कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमादब्लममा टाँगिएको कुवेतको झन्डा झिकाइयो

सुरज कुँवर

काठमाडौँ — अमादब्बल हिमालको चुचुरोमा टाँगिएको कुवेतको १ सय मिटर लामो झन्डा पर्यटन विभागले झिकाएको छ । खुम्बु क्षेत्रमा पर्ने ६ हजार ८ सय मिटर उचाइको उक्त चुचुरोमा शरदकालीन यामको आरोहणका लागि पुगेका कुवेती सैनिक आरोही युसुफ खयाल अल अलभातीले कात्तिक २७ मा उक्त झन्डा टाँगेका थिए । हिमाल आरोहण र पर्यटकसम्बन्धी विभिन्न क्षेत्रबाट चुचुरो ढाक्ने गरी झन्डा राखेको विरोध भएपछि सम्बद्ध सबैलाई कारबाही हुने भन्दै विभागले सक्रियता देखाएको हो । 

विभागकी निर्देशक मीरा आचार्यका अनुसार १ मिटर लम्बाइ र ३ सय मिटर चौडाइ भएको उक्त झन्डा टुक्राटुक्रा जोडेर बनाइएको पोलिस्टरयुक्त हलुका कपडाले बनाइएको छ । ‘केही भाग आज (मंगलबार) एजेन्सीले विभागलाई बुझायो,’ उनले भनिन्, ‘झन्डाको बाँकी भाग भोलि बुधबार बिहान लुक्लाबाट आइपुग्दै छ ।’ झन्डाका सबै टुक्रा भृकुटीमण्डपस्थित विभागमा बुझाइएपछि पुन: नाप लिइने छ । यस प्रकरणमा आरोहणको व्यवस्थापन गर्ने सेभेन समिट ट्रेक्स, सम्पर्क अधिकृत कल्पना शाह र भिडियो रेकर्ड गर्ने कैलाश हेलिकप्टर कम्पनीलाई स्पष्टीकरण सोधिएको छ ।


कुवेती सैनिक आरोही अलभातीले झन्डा टाँग्न अनुमति विभागबाट नलिएको देखिएको छ । ‘विभागलाई पनि जानकारी गराएको रहेनछ,’ उक्त आरोहण दलको व्यवस्थापक कम्पनी काठमाडौंस्थित सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले भने, ‘हामीलाई पनि भनिएन । विभागले खटाएको सरकारी प्रतिनिधि सम्पर्क अधिकृतले यसबारे निगरानी राख्नुपर्ने हो, तर आरोहणका दिन त्यहाँ कोही थिएन ।’


उक्त आरोहण दलमा विभागले प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयकी लेखापाल कल्पना शाहलाई खटाएको थियो । सम्पर्क अधिकृत शाहले आफू बिरामी भएकाले आरोहणका दिनसम्म अमादब्बल हिमालको आधार शिविरसम्म बस्न नसकेर फर्केको बताइन् । ‘मलाई सन्चो भएन । ४/५ घण्टा आधार शिविरमा बसेर एकै दिनमा हेलिकप्टरबाट लुक्ला फर्किएँ,’ उनले भनिन् । सेभेन समिटका अनुसार उक्त आरोहण दलमा १२ जना थिए । जसमा एक बेलायती आरोही टिम लिडर थिए भने निर्मल पुर्जा गाइड थिए । कुवेती आरोहीले पुर्जासहित नेपाली शेर्पाहरूको सहयोग लिई टुक्राटुक्रा झन्डा जोडेर चुचुरोमा टाँगेको अध्यक्ष शेर्पाले बताए ।


अमादब्लममा झन्डा कुवेतको टाँगिएको दृश्य कैलाश हेलिकप्टरबाट पर्वतीय उडानमा गएका पर्यटकले रेकर्ड गरेको भिडियोबाट सार्वजनिक भएको थियो । उक्त भिडियो सार्वजनिक भएपछि नागरिक उड्डयन प्राधिकरणले कैलाश कम्पनीलाई पनि स्पष्टीकरण सोधेको छ । ‘भिडियो रेकर्ड भएको उडानबारे हामी लुक्लामा रहेको स्टेसनलाई जानकारी मागिरहेका छौं,’ कैलाश हेलिकप्टरका अपरेसन प्रमुख श्रीहरि कुइँकेलले भने, ‘उक्त उडानमा को थियो, कसले भिडियो रेकर्ड गरेको हो भन्ने जानकारी मागेका छौं ।’


झन्डा टाँग्ने कुवेती आरोहीले आफूलाई नेपालको कानुनबारे जानकारी नभएको मौखिक स्पष्टीकरण दिएका छन् । एजेन्सीका अनुसार उनी र गाइड निर्मल पुर्जा सोमबार विदेश फर्किसकेका छन् ।


प्रकाशित : मंसिर ४, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?