कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टिमुरेमा निर्माण हुने सुख्खा बन्दरगाहको शिलान्यास

बलराम घिमिरे

रसुवा — टिमुरेमा निर्माण हुन लागेको सुख्खा बन्दरगाहको बुधबार शिलान्यास गरिएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव पार्वती अर्याल र इन्टरनेशनल इकोनमिक एक्सचेन्ज सर्भिस सेन्टरका अफ तिब्बत कर्मस डिर्पामेन्ट अफ चाइनाका निर्देशक बियन चेनले संयुक्त रुपमा सुख्खा बन्दरगाहको शिलान्यस गरेका हुन् । 

टिमुरेमा निर्माण हुने सुख्खा बन्दरगाहको शिलान्यास

बन्दरगाह निर्माण गर्नको लागि करिब ६ महिना अघि नै निर्माण कम्पनीसँग सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । गत बैशाख २९ गते इन्टरमोडल यातायात विकास समिति र चिनियाँ निर्माण कम्पनीबीच सुख्खा बन्दरगाह निर्माण गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।


बुधबार शिलान्यास भएपछि औपचारिक रुपमा बन्दरगाह निर्माणको काम सुरु भएको इन्टरमोडल यातायात विकास समितिका सिभिल इन्जिनियर प्रमोद आचार्यले बताए । सुख्खा बन्दरगाह निर्माण गर्न चीन सरकारका तर्फबाट तिब्बत फूली कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेड छनोट भएको छ ।


सुख्खा बन्दरगाह रसुवागढी नाकाबाट साढे दुई किलोमिटर वर टिमुरेमा निर्माण हुने छ । बन्दरगाह निर्माणमा चीन सरकारको आर्थिक र प्राविधिक सहयोग हुने छ । नेपाल र चीनबीच भएको सम्झौता अनुसार चीनियाँ पक्षले सुख्खा बन्दरगाह निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने छ ।


सुख्खा बन्दरगाह निर्माणको लागत करिब १२ करोड ४० लाख चिनियाँ युआन रहेको छ । निर्माण कार्य सुरु गरेको ३० महिनामा सम्पन्न गर्ने चीनियाँ निर्माण कम्पनीले बताएको छ । टिमुरेमा बन्ने सुख्खा बन्दरगाह आधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको हुने छ ।


चीन सरकारले सन् २०१४ मा बन्दरगाह बनाउन प्रारम्भिक सहमति जनाएको थियो । द आर्किटेक्चरल रिकोनाइसेन्स एण्ड डिजाइन इन्स्टिच्युट अफ टिबेट अटोनोमस रिजन कम्पनीले टिमुरेमा निर्माण हुने सुख्खा बन्दरगाहको लागत अनुमानसहितको फाइनल डिजाइन तयार पारेको हो । लगत अनुमानसहितको फाइनल डिजाइन तयार गर्नको लागि चीनको छेन्दुमा नेपाल सरकार र चीन सरकारबीच सन् २०१८ जनवरी १५ मा डिजाइन पत्र स्वीकृत गरी हस्ताक्षर भएको थियो ।


चीन सरकारको अनुदान सहयोगमा निर्माण हुन लागेको यो सुख्खा बन्दरगाह उत्तरी नाकामा दोश्रो हो । नेपाल र चीनबीच हुने दुई पक्षीय तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरण गर्नका लागि रसुवाको टिमुरेमा सुख्खा बन्दरगाह निर्माण हुन लागेको हो ।


बन्दरगाह ८.५ हेक्टर क्षेत्रफलमा निर्माण हुने छ । संरचना निर्माणका लागि लाङटाङ राष्ट्रिय निकुञ्जबाट ५ र सर्वसाधाणको ३.५ हेक्टर जमिन अधिग्रहण गर्ने काम भइसकेको छ । केहि घर टहराको मुअब्जा पाउन बांकी रहेको स्थानियले बताएका छन् ।


मुअब्जा पाउन बाँकी रहेकाहरुको हकमा पनि प्रक्रिया अगाडि बढिसककेको इन्टरमोडल यातायात विकास समितिले बताएको छ । उक्त बन्दरगाहमा ५ हजार स्क्वायर वर्गमिटरको सुविधा सम्पन्न ५ तले जाँचपास भवन निर्माण हुने छ । भवनमा भन्सारको लागि अफिस र क्वाटरसहितको दुवै सुविधा हुने छ । त्यसमा प्रशासनिक कार्यकक्ष, क्वारेनटाइन, बैंक, ल्याब, सुरक्षालगायतका कार्यालयहरू रहने छन् । बन्दरगाहमा ३ सय ५० भन्दा बढी ट्रक तथा कन्टेनरहरू राख्न सकिने पार्किङ स्थल निर्माण हुने आचार्यले बताए ।


‘दुइवटा जाँचपास कक्ष, कार्गो गोदाम, लिटिगेशन गोदामसहितको आधुनिक सुविधा सम्पन्न सुख्खा बन्दरगाह निर्माण हुने छ,’ उनले भने । रसुवागढी नाका हुँदै चीनबाट आयात हुने वस्तु यसै बन्दरगाह मार्फत नेपाल भित्रिने छ । चीनले पनि आफ्नो भूभाग रसुवागढी नाकाबाट करिब ३० किलोमिटर टाढा केरुङमाथि पाङसिङमा आधुनिक बन्दरगाह निर्माण गरिरहेको छ ।


चीनको सिगात्सेदेखि केरुङसम्मको दूरी करिब ४ सय ५० किमि टाढा रहेको छ । चीनले सन् २०२२ सम्म केरुङलाई रेल सञ्जालबाट जोड्ने लक्ष्य राखेको छ । पछिल्लो समय चीनसँग स्थल मार्गबाट यहि नाका हुंदै व्यापार भइरहेको छ । चीनसंगको प्रमुख व्यापारीक नाका भएकाले यसको व्यावसायिक महत्व बढ्दै गएको छ ।

रेलबाट ल्याएको सामानलाई सीधै ट्रकमा लोड गरी सुख्खा बन्दरगाहमा ल्याएर आवश्यक प्रक्रिया पूरा गर्न सजिलो हुने हुने छ । रसुवागढी नाकाबाट स्याफ्रु, मैलुङ, त्रिशूली, गल्छी हुँदै दक्षिण एसिया जोड्ने सबैभन्दा छोटो रुटको सडक निर्माण गर्ने काम भइरहेको छ ।


प्रकाशित : मंसिर ४, २०७६ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?