको यो प्रजाति नेपाल र भारतमा मात्र पाइन्छ। घडियाल संरक्षणका लागि नेपाल सरकारले सन् १९७८ मा चितवनमा पहिलोपटक प्रजनन् केन्द्रको स्थापना गरेको थियो। बढ्दो प्रदूषण, आहाराको अभाव, बाढी, बासस्थानको विनाश लगायत कारणले यसको संख्या घट्दै गएको अध्ययनहरुले देखाएको छ।

सन् २०१६ को गणना अनुसारमा नेपालमा १ सय ९८ वटा घडियाल थिए। चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार सन् २०१८ मा चितवनमा गरिएको गणनामा २ सय १९वटा घडियाल पाइएका छन्। संरक्षणकर्मीले गरेको गणनाअनुसार बबई नदी किनारमा मात्रै करिब १८ वटा वयस्क घडियाल भेटिए। कर्णाली नदीमा क्षेत्रमा घडियालको संख्या घट्दै गएको छ। सन् २०१३ पछि कोसी नदी क्षेत्रबाट यो सरिसृप देखिएको छैन।

घडियाल प्रजनन् केन्द्र कसरामा लामो समयदेखि कार्यरत अधिकृत खड्काका अनुसार प्राकृतिक अवस्थामा यो जीवलाई जोगाउन निकै गाह्रो छ। ‘प्राकृतिक वास्थानमा यसले प्रजन्न गरेको नपाएपछि नै कृत्रिम प्रजनन् केन्द्र स्थापना भएको हो,’ उनले भने, ‘जन्मेकामध्ये हुर्कने संख्या निकै न्युन हुन्छ।’ प्रजनन् केन्द्रबाट घडियालका बच्चा विभिन्न समय नदि किनारका प्राकृतिक बासस्थलमा लगेर छाड्ने गरिएपनि हुर्केर बढेको सफलताका कथा भेट्नै गाह्रो रहेको उनले बताए।

कृत्रिम प्रजनन् केन्द्र पनि सफल हुन नसकेको अध्ययनले देखाएपछि सरकारले घडियाल संरक्षणका लागि पाँच वर्षे कार्ययोजना २०१८–२०२२ ल्याएको छ। घडियालको जन्मजात पोथीको तुलनामा भालेको संख्या कम हुने भएकाले पनि संरक्षणमा चुनौती देखिएको विज्ञहरुको भनाइ छ।

प्रकाशित : मंसिर ४, २०७६ २१:४३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×