कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपा सचिवालय बैठकको निर्णय : ओली पाँच वर्ष नै प्रधानमन्त्री, दाहाल कार्यकारी अध्यक्ष

बबिता शर्मा

काठमाडौँ — नेकपाको सचिवालय बैठकले पार्टी र सरकारको भूमिकालाई प्रभावकारी बनाउन अध्यक्षद्वयको कार्यविभाजन टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालन गर्ने र अर्का अध्यक्ष पुष्पकमल दाहालले कार्यकारी भूमिकासहित पार्टी सञ्चालन गर्ने निर्णय गरेको हो ।

नेकपा सचिवालय बैठकको निर्णय : ओली पाँच वर्ष नै प्रधानमन्त्री, दाहाल कार्यकारी अध्यक्ष

नेकपाका एक नेताकाअनुसार पार्टी एकताअघि भएको सहमति बुधबारको जिम्मेवारी बाँडफाँडसँगै समाप्त भएको छ । यसअघि दुई अध्यक्षले सरकारको आधाआधा कार्यकाल नेतृत्व गर्ने सहमति थियो ।

ती नेताले भने, 'आज दुई अध्यक्षको कार्यविभाजन भयो । केपी ओली बाँकी रहेको अवधिभर सरकारको नर्तृत्व गर्ने र दाहालले पनि बाँकी रहेको अवधिभर पार्टी कार्यकारी अध्यक्षको जिम्मेवारी पाउनुभएको छ । पहिला आलोपालो भन्ने थियो । आजदेखि सकियो ।'

बैठकले पार्टी अध्यक्षद्वयको मर्यादाक्रम भने पुरानै कायम गरेको छ । पार्टी बैठकको अध्यक्षता दुवै अध्यक्षले संयुक्तरुपमा गर्ने निर्णय भएको छ तर बैठकको सञ्चालन भने अध्यक्ष दाहालले गर्नेछन् । अध्यक्षद्वयबीचको आपसी सल्लाहमा पार्टी र सरकार सञ्चालन गर्ने निर्णयसमेत भएको छ । बैठकमा मन्त्रिमण्डल फेरबदलको विषयमा छलफल नभएको जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले छिट्टै मन्त्रिमण्डल पुनःगठन गर्ने बताए ।

बैठकमा कार्य विभाजनको प्रस्ताव प्रधानमन्त्री स्वयंले राखेका थिए । उनको प्रस्ताव उपस्थित सबै सचिवालय सदस्यले सहमति जनाएका थिए । बैठकमा अध्यक्षद्वय ओली, दाहाल, नेताहरु माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल, रामबहादुर थापा सहभागी थिए । सचिवालय सदस्यहरु झलनाथ खनाल र ईश्वर पोखरेल उपस्थित भएका थिएनन् । दुवै नेता विदेश भ्रमणमा छन् ।

प्रकाशित : मंसिर ४, २०७६ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?