कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तिलिचो उक्लिँदै पर्यटक

सडकको सुविधाले यात्रा सहज
आश गुरुङ

लमजुङ — केही वर्षअघिसम्म तिलिचो (४,९१९ मि) सम्म जान निक्कै सकसको सामाना गर्नुपर्थ्यो । मनाङमा सडक पुगेको थिएन । लमजुङको बेंसीसहरबाट १० दिनमा हिँडेर तिलिचो पुगिन्थ्यो ।

तिलिचो उक्लिँदै पर्यटक

करीब ६ वर्षअघि चामेसम्म जीप चल्यो । ४ बर्षअघि माथिल्लो मनाङसम्मै पुग्यो । खाङसारसम्म जीप चल्न थालेको ३ बर्ष भयो । सडकको सहज पहुचले अहिले तिलिचोसम्म पुग्ने पर्यटक बढेका छन् ।


पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङका अनुसार माथिल्लो मनाङ र खाङसारसम्मै मोटरबाटो बनेपछि तिलिचो उक्लने आन्तरिक पर्यटकको संख्या ह्वात्तै बढेको छ । ‘कोही जिप रिजर्भ गरेर आउँछन् । कोही बाइकमै आउँछन्,’ उनले भने, ‘पहिले बाह्य पर्यटक जाने तिलिचोमा पछिल्लो समय नेपाली पर्यटक बढी मात्रामा देखिन्छन् ।’


पर्यटन व्यवसायीका अनुसार मनाङका प्रायः होटल पर्यटकले भरिभराउ छन् । ‘यो पर्यटकीय सिजन हो । विदेशी पर्यटक आगमनको संख्या उल्लेख्य छ । नेपालीको संख्या पनि उत्तिकै छ,’ विनोदले भने । उनका अनुसार नेपाली पर्यटक धेरै मात्रामा तिलिचो जान रुचाउँछन् । ५ देखि १० प्रतिशत मात्रै थोराङला (५,४१६ मि.) भञ्ज्याङ उक्लेर मुस्ताङ हुँदै जाने गरेका छन् ।


यो बेला मौसम सफा हुने भएकाले धेरैजना तिलिचो जाने सपना बुन्छन् । मर्स्याङ्दी गाउँपालिका–३ खुदीका ऋषिराम बस्नेतले तिलिचोमा खुलेको मौसमले निकै प्रभावित र आनन्दित तुल्याएको बताए । ‘म दुबईमा छँदै तिलिचो जाने मन थियो । मौसम खुलेपछि तिलिचो पुगें,’ उनले भने । खुदीबाट चामे–खाङसार, बेसक्याम्प हुँदै तिलिचो पुगेको उनको पाँच जनाको टोली घर फर्किंदा ५ दिन लाग्यो । ‘पहिले एकतर्फी १० दिन लाग्ने तिलिचो अहिले ५ दिनमै गएर फर्किन भ्याइने रहेछ,’ उनले भने ।


बेंसीसहर नगरपालिका–२ चिसापानीका हिरासिंह गुरुङका अनुसार तिलिचो जाँदा साथी र औषधी अत्यावश्यक छ । ‘लेक लागेर बिरामी भइहाले समस्या हुन सक्छ । लेक चढ्नुअघि पूर्वतयारी गर्नुपर्छ,’ उनले भने । बेसक्याम्पमा २ होटल छन् । कोही टेन्ट टाँगेर पनि बस्छन् । पर्यटक धेरै भएका बेला डाइनिङमा समेत बस्न बाध्य भएको होटल व्यवसायी बताउँछन् ।


मोटरबाटो पुगेसँगै निजी सवारी लिएर पर्यटक खाङसार पुग्ने गरेका छन् । खाङसारबाट भने पैदल हिँड्नुपर्छ । मनाङ ङिस्याङ–९ का वडाध्यक्ष रिन्जेनदोर्जे गुरुङले विदेशीभन्दा स्वदेशी पर्यटक बढी आउने गरेको बताए । दैनिक २ सय बढी पर्यटक आएको अनुमान उनले गरे ।

गाउँपालिका अध्यक्ष कान्छा घलेका अनुसार विदेशी पर्यटक पहिले पनि हिँडेरै मनाङ आउँथे । ‘विदेशी त हिँडेर पनि आउँथे । सडक बनेपछि स्वदेशी पर्यटक बढी आउने गरेका छन्,’ उनले भने ।


एक्याप भ्राका चेकपोस्टका पर्यटन सहायक क्षेत्र गुरुङका अनुसार चक्रीय अन्नपूर्ण पदमार्गमा दैनिक २ सय ५० भन्दा बढी विदेशी पर्यटक आउने गरेका छन् । नेपालीको भने रेकर्ड राखिएको छैन । स्थानीयका अनुसार तिलिचो संसारमै चलेको नाम र उच्च स्थानमा भएर पनि पर्यटक आउन रुचि राख्छन् । एक्याप संरक्षण अधिकृत बाबुलाल तिरुवाका अनुसार चारैतिर देखिने गरी तिलिचो, नीलगिरि, खाङ्सार, मुक्तिनाथलगायत हिमाल छन् ।

प्रकाशित : मंसिर ४, २०७६ १९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?