कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश सांसद र महानगर सभापतिबीच कुटाकुट

भूषण यादव

वीरगन्ज — प्रदेश २ का सांसद ओमप्रकाश शर्मा र नेपाली कांग्रेसका वीरगन्ज महानगर सभापति भोला कलवारबीच बुधबार बिहान वीरगन्जको आदर्शनगरमा कुटाकुट भएको छ । दुवै सामान्य घाइते भएका छन् । वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष शर्मा कांग्रेसबाट मनोनित प्रदेश सांसद हुन् । बिहान पौने ८ बजेको समयमा आदर्शनगरस्थित बब्लु टी स्टलमा चिया खाने क्रममा गालीगालौजपछि उत्पन्न भएको विवाद धकेलाधकेल पछि कुटपिटमा परिणत भएको थियो । 

प्रदेश सांसद र महानगर सभापतिबीच कुटाकुट

त्यहाँ उपस्थित स्थानीयले दुवैलाई छुट्ट्याएर शर्मालाई अर्को चिया पसलमा लगेका थिए । ‘त्यही क्रममा कलवारले ६/७ जना युवालाई फोन गरेर बोलाइसकेका थिए,’ चिया पसलमा उपस्थित एक प्रत्यक्षदर्शी भन्छन्, कलावरका युवा आएपछि अर्को चिया पसलमा बसिरहेका शर्मालाई गएर कुटपिट गरेका थिए । शर्माले हिर्काउँदा कलवारको निधारमा घाउ भएको छ ।


सुरुमा दुवै उपचारका लागि नारायणी अस्पताल पुगेका थिए । उपचार पछि शर्मा घर फर्किए भने उच्च रक्तचापका रोगी कलवार थप उपचारको नाममा काठमाडौँ गएका छन् । अपराह्न सार्वजनिक स्थलमा कुटपिट भएको भन्दै सांसद शर्मा जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय पर्सा पुगेका थिए । ‘प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जाहेरी मुद्दा फाँटमा बुझाएर घाउ जाँच फाराम भर्न भनेका छन्,’ सांसद शर्माले भने, ‘अवैध तरिकाले लिजमा लिएको नगरसभा गृहको विरोध गर्दा त्यसलाई पर्सनल इस्यु बनाएर ज्यान मार्न खोजियो ।’


नगरसभा गृह २२ वर्षका लागि सस्तो दरमा लिजमा लिएर कलवारले होटल सञ्चालन गरेकोमा शर्माले विरोध गर्दै आएका थिए । कांग्रेस महानगर सभापति कलवारले व्यापारीको सामान समाएर पछि आफै बार्गेनिङ्ग गर्ने शर्माको प्रवृत्तिको विरोध गर्दा वादविवाद भएको प्रतिक्रिया दिएका छन् । ‘बिहान सुरुमा ओमप्रकाशले नै गाली गरेका हुन्,’ काठमाडौँबाट फोनमा कलवारले भने, ‘आज कसको दिन खराब थियो, उसको की मेरो थाहा भएन्, गालीगलौज पछि कुटपिट भयो ।’ शर्माका अनुसार कलवारले यसअघि पनि विभिन्न ठाउँमा गालीगलौज गर्दै आएका थिए । ‘बुधबार बिहान चिया पसलमा सामुन्ने गालीगलौज गरेपछि किन गरेको साधे,’ सांसद शर्माले भने, ‘त्यसपछि धक्लाधुक्ली भयो, अनि केटा बोलाएर कुटाए ।’ वादविवाद हुँदा एसपी राठौरलाई जानकारी गराएपनि आधा घन्टापछि प्रहरी आइपुगेको उनको गुनासो छ ।


अधिवेशनदेखि भयो मनमुटाव

प्रदेश सभामा मनोनित शर्मा पहिलो संविधानसभाको कांग्रेसबाट मनोनित सभासद समेत हुन् । शर्मा र कलवार जिल्लामा कांग्रेसको एउटै गुट अन्तर्गतका मानिन्छन् । तीन वर्ष अगाडि सम्पन्न भएको १२ औँ जिल्ला अधिवेशनसम्म दुवैजना जिल्ला सभापति अजय द्वेवेदी निकट थिए ।


अधिवेशनको क्रममा द्विवेदी समूहले आफू निकटका मतदाता र समर्थकलाई जोगाउन वीरगन्जको रानीघाटस्थित हरिओम पार्टी प्यालेसमा ३ दिनसम्म खाने र बस्ने व्यवस्था मिलाएको थियो । खाना व्यवस्थापनको जिम्मेवारी भोला कलवारले लिएका थिए भने त्यस्को भुक्तानीको जिम्मा ओमप्रकाश शर्माको थियो । अधिवेशनमा द्विवेदी समूहको विजय भयो । पार्टी स्रोतकाअनुसार अधिवेशन पछि कलवारले करिब १५ लाख रुपैयाँको बिल शर्मालाई पेश गरेका थिए । ‘तीनदिन खानाको यति धेरै बील कसरी हुन्छ भनि शर्माले प्रश्न गरेका थिए,’ पार्टी स्रोत भन्छ, ‘दुईपटक गरि शर्माले करिब ९ लाख रुपैयाँ मात्र दिए ।’


त्यसबेला देखि सुरु भएको मनमुटाव स्थानीय तहको निर्वाचनमा झन बढ्यो । ‘पार्टी सभापति द्विवेदीले शर्मालाई कुनै पदमा चुनाव लडाउने आश्वासन दिएका थिए,’ नाम उल्लेख नगर्ने शर्तमा एक पार्टी नेता भन्छन्, ‘त्यसपछि शर्माले देउवा खेमाकै जिल्लामा रहेको अर्को गुट समाए ।’ यहीबीच महानगरपालिका मातहात रहेको नगरसभा गृह कलवारले सार्वजनिक नीजि साझेदारी अन्तर्गत २२ वर्षका लागि लिजमा लिएका थिए । सस्तो मूल्यमा लामो समयका लागि स्थानीय प्रतिनिधी नहुँदा महानगरका कर्मचारीले नगरसभा गृह लिजमा दिएको भन्दै शर्माले विरोध गर्दै आएका थिए ।

करिव डेढ वर्ष अगाडि कांग्रेस नेता रामचन्द्र पौडेलको वीरगन्जमा भएको एक कार्यक्रममा समेत कलवार र शर्माबीच गालीगलौज र धक्लाधुक्ली भएको थियो । ‘कुनै कार्यक्रम होस वा सार्वजनिक स्थल कलावरले जहाँ शर्मालाई देख्थे त्यही गाली गरिहाल्थे,’ कांग्रेसका एक महासमिति सदस्य भन्छन्, ‘जिल्लाका नेताहरुलाई दुबैको विवाद थाहा नभएको हैन्, समयमै नमिलाएर बुधबार सार्वजनिकस्थल मै छताछुल्ल भएको हो ।’

मंगलबार बिहान पनि कलवारले शर्माका साथीहरुलाई सुनाएर घडीअर्वा पोखरी बाहिर गाली गरेका थिए ।

प्रकाशित : मंसिर ४, २०७६ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?